मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

औषधिमा गरिने लगानी योगमा गरौं, नसर्ने रोगबाट बँचौँ

मङ्गलबार, ०७ असार २०७९, १४ : १२
मङ्गलबार, ०७ असार २०७९

योगको सामान्य अर्थ भनेको जोड हो । आफ्नो शरीरभित्र रहेको आत्मा परमात्मासँग जोडिनुलाई योग भनिन्छ । हिन्दू धर्म पूर्वीय सभ्यताको संस्कृतिअन्तर्गत योगलाई स्वस्थ तथा निरोगी रहने साधनाको रुपमा लिइन्छ । बाहिरी विषयमा जाने मनलाई रोक्न लोभ, ईश्र्या मोहबाट रोकेर आफ्नो आत्मा र मनलाई केन्द्रीत गर्नुलाई पनि योगको सामान्य अर्थको रुपमा लिइन्छ । तर वर्तमान समयमा योग भन्नाले एक्सरसाइज अर्थात् शारीरिक आसनहरुको अभ्यास भन्ने मात्र बुझाइ छ ।  

योग र आर्युेवेद  आजभन्दा चार हजार वर्ष पहिला प्रत्येक व्यक्तिलाई स्वस्थ रहनका लागि के गर्नुपर्छ र के गर्न हुँदैन भन्ने कुरा अर्थात् जीवन शैलीको एक विद्या हो । यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी योगको ८ वटा चरण छन् । तर यसको अर्थ समाधिमा जानलाई मात्रै योग गर्ने भन्ने होइन । आधुनिक समयमा आवश्यकता अनुसार कुन चरण अनुकरण गर्दा हामीलाई फाइदा हुन्छ, त्यही गर्नुपर्छ । जस्तै योगको पहिलो चरण यम हो । यम भनेको सत्य बोल्नु हो । अहिंसा भनेको हिंसा नगर्नु हो । अपरिपरण भनेको धेरै धनसम्पत्ति नजोड्नु, आवश्यकता लागि मात्रै  जोड्नु हो । यी चरणहरुलाई अपनाएमा मानिसस्वस्थ रहन्छ । 

त्यस्तै तेस्रो चरण अन्तर्गतको आसन भनेको शरीर स्वस्थ रह्यो भने मात्रै धर्म कर्म र समाजको सेवा गर्न सकिन्छ भनेर आसनको परिकल्पना गरिएको हो । आसनका विभिन्न प्रकार छन् । एक्सरसाइज र योगमा थोरै भिन्नता के छ भने योगमा सासको नियम पनि सँगसँगै पालना गर्नुपर्छ  । त्यसकारण योगलाई एक्सरसाइजको रुपमा मात्र नबुझेर, चिकित्सा पद्धतिमा मात्रै नबुझेर सम्पूर्ण  जीवन जिउने पद्धति हो भन्ने बुझ्नुपर्छ । 

मनलाई आफूभित्र केन्द्रीत गर्न सकियो भने शारीरिक, मानसिक र अध्यात्मिक रुपमा हामी स्वस्थ रहन सक्छौँ । सत्य बोल्नु पनि योगको एक पाटो हो । सत्य बोल्न सानैदेखि सिकाउनुपर्छ । हिंसा, लोभ, लालच, ईश्र्या गर्नु हुँदैन भन्ने कुरा पनि योगको एउटा पक्ष हो ।  योग सबै उमेर समूहका लागि आवश्यक पर्ने भएकाले आवश्यकताको आधारमा अनुकरण गर्न सकिन्छ । पछिल्लो दिनहरुमा आसन, प्रणायम र ध्यानलाई बढी प्राथमिकता दिइएको पाइन्छ । आसनलाई दुई पाटो बनाएर हेर्न सकिन्छ । एउटा स्वास्थ रहनका लागि गर्नुपर्ने योग र अर्को रोग लागेको खण्डमा कुन आसन गर्दा उपयुक्त हुन्छ, त्यही आधारमा उपचारका लागि गर्नुपर्ने विभिन्न किसिमका थेरापी । 

उपचारात्मक योग गर्दा योगका विज्ञहरुसँग परामर्श गरेर गर्नुपर्छ । आफू खुशी गर्दा योगाभ्यासका विभिन्न आसनले फाइदाको सट्टा नोक्सान पनि गर्न सक्छ । शारीरिक, मानसिक रुपमा स्वस्थ रहन व्यक्ति सजग हुनैपर्छ ।  योग र आयुर्वेद उपचार भन्दा पनि स्वस्थ रहनका लागि जीवनशैली के हो भनेर बुझाउनका लागि एकै समयमा विकास भएका सिद्धान्त हुन् । योग र आयुर्वेद एकअर्कामा परिपूरक छन् । खानपान, रहनसहन जत्तिकै योगको पनि महत्व छ । योग भन्ने कुरा योग दिवसको दिनमा मनाउने, अघिपछि नमनाउने भन्ने होइन । रोग उपचारात्मक होइन, योग भनेको नियमित  रुपमा अभ्यास गर्नुपर्छ । योग हामीले केको लागि गरिरहेका छौँ, थाहा पाउनुपर्छ । जसरी हामी समयमा खाना खान्छौँ, त्यसै गरी योग गर्ने पनि समय हुन्छ । सूर्योदय र सूर्यास्तको समयमा योगाभ्यास  प्राणायाम, ध्यान गरियो भने अत्यन्त प्रभावकारी हुन्छ । 

समाजमा विस्तारै परिवर्तन हुँदै गएको छ । त्यसै गरी योगाभ्यासमा पनि परिर्वतन हुँदै गएको छ । योगाभ्यास साधुसन्त, जोगी सन्यासीले गर्छन् भन्ने सोचाइमा विस्तारै परिर्वतन हुँदै गएको छ । स्वस्थ रहन नियमित रुपमा योगाभ्यास गर्नैपर्छ । तर यदि कुनै व्यक्ति मुटु तथा मिर्गौला रोगी हुनुहुन्छ, कुनै अप्रेसन गरिएको छ भने केही आसनका अभ्यास गर्नु हुँदैन । 

आसन र प्रणायम बाल्यकालदेखि गर्न थाल्यो भने शरीरको लचिलोपन दीर्घकालसम्म रहन्छ । ५० वसन्त पार गर्दा पनि उकालोमा सिढी चढ्दा श्वास फुल्ने अवस्था नआउन सक्छ । मैले योग गरेपछि भोलि यो रोग हुँदैन भन्ने होइन, योगाभ्यास निरन्तर गर्यो भने वृद्धावस्थाका लागि स्वास्थ्यमा लगानी हो भन्ने बुझेर अहिल्यैदेखि गर्नुपर्छ । 

योगका सबै चरणलाई अनुसरण गर्न यम र नियम हुन्छ, जसले स्वस्थ रहनका लागि व्यक्तिको व्यक्तिगत बानीमा सकारात्मक परिर्वतन ल्याउँछ । जस्तै हिंसा गर्न हुँदैन । मारकाट गर्नु मात्रै हिंसा होइन, अरुलाई पीडा हुने वचन बोल्नु पनि हिंसा हो । त्यसैले, परिवार, साथी, समाजमा अरुलाई दुःख वा चित्त दुखाउने गरी बोल्ने बानीमा परिवर्तन गर्नुपर्छ । तपाईंको मीठो वचन बोलीले अरुहरुले हेर्ने दृष्टिकोणमा सकारात्मक परिर्वतन भयो भने राम्रो हो । 

अहिले योग नेपालमा मात्रै नभएर विश्वमा नै आकर्षणको केन्द्र बनेको छ । अन्तरराष्ट्रिय रुपमा यूएनले नै  मान्यता दिएर विश्वभर दिवसको रुपमा मनाइन थालिएको छ । जीम, जुम्वा जाने चलन बढेको छ । नेपालमा पनि पछिल्लो समय नियमित रुपमा योग गरियो भने शारीरिक, मानसिक रुपमा स्वस्थ रहन्छु भन्ने सोचको विकास भइसकेको छ । विभिन्न संघ संगठनहरुले योग, ध्यानलाई प्राथमिकता दिएर अभियान अगाडि बढाएका छन् । फिजियोथेराफी पनि योगबाटै परिर्वतन गरी विकास विस्तार गरिएको हो । 

गएको तीन दशकको तथ्याङ्क हेर्ने हो भने नेपालमा पहिले सरुवा रोगबाट मानिसको मृत्यु हुने दर बढी थियो भने वर्तमान समयमा नसर्ने रोगबाट मृत्यु हुने दर बढिरहेको छ । १० जनामध्ये ७ जनाको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य संस्थाले यो मृत्युदरलाई रोक्न स्वस्थ जीवनशैलीको विकल्प छैन भनेका छन् । जसका लागि शारीरिक क्रियाशीलता बढाउनुपर्छ भनेका छन् । आर्युेवेद तथा वैकल्पिक चिकित्सा विभागले के भन्छ भने योगको आसन र प्रणायम गरेपनि भयो नि, किन जिम र एक्सरसाइज गर्नु पर्यो ? घरमै बसेर बिना लगानी योग गरी स्वस्थकर जीवन शैली अपनाएर नसर्ने रोगलाई न्यूनीकरण गर्न सकिन्छ । 

नेपालमा पाँच घरमध्ये एक घरका सदस्यले मधुमेहलगायतका नसर्ने रोगहरुको औषधि सेवन गरिरहेका छन् । विगतमा  ५५/६० वर्षको उमेरमा देखिने रोग हिजो आज ३०÷३५ वर्षमा नै देखिन थालेको छ । साँच्चिकै नसर्ने रोगलाई रोक्ने हो भने व्यक्तिले खानपान र योगमा लगानी गर्नैपर्छ । यसमा सरकारले पनि टेवा दिनुपर्छ । पछिल्लो समयमा आएर मानसिक रोग भएका व्यक्ति पनि प्रत्येक घरमा छन्, यसलाई निराकरण र न्यूनीकरण गर्न योगका आठ वटा चरणमध्ये  कुन आवश्यक पर्छ, त्यसलाई अपनाएर अघि बढ्न सकिन्छ । अस्पताल बनाउनमा लगाउने लगानी, निःशुल्क औषधोपचारमा लगाउने लगानीलाई कम गर्न योगमा लगानी गर्नुपर्छ । यस्तै बिरामी भइसकेपछि खर्च रकम घटाउन योगमा लगानी आवश्यक छ ।    

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. उपाध्यायसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप