बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिकलसेलका गर्भवती महिलामा मृत्युको जोखिम उच्च

मङ्गलबार, ०७ असार २०७९, २१ : १३
मङ्गलबार, ०७ असार २०७९

सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यु हुने जोखिम उच्च देखिएको छ । सिकलसेल एनिमिया भएका गर्भवतीमा गरिएको अध्ययनले उनीहरुको ज्यान जाने जोखिम उच्च रहेको देखाएको हो ।

भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल एनिमिया विज्ञ डा राजन पाण्डेले अन्य गर्भवतीको भन्दा सिकलसेल एनिमिया भएका गर्भवतीको मृत्युदर २२ भन्दा बढी रहेको जानकारी दिए । उनले प्रायजसो पश्चिम नेपालका थारु समुदायमा देखिएको सिकलसेलले थारु समुदायलाई आक्रान्त पारेको बताए । 

उनले देशभरका चार हजार थारुलाई सिकलसेल एनिमियाको समस्या देखिएको जानकारी दिँदै उपचार तथा परामर्शका लागि भेरी अस्पताल आउने थारु समुदायको सङ्ख्या धेरै भएको बताए । भेरी अस्पतालमा मात्र ८९४ बिरामी नियमितरूपमा जाँच तथा परामर्शका लागि आउने गरेको बताइएको छ । बाँकेको कोहलपुर नगरपालिका, राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या धेरै भएको उनले उल्लेख गरे । राप्ती सोनारी गाउँपालिका–४ मा ३७३ को सिकलसेल परीक्षण गर्दा १७ प्रतिशत अर्थात् ६३ मा सिकलसेल पुष्टि भएको उनले बताए । 

उनले सिकलसेल रोगको निदान गर्न सचेतना, परामर्श तथा बच्चा जन्मिने वित्तिकै परीक्षण गर्नुपर्ने औँल्याए । “नवजात शिशुलाई दादुरा खोपसँगै सिकलसेल एनिमिया रोगको पनि परीक्षण अनिवार्य गरिनुपर्छ”, डा पाण्डेले भने । उनले थारु समुदायका सर्वसाधारणमा सिकलसेल समस्या बढी देखिए पनि अन्य जातजातिका बिरामीमा पनि यो रोग देखिएको बताए । “विशेषगरी थारु समुदायमा यो रोगको समस्या छ, तर अन्य जातजातिका बिरामी पनि फाटफुट फेला परेका छन्”, उनले भने । पछिल्लो समय थारु समुदायमा थाल्सेमियाको समस्या पनि देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप