शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थलापति विजय : बाल्यकालमा आमाले कमाउँदा मात्रै खान पाइन्थ्यो अहिले एउटा फिल्मको लिन्छन् सय करोड

बुधबार, ०८ असार २०७९, १४ : ५०
बुधबार, ०८ असार २०७९

साउथ सुपरस्टार थालापथी विजय आज ४८ वर्ष पुगेका छन् । विजय साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार हुन् । उनले बिस्ट, मास्टर जस्ता धेरै सुपरहिट फिल्म गरेका छन् । उनी हाल उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामध्ये एक, विजयले आफ्नो पहिलो फिल्मको पारिश्रमिक ५०० पाएका थिए । विजयले १० वर्षको उमेरमा फिल्म वेत्रीबाट आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले १८ वर्षको उमेरमा चलचित्र ‘नालय थिरपु’ बाट मुख्य कलाकारको रुपमा काम गर्न थाले । विजयले अहिलेसम्म ६५ फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेका छन् । विजयको नाम धेरै पटक फोर्ब्सको सूचीमा पनि परेको छ । त्यसैले साउथ सिनेमाका यी सुपरस्टारको जन्मदिनको अवसरमा उनीबारे केही थप जानकारी हासिल गरौँ ।

गरिबीमा बित्यो बाल्यकाल

जोसेफ विजय चन्द्रशेखरको जन्म २२ जुन १९७४ मा मद्रासमा भएको थियो । उनका बुबा एस. ए चन्द्रशेखर तमिल फिल्म निर्देशक थिए भने उनकी आमा शोभा चन्द्रशेखर पार्श्व गायिका थिइन् । तर उनका बुबा फिल्म निर्देशक भए पनि, विजयले बाल्यकालमा निकै गरिबिको सामना गर्नुपर्यो । उनी सानो हुँदा आमा शोभाले पार्श्व गायनबाट दिनको सय रुपैयाँ कमाउँथिन् । यसबाटै उनको परिवारको गुजारा चल्थ्यो । आमाले काम नपाएका दिन विजयको परिवार भोकै सुत्नुपरेको अवस्था पनि थियो ।

विजयको संसार त्यतिबेला फेरियो जब २ वर्षको उमेरमा उनकी बहिनी विद्याको मृत्यु भयो । विजयकी आमाको अनुसार विजय बाल्यकालमा निकै सक्रिय थिए र बदमासी गर्ने गर्दथे तर उनकी बहिनी विद्याको मृत्युपछि विजय चुपचाप र उदास बस्न थालेका थिए ।

पहिलो फिल्मबाट ५ सय रुपैयाँ

विजयको करियर १० वर्षको उमेरमा १९८४ मा आएको फिल्म वैत्रीबाट सुरु भएको थियो । यस फिल्ममा विजयले बाल कलाकारको रुपमा काम गरेका थिए जसका लागि उनलाई ५ सय रुपैयाँ पारिश्रमिक दिइएको थियो । त्यसपछि उनले बाल कलाकारको रुपमा धेरै चलचित्रमा काम गरे ।

१८ वर्षको उमेरमा पहिलो लिड रोल पाएका थिए

विजयले आफ्नो बुवाले निर्देशन गरेको चलचित्र नलैय्या थिरपुमा पहिलो पटक मुख्य कलाकारको रुपमा काम गर्ने मौका पाए । सन् १९९२ मा रिलिज भएको यो फिल्मले खासै व्यापार गर्न सकेन । त्यसपछि सन् १९९२ मा उनको फिल्म सेंधुरापाण्डी रिलिज भयो । यो फिल्मले भने बक्स अफिसमा राम्रो कमाई गर्न सक्यो । यो फिल्मबाट विजयले चर्चा पनि पाए । यो फिल्मपछि विजयले थुप्रै हिट फिल्म दिन सफल भए ।

फ्यानसँग विवाह गरे

विजय चेन्नईमा आफ्नो फिल्मको सुटिङ गरिरहेका थिए । सङ्गीता बेलायतमा बस्थिन् र विजयको ठूलो प्रशंसक थिइन् । एक दिन सङ्गीता विजयको सेटमा उनलाई भेट्न पुगिन् र उनको आगामी फिल्मको लागि बधाई दिइन् । दुबैले एकअर्काको फोन नम्बर सेयर गरे र यी दुईबीच लामो कुराकानी हुन थाल्यो । दुवैले करिब ३ वर्षसम्म एकअर्कालाई डेट गरे । त्यसपछि एक दिन विजयका बुवाले सङ्गीतालाई घरमा बोलाएर विजयसँग विवाह गर्न प्रस्ताव राखे । सङ्गीताले तत्काल सहमति जनाइन् । सङ्गीताका बुबा तमिल व्यापारी थिए । उनी पनि यो विवाहका लागि राजी भए । यी दुईको भिन्न धर्ममा आस्था थियो त्यसैले विवाह कुन धर्ममार्फत् गर्ने भन्ने छलफल चल्न थाल्यो । सङ्गीताले हिन्दु धर्म मान्ने भएकोले विजयले आफू पनि हिन्दु धर्म अनुसार नै विवाह गर्ने निर्णय लिए । यी दुईले सन् १९९९ अगस्ट २५ मा विवाह गरे । यी दुईका दुई सन्तान छन् ।

१०० करोड पारिश्रमिक लिएर रजनीकान्तलाई पछि पारे

विजय सबैभन्दा धेरै कमाउने तमिल अभिनेता हुन् । उनले फिल्म ‘थलापति ६५’ का लागि १०० करोड पारिश्रमिक लिएर सुपरस्टार रजनीकान्तलाई पनि पछि पारेका छन् । रजनीकान्तले फिल्म दरबारका लागि ९० करोड पारिश्रमिक लिएका थिए ।

६५ फिल्ममा काम गरे

थालापथी विजयले हालसम्म ६५ चलचित्रमा अभिनय गरिसकेका छन् जसमध्ये उनका अधिकांश चलचित्र हिट भएका छन् । काथ्थी, मास्टर, थेरी जस्ता चलचित्र उत्कृष्ट प्रदर्शनका लागि परिचित छन् ।

४२० करोड छ सम्पत्ति

मिडिया रिपोर्टका अनुसार थालापति विजयको कुल सम्पत्ति ४२० करोड छ । विजय विलासी जीवन बिताउँछन् । विजयको वार्षिक कमाई १०० देखि १२० करोडसम्मको छ । उनी धेरै ठूला कम्पनीको विज्ञापन गर्छन् । उनीसँग धेरै लक्जरी गाडीहरूको कलेक्सन छ । अभिनेता आफ्नो परिवारसँग चेन्नईस्थित बंगलामा बस्छन् ।

‘थलापति ६६’

अहिले विजय आफ्नो आगामी फिल्म ‘थलापति ६६’ को तयारीमा व्यस्त छन् । यो फिल्म २०२३ मा रिलिज हुनेछ । फिल्ममा विजयसँग रश्मिका मन्डन्ना देखिँदैछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप