शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फोहोरको समस्या झनै विकराल भयोः मन्त्री झाँक्री

बिहीबार, ०९ असार २०७९, १७ : २१
बिहीबार, ०९ असार २०७९

शहरी विकास मन्त्री रामकुमार झाँक्रीले शहरमा फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीवार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले शहरको फोहोरको समस्या ठूलो रहेको बताइन् । 

उनले  फोहोरको समस्यालाई बेलैमा हल गर्नुपर्ने बताइन् । मन्त्री झाँक्रीले फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन् ।  फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको बताइन् । 

‘शहरमा आइसकेपछि शहरका समस्या झनै विकराल छन् । शहरमा बस्ने मान्छेले फोहोर गर्छन्, फोहोर विसर्जन गर्ने समस्या एकजना गरिबीको जीवनलाई निवारण गर्नेभन्दा झनै ठूलो समस्या छ । शहरमा बस्नेले फोहोर उत्सर्जन गरिरहेका छन्’, उनले भनिन्, ‘आफूले गरेको फोहोर ढल, ढलबाट खोलामा सुक्खा फोहोरहरु बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेर आएको छ, त्यसले हाम्रो गरिबीलाई घटाउनको लागि लगानी गर्नुपर्ने नेपाल सरकारको शक्ति, सामर्थ्य, ऋण, पैसा, आम्दानी सबै कुराको अतिरिक्त खर्च यसको व्यवस्थापनमा लागेको छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ ।’

उनले अगाडि भनिन्, ‘काठमाडौंमा बस्ने मान्छेले फोहोर गर्दछौं । बञ्चरे डाँडामा सम्पूर्ण फोहोरका लागि ल्याण्डफिल साइट बनाएका छौँ । फोहोर फालेका छौँ, त्योसँग निस्किने सामाजिक मुद्दा सम्बोधन गर्नुपर्छ । हामीले ट्वाइलेटहरू ढलमा मिसाएका छौँ । ढल खोलामा मिसाएका छौँ । त्यसको ट्रिटमेण्ट गर्न त्यत्तिकै संख्यामा ऋण लिएर ट्रिटमेण्ट प्लान्ट बनाउनुपर्छ । यो हामी सुल्टो बाटो हिँडेको होइन, तरपनि यो हाम्रो बाध्यता हो । हामीले अब जसले फोहोर गर्छ उसैसँग पैसा उठाएर काम गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न सकेनौँ भने पुस्तौं पुस्तासम्म ऋणको भारी अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ ।’
मन्त्री झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढंगले अघि लैजान आवश्यक रहेको पनि बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप