शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

६२ हजार ८७० भारु तिरेर रेलमार्फत रामायण सर्किटको यात्रा

‘सीताको माइती आउन पाउँदा गौरवान्वित छौं’
बिहीबार, ०९ असार २०७९, २१ : ०३
बिहीबार, ०९ असार २०७९

नेपाल–भारत धार्मिक पर्यटकीय सम्बन्ध मजबुत बनाउने उद्देश्यले सुरु भएको ‘रामायण सर्किट’ रेल सेवाका यात्रीले सीताको माइती आउँदा आफू गौरवान्वित भएको बताएका छन् । उक्त रेलमा आएका यात्रीले प्रतिव्यक्ति ६२ हजार ८७० भारु तिरेर रामायण सर्किट यात्राको अनुभव लिएका हुन् । रामायण सर्किट अन्तर्गत बिहीबार पहिलो पटक करिब ५ सय यात्री लिएर भारतीय रेल जनकपुरधाम आइपुगेको हो ।

रामायण सर्किट अन्तर्गत १८ दिनको यात्रा हुने छ । यस क्रममा रामायणसँग सम्बन्धित जनकपुरधाम पनि यात्राको अङ्ग बनेको हो । रामको जन्मभूमि अयोध्या र सीताको जन्मभूमि जनकपुरधामलाई जोडेर धार्मिक यात्रालाई निरन्तरता दिने योजना अनुसार पहिलो पटक रेल सेवा शुभारम्भ गरिएको भारत गौरव पर्यटकीय रेल्वेका जनरल मेनेजर अच्युत सिंहले जानकारी दिए ।

उनले एक वा दुई महिनामा एक पटक पर्यटकीय रेल दिल्लीबाट अयोध्या हुँदै जनकपुरधामसम्म आउने स्पष्ट पारे ।

भारतको दिल्लीबाट सुरु भएको १८ दिने रामायण सर्किट यात्रामा रहेको सो रेल ४ सय ९९ यात्रु बोकेर बिहीबार पौने २ बजे अन्तर्राष्ट्रिय सीमा पार गरी जनकपुरधाम आइपुगेको हो । रामायण सर्किटका यात्रीहरुले बिहीबार साँझ जानकी मन्दिरको दर्शन गरेका छन् भने गंगा आरतीको पूजा अर्चनामा सहभागीसमेत भए ।

शुक्रबार उनीहरु धनुषाधामस्थित धनुष मन्दिरको दर्शन गरी पुनः भारतको बिहार राज्यमा पर्ने सीतामढीमा सीताको जन्मथलोको दर्शन गर्न पुग्नेछन् । रामायण सर्किट अन्तर्गत भारत र नेपालबीच पर्यटक रेल सुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्दत पुग्ने मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको भनाइ छ ।

उनले रामायण सर्किट रेल चढेर आएका भारतीय पर्यटकलाई स्वागत गर्दै नेपाल–भारत बीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए । उनले जनकपुरधामको प्रचार प्रसार धार्मिक पर्यटकीय स्थलको रुपमा देश विदेशमा गर्नुपर्नेमा जोड दिए ।

रामायण सर्किट अन्तर्गत पर्यटकीय रेल १८ दिने यात्राको क्रममा जनकपुरबाट भारतको सीतामढी हुँदै नन्दीग्राम, प्रयागराज, बनारस, ब्रम्हकेश्वर, चित्रकुट, पंचवटी (नासिक), बक्सर, कर्नाटकको हम्पी, अन्जनागिरी पर्वत, रामेश्वरम हुँदै भद्राचलम र कान्चीपुरम जस्ता प्रख्यात धार्मिक स्थलहरूको भ्रमण गर्नेछ ।

रामायण सर्किट यात्रामा सहभागी पर्यटकहरूबाट भारत सरकारले १८ दिनको यात्रामा खाना, आवास, पोशाक लगायतका खर्च बापत प्रति यात्रु ६२ हजार ८७० भारतीय रुपैयाँ लिएको यात्रीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप