शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : बालबालिकाले पाए खोप, फेरि बढ्न थाले कोरोना संक्रमित

नेपालको निर्णयमा चीन खुशी
बिहीबार, ०९ असार २०७९, २२ : ०३
बिहीबार, ०९ असार २०७९

आज मिति २०७९ साल असार ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१. एसपीपीबारे चीन

चीन सरकारले एसपीपीमा सहभागी नहुने नेपालको मन्त्रिपरिषदको पछिल्लो निर्णयको प्रशंसा गरेको छ । बिहीबार बेइजिङमा भएको नियमित पत्रकार ब्रिफिङमा चिनियाँ सरकारको विदेश मन्त्रालयका प्रवक्त वाङ वेनबिनले सरकारको तर्फबाट यस्तो धारणा व्यक्त  गरेका हुन्।

नियमति पत्रकार सवाल जवाफका क्रममा चाइना डेलीका पत्रकारले प्रवक्ता वेनबिनलाई नेपालको हालै बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अगाडि नबढाउने निर्णयमा सरकारको धारणा सोधेका थिए । यसमा विदेश मन्त्रालयका प्रवक्ताले ‘हामीले नेपालमा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई लिएर व्यापक विवाद भएको घटनामाथि नजर राखेको’ बताए ।

​२. ओलीमाथि खनिए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा राष्ट्रघाती क्रियाकलाप गरेको आरोप लगाएका छन् । ओली नेतृत्वको तत्कालीन सरकारले एसपीपी सम्झौतामा स्वीकृति दिएको खुलासा आफूले गएको प्रचण्डले बताए ।

आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए ।

​३. विद्यार्थीमा विभेद

चिकित्सा शिक्षाको प्रवेश परीक्षामा नेपाली र विदेशी विद्यार्थीमा विभेद देखिएको छ । चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जाने नेपालीले नेपालमै एकीकृत प्रवेश परीक्षा पास गर्नुपर्ने तर, नेपालमा चिकित्सा शिक्षा पढ्न आउने विदेशी विद्यार्थीले भने आफ्नै देशबाट परीक्षा पास गरे पनि हुने व्यवस्थाप्रति सरोकारवालाले आपत्ति जनाएका छन् ।

चिकित्सा शिक्षा आयोगले बनाएको एकीकृत प्रवेश परीक्षाको म्याचिङ प्रणाली सम्बन्धी कार्यविधि २०७८ ले विदेशी विद्यार्थीलाई नेपालमै इन्ट्रान्स पास गर्नु नपर्ने गरी सुविधा दिएको छ ।

आयोगले १५ जुन २०२२ मा सम्बन्धित देशमा प्रवेश परीक्षा दिएर नेपालमा चिकित्सा शिक्षा पढ्न चाहने विद्यार्थीको सूची सार्वजनिक गरेको छ । एबीबीएस, बीडीएस र बिएस्सी नर्सिङ गरी तीनै कार्यक्रमका लागि ४६६ विद्यार्थीको नाम सार्वजनिक गरेको छ । उनीहरू सबै भारतीय विद्यार्थी छन् ।

​४. बालबालिकाले पाए खोप

लामो समयको पर्खाइपछि बालबालिकाले पनि कोरोनाभाइरसविरुद्धको खोप पाउन थालेका छन् । बिहीबारदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन सुरु भएको हो  । अमेरिकाले अनुदानमा दिएको फाइजर बायोएनटेक खोप यही असार ५ मा काठमाडौं आएसँगै पहिलो चरणमा आजदेखि २७ जिल्लामा खोप अभियान सुरु भएको हो ।

खोप अभियानको पहिलो दिन नागार्जुन नगरपालिकाका विभिन्न विद्यालयलाई पनि खोप केन्द्रमा रुपान्तरण गरि खोप लगाउन सुरु गरिएको छ । खोप लगाउँदा केही बालबालिका डराएर रुने भए पनि यसले उनीहरुलाइ कोरोनाबाट बचाउने हुँदा खसी लागेको अभिभावकले प्रतिक्रिया दिए । 

​५. रेलबाट आए पर्यटक

नेपाल–भारत धार्मिक पर्यटकीय सम्बन्ध मजबुत बनाउने उद्देश्यले सुरु भएको ‘रामायण सर्किट’ रेल सेवाका यात्रीले सीताको माइती आउँदा आफू गौरवान्वित भएको बताएका छन् । उक्त रेलमा आएका यात्रीले प्रतिव्यक्ति ६२ हजार ८७० भारु तिरेर रामायण सर्किट यात्राको अनुभव लिएका हुन् । रामायण सर्किट अन्तर्गत बिहीबार पहिलो पटक करिब ५ सय यात्री लिएर भारतीय रेल जनकपुरधाम आइपुगेको हो ।

​६. श्रेष्ठ राजदूत नियुक्त

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

​७. जनमोर्चाले बनायो विभाग

राष्ट्रिय जनमोर्चाले विभिन्न विभाग गठन गरेको छ । असार ८ गते बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।  बैठकले संगठन, आर्थिक, प्रकाशन, सञ्चार तथा प्रचार–प्रसार विभाग, विकास निर्माण तथा स्थानीय तह परिचालन विभाग तथा सम्पर्क समिति समन्वय विभागको गठन गरेको हो ।

​८. बढ्न थाले कोरोना संक्रमित

नेपालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । भारतमा कोरोना संक्रमित बढ्दै गएको बेला त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । पछिल्लो २४ घण्टामा २४९४ जनामा कोरोना परीक्षण हुँदा ४९ जनामा संक्रमण पुष्टि भएको छ।  अघिल्लो दिन जम्मा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको परीक्षणअनुसार संक्रमणदर १.९६ प्रतिशत रहेको छ । अघिल्लो दिन त्यस्तो संक्रमणदर १.२७ प्रतिशत रहेको थियो ।  अघिल्लो सातासम्म कोरोना संक्रमणदर ०.५ प्रतिशतमा सीमित थियो ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १२ जना रहेको छ भने हाल सक्रिय संक्रमित १६३ जना रहेका छन् ।

हाल देशभर जम्मा पोजेटिभ केस पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७९ हजार ४५७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ४० हजार ४०९ जनामा देखिएको छ । तीमध्ये हालसम्म ९ लाख ६७ हजार ३४२ जना निको भएका छन् । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ।

​९. सेयर बजार

आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५ अंक घटेर बन्द भएको छ । कारोबार समयदेखि घट्न सुरू गरेको नेप्से परिसूचक ४५ अंक घटेर १८ सय ४८ अंकमा आइपुगेर बन्द भएको हो । आज परिसूचक २.३९ प्रतिशतले घटेको हो ।

​१०. यो पनि...

नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदमा दिपुराज ज्वारचनल नियुक्त भएका छन् । उनी निगमकै वरिष्ठ क्याप्टेन हुन् । 

​प्रधानसेनापति प्रभुराम शर्मा सिरिया पुगेका छन् । संयुक्त राष्ट्र संघ (युएन) अन्तर्गत शान्ति सैनिकहरूले निर्वाह गरेको जिम्मेवारीको अवलोकनका लागि उनी सिरिया पुगेका हुन् ।

​नेकपा एमाले निकट युवा संघले राँके पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध राँके जुलुस निकालेको छ।  युवा संघले बिहीबार नयाँ बानेश्वरमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध राँके जुलुस निकालेको हो । यस्तै युवा संघले सरकारी गाडीमा समेत तोडफोड गरेको छ । नेपाल आयल निगमले केही दिन अगाडि प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मूल्य र डिजेलमा प्रति लिटर २७ रुपैयाँ बढाएको थियो।

​सुर्खेतको वीरेन्द्रनगरमा भेटिएको ‘बर्डफ्लु’ नियन्त्रण गर्न संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन गरिएको छ । बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ का स्थानीय टेकराज आचार्यको पंक्षी फर्ममा रहेका टर्कीमा ‘बर्डफ्लु’ पुष्टि भएको थियो ।

​कानुन व्यवसायीको समूहले सबै न्यायाधीशको सम्पत्ति छानबिनका लागि आयोग बनाउन माग गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष माग गरेको छ । बिहीबार कामु प्रधानन्यायाधीश कार्कीलाई ज्ञापनपत्र बुझाउँदै कानुन व्यवसायीहरुले हालै घुस लेनदेनसम्बन्धी सार्वजनिक न्यायाधीश–कानुन व्यवसायी अडियो प्रकरणले न्याय मारेर विचौलिया र न्यायाधीशले गलत रुपमा आर्थिक उपार्जन गर्दा रहेछन् भन्ने प्रस्ट भएको जनाएका छन् । 

​नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटाएको छ । टेलिकमले हाल उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरेको हो ।  गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट  दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

​नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छोडेका ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् । । माओवादी धारा केन्द्रीकृत र ध्रुवीकृत गर्ने उद्देश्यका साथ विप्लव समूह छाडेको उनीहरुले संयुक्त विज्ञप्तिमा समेत उल्लेख गरेका छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप