शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय कविता महोत्सव सम्पन्न, सुनसरीकी टीका आत्रेय बनिन् प्रथम

शुक्रबार, १० असार २०७९, ०८ : ०३
शुक्रबार, १० असार २०७९

नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्वको अवसरमा राष्ट्रिय कविता महोत्सवको २०७९ आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस पारेर हरेक वर्ष असार ९ गते आयोजना हुने यस महोत्सवको उद्घाटन प्रधानमन्त्री तथा नेपाल प्रज्ञ प्रतिष्ठनका मुख्य संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले पानसमा बत्ति बालेर कविता महोत्सवको उद्घाटन गरे । 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ रूपान्तरणसँगै बहुजातीय, बहुभाषिक समुदायलाई सम्बोधन गर्नेगरी कृतिहरु, प्रचलित भाषा, साहित्य, संस्कृति र भूगोल तिनीहरुको एकता बढाउन सिर्जनशील कार्यक्रम प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने बताए । उनले भने, “देशका सबै समुदायको भाषा एवं सांस्कृतिक दर्शनको प्रवद्र्धनमा योगदान पुर्याउन प्रज्ञा प्रतिष्ठानले काठमाडौँको मैतीदेवीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण गर्नु खुसीको कुरा हो ।” उनले नेपाली बृहत् शब्दकोशलाई डिजिटल प्रणाली  र एप निर्माण र सञ्चालन गर्नु आजको आवश्यकता रहेको बताए । “प्रतिष्ठानको यसखाले कार्यमा नेपाल सरकारले सधैँ सहयोग गर्नेछ,” उनले भने । 

कार्यक्रमा बोल्दै संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र नेपाल प्रज्ञा प्रतिष्ठानका कार्य क्षेत्र भएको बताए । उनले भने, “यस प्रतिष्ठानले ११ वटा विभागका विभिन्न गोष्ठी, अनुसन्धान र प्रकाशनका क्षेत्रमा उल्लेखनीय कार्य गरेको छ । कोभिड महामारीमा पनि आफ्ना काम नरोकी अनुसन्धान र प्रकाशनका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गरेको सुन्दा खुसी लागेको छ ।”

कार्यक्रमा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेतीले यो संस्था नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा प्राज्ञिक सम्पर्कको संस्था भएको बताए । उनले भने, “नेपालको प्राज्ञिक महत्त्वलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउन एकेडमीसँग संस्थागत रुपमा जोडिएर सहकार्य गर्दै हामी एक-अर्कामा आदान प्रदानको कार्य पनि गर्दै आएका छौँ ।”  

यस्तै प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले प्रज्ञा प्रतिष्ठन भनेको राष्ट्रको शिरफूल भएको बताए । उनले भने, “यसले नेपाल राष्ट्रको प्राज्ञिक आवश्यकताको परिपूर्ति गर्छ । अहिले प्रज्ञा प्रतिष्ठानले समावेशी र समानुपातिक समावेशीका आधारमा विभिन्न क्षेत्रको भाषा साहित्य, धर्म, दर्शन, संस्कृति र नेपालको सामाजिक अवस्था सबै विषयको अध्ययन अनुसन्धान गरिरहेको छ ।”

 अहिले मधेस प्रदेशको इतिहास, भूगोल, साहित्य, संस्कृति, प्रशासनिक अवस्था, खेतीपाती, सिँचाइ, खानेपानीको अवस्था लगायत सम्पूर्ण पक्षको अध्ययन अनुसन्धान गरी भदौ महिनाभित्रमा पुस्तक प्रकाशित गरिने उनले बताए ।    

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हालसम्मका राष्ट्रिय महोत्सवमा सहभागी कविताहरू पुरस्कार कृतिमा प्रकाशित भइसकेको बताए । उनले भने, “२०७७ देखि हालसम्म छनोट भएका कविताहरू पनि चौमासिक पत्रिकामा प्रकाशित गरिने तयारी भइरहेको छ ।” 

सधैँ झै राष्ट्रिय कविता प्रतियोगिताका लागि एक महिना अघि नै दर्ता आह्वान गरिएको र निर्धारित समयमा ५८८ वटा कविता प्राप्त भएको जानकारी उनले दिए । गत वर्ष झैँ यस वर्ष पनि विदेशबाट समेत धेरै सङ्ख्यामा कविता प्राप्त भएकोले राष्ट्रिय भने पनि अन्तर्राष्ट्रिय कविता महोत्सव हुन पुगेको बताए । 

तीमध्ये कविता छनोट समितिले ३० वटा कवितालाई महोत्सवमा वाचन गर्न सिफारिस गरेको र त्यसबाट प्राप्त भएको प्राप्ताङ्कबाट प्रथम र द्वितीय १–१ र तृतीय ३ जना गरी ५ जना कवि तथा कवितालाई यही कार्यक्रमबाट पुरस्कृत गरिने पनि उनले बताए ।

सुनसरीकी टीका आत्रेय प्रथम

राष्ट्रिय कविता महोत्सव २०७९ मा आह्वान गरिएका कविता मध्ये सुनसरीकी टीका आत्रेयको ‘सङ्कल्प’ कविता प्रथम भयो । यसैगरी धादिङका यात्री प्रकाश पाण्डेको आगोमा फुलेको देश द्वितीय भयो । भक्तपुरकी सीता तुम्खेवाको चरिसो फूल, सुनसरीका किरण सिवाको बुबाको सिलाई मेसिन र अछामका कमलराज केसीको सपना उम्रिन्छ माटोमा कविताहरूले तृतीय स्थान प्राप्त गरेका छन् ।

महोत्सवमा कविता वाचनका लागि ३० वटा कविता छनोट भएका थिए । जसमा तारानाथ गौतम धादिङ, निर्मरमण पराजुली कास्की, यात्री प्रकाश धादिङ, कमलराज केसी अछाम, टहल दाहाल दोलखा, इन्द्रनारायण सुवेदी इलाम,  सरिता ढकाल जापान, वीरेन्द्र नेपाल झापा, प्रकाश पाण्डे अमेरिका, ज्ञानदीप चाम्लिङ खोटाङ, नरेन्द्र बुढाथोकी हुम्ला, किरन शिवा सुनसरी, नुरज भट्टराई इलाम, स्पन्दन विनोद पोर्चुगल, जीविका अश्रु सिक्किम भारत, सिर्जना शर्मा रुकुम पश्चिम, एमपी पाण्डे अछाम, एलिसा ढुङ्गाना काभ्रे, सीता तुम्खेवा भक्तपुर, शम्भुप्रसाद गजुरेल नुवाकोट, मञ्जिला अनिल काठमाडौँ,  भीष्मराज काफ्ले तेह्रथुम, प्रकाश बस्नेत काठमाडौँ, सुन्दर शिरीष सिन्धुपाल्चोक, बिर्खे अन्जान मकवानपुर,  टीका आत्रेय सुनसरी,  छविलाल आचार्य कास्की, प्रभा पोखरेल अमेरिका, जनार्दन अधिकारी काठमाडौँ, कृष्ण विष्ट सल्यान रहेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप