बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा पहिलो पटकको मिर्गौला प्रत्यारोपण सफल

शुक्रबार, १० असार २०७९, ०९ : ०३
शुक्रबार, १० असार २०७९

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इतिहासमा पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले मिर्गौला प्रत्यारोपण पहिलो चरणमा सफल भएको रातोपाटीलाई जानकारी दिए ।

चिकित्सकको दुईवटा टोलीले ५० वर्षीय महिलामा मिर्गौला प्रत्यारोपण गराएको थियो । निर्देशक डा खत्रीका अनुसार ती विरामीकै श्रीमानको मिर्गौला मिल्ने देखिएपछि पोखरा र काठमाडौंको चिकित्सक टोलीले प्रत्यारोपण गराएको हो ।

मिर्गौलाका लागि दुईवटा चिकित्सक टोली हुने खत्रीले जानकारी दिए । एउटा टोलीले मिर्गौला निकाल्ने र अर्को टोलीले प्रत्यारोपण गर्दछन् । ‘प्रत्यारोपणको पहिलो चरण सफल भएको छ,’ उनले रातोपाटीसँग भने, ‘विरामीको पिसाब राम्ररी निष्कासन भएको जानकारी पाएको छु ।’

ति महिला ५ वर्ष अगाडिदेखि नै मिर्गौलाको बिरामी रहेकी थिइन् । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा पोखरामै पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्न सफल भएको हो । उनको प्रत्यारोपण निशुल्क गरिएको हो । डा. खत्रीका अनुसार अब एक दुईवटा प्रत्यारोपण निशुल्क गरिनेछ । त्यसपछि मिर्गौला प्रत्यारोपणका लागि ५ लाख रुपैंया दिने सरकारको नीति अनुरुप सरकारबाट शुल्क लिएर प्रत्यारोपण गरिनेछ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संघीय सरकार मातहत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको छ । अब पोखरामा नियमित मिर्गौला प्रत्यारोपण गराउने प्रतिष्ठानको तयारी छ । मिर्गौला प्रत्यारोपणमा डा। प्रकाश क्षेत्री, डा. अनुप चापागाईं डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसी तथा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक  डा. पुकारचन्द्र श्रेष्ठ सहितको टिम सहभागी थियो ।

यो सफलतासँगै यस क्षेत्रका विरामीलाई मिर्गौला प्रत्यारोपणका लागि काठमाण्डौ, चितवन वा भारतसम्म पुग्नुपर्ने बाध्यता हट्ने विश्वास डा. खत्रीले गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप