बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेहेन्दार विद्यार्थीलाई एक लाख छात्रवृत्ति

शुक्रबार, १० असार २०७९, १२ : १२
शुक्रबार, १० असार २०७९

काभ्रेपलाञ्चोकको बेथान चोक गाउँपालिकाले वडा नं. २ घर भएका विजय घलानलाई एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बीच एमबीबीएस दोस्रो बर्षमा अध्ययनरत घलानलाई जेहेन्दार विद्यार्थी छात्रवृत्ति स्वरुप सो रकम हस्तान्तरण गरेको हो ।

घलान पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटीमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत छन्। गाउँपालिकाका नव निर्वाचित अध्यक्ष भगवान अधिकारीले पदभार ग्रहण गरेसँगै पहिलो बैठकले गरेको तीन महत्वपूर्ण निर्णयमध्येको प्राविधिक तथा अप्राविधिक विषयमा स्नातक वा सो भन्दा माथि अध्ययनरत विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति दिने घोषणा अनुरुप आज रकम वितरण गरेको गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाले बताए । ‘पालिका अध्यक्षको पहिलो निर्णय अनुसार आज जेहेन्दार छात्रवृत्ति बापतको एक लाख प्रदान गरेको छौं ।’ उनले भने, ‘अध्ययन पूरा गरेर फर्केपछि उहाँलाई पुनः थप एक लाख रुपैयाँ प्रदान गर्ने गाउँपालिकाले निर्णय भएको छ ।’

स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा नवनिर्वाचित भएपछिको पहिलो बैठकमा अध्यक्ष भगवान अधिकारीले प्रत्येक आर्थिक वर्षमा पाँच किलोमिटर सडक स्तरउन्नती संगै कालोपत्रे गर्ने, स्नातक तहमा अध्ययनरत प्राविधिक तथा अप्राविधिक विषयमा अध्ययनरत जेहेन्दार छात्रा–छात्रलाई बार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउने र ६० बर्ष माथिका जेष्ठ नागरिकहरुको निशुल्क रुपमा पूर्ण शरीर परीक्षणको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका थिए । सो निर्णय मध्येको जेहेन्दार छात्रवृत्ति वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

यसैबीच बेथानचोक गाउँपालिकाले कोभिड–१९ को संक्रमणबाट मुत्यु भएका परिवारलाई राहतस्वरुप ५० हजारका दरले नगद वितरण गरिएको छ । कोरोना संक्रमणबाट मृत्यू भएका परिवारलाई प्रति परिवार ५० हजारका दरले रकम वितरण गर्ने निर्णय भए अनुरुप आज पालिकाले कार्यक्रमको आयोजना गरी रकम वितरण गरेको गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष मधुसुदन तिमल्सिनाले बताए । 

कोरोना संक्रमणका  कारण मृत्यू भएका परिवारलाई काज किरिया खर्च स्वरुप दुःखद अवस्थामा रहेको परिवारलाई स्थानीय सरकारको तर्फबाट राहत स्वरुप रकम वितरण गरेको हो । कोरोना संक्रमणबाट १५ जनाको मृत्यू भएकोमा आज ८ परिवारलाई सो रकम वितरण गरेको र बाँकीलाई पछि वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ कञ्चनजङ्गाको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ बेथानचोकको व्यवस्थापनमा गत वडा नं। २, ५ र ६ मा गरेको आँखा शिविरमा परीक्षण भएमाध्ये ४१ जनाको आज मोतिय विन्दुको शल्यक्रिया गरिएको छ । यसअघि सञ्चालन भएको शिविरमा ५१८ जनको आँखा परीक्षण भएकोमा ८३ जनाको मोतिय विन्दु शल्यक्रिया गर्नुपर्ने भएकोमा आज सम्पर्कमा आएका ४१ जनाको शल्यक्रिया गरेको गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप