शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चलचित्र विकास बोर्डको नेतृत्वका लागि आकांक्षीले थाले लबिङ, दोस्रो प्रयासमा भुवन केसी

अध्यक्षका लागि आवेदन खुल्यो, सम्भावना कसको बलियो ?
शुक्रबार, १० असार २०७९, १४ : ५०
शुक्रबार, १० असार २०७९

नेपाली फिल्म क्षेत्रमा यतिबेला चलचित्र विकास बोर्डको अध्यक्ष बन्न आकांक्षीहरुको दौडधुप सुरु भएको छ । बोर्डको अध्यक्ष पदमा नियुक्त हुन एक दर्जन फिल्मकर्मी रेसमा देखिएका हुन् । अभिनेता भुवन केसी, निर्देशक सम्झना उप्रेतीदेखि पूर्व अध्यक्ष राजकुमार राईसम्म बोर्ड अध्यक्षको दौडमा छन् । सबैले आ–आफ्नै तरिकाले लबिङ सुरु गरेसँगै बोर्ड अध्यक्षको दौड रोचक समेत हुने देखिएको हो ।

बोर्ड अध्यक्षका लागि अन्य आकांक्षीहरुमा निर्देशक सम्झना रौनियार, निर्देशक निर्माता नरेश पौडेल, मनिष पण्डित, पूर्व अध्यक्ष दयाराम दाहाल, निर्देशक नारायण पुरी, निर्माता चिरञ्जिबी बस्नेत,  निर्देशक सुचित्रा श्रेष्ठ, पत्रकार दिवाकर मैनाली, निर्देशक राजेन्द्र उप्रेती, अरुण प्रधान, निर्देशक रमेश बुढाथोकी पनि रहेका छन् । यी सबै बोर्ड अध्यक्षका लागि आ–आफ्ना तरिकाबाट भेटघाट र भनसुनका लागि दौडधुपमा लागेका छन् ।

आकांक्षीहरु आ–आफ्नो बायोडाटा बनाउनेदेखि आफू आवद्ध संघ संस्थाबाट सिफरिस गराउनेसम्म लागेका छन् । माथि नाम उल्लेख बाहेकका अझै केही पूर्व कर्मचारी, केही अन्य क्षेत्रका ब्यक्ति समेत लागेको समेत चर्चा छ । सरसर्ती हेर्ने हो भने यो पटक विकास बोर्ड अध्यक्षका लागि करिब डेढ दर्जन ब्यक्ति दौडमा देखिएका छन् ।

सम्भावना कसको बलियो ?
सञ्चार मन्त्रालय मातहतको विकास बोर्ड अध्यक्षको दौडमा दर्जन बढी ब्यक्ति देखिएपनि सम्भावना बलिया भएका आधा दर्जन ब्यक्ति रहेका छन् । तिनमा अभिनेता भुवन केसी, सम्झना रौनियार उप्रेती, नारायण पुरी, मनिष पण्डित, चिरञ्जिवी बस्नेत, नरेश पौडेललगायत हुन् ।

अभिनेता भुवन केसी हालै नेपाली काँग्रेस प्रवेश गरेका हुन् । यस अगाडिको ओली सरकारको पालामा पनि दौडमा रहेका केसी बोर्डको जिम्मेवारी नपाएपछि ओलीसँग रुष्ट भएका थिए । केसी बोर्ड अध्यक्ष बार्गेनिङ गरेर काँग्रेस प्रवेश गरेको फिल्म क्षेत्रमा चर्चा छ । उनी बोर्ड अध्यक्षका लागि प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, प्रधानमन्त्री शेरबहादुर देउवा र सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग भेटघाट गर्दै आफ्नो कुरा राखिरहेका छन् । हाल सञ्चार मन्त्रालयका काँग्रेसकै नेता ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्दै आएका छन् । 

केही चलचित्रकर्मी भुवन ठिक भएको बताउँछन् भने केहीको अवसरका लागि काँग्रेस प्रवेश गरेकाले तुरुन्तै अवसर प्राप्त गर्न नहुने तर्क छ । भुवन बेलाबेलामा विभिन्न विवादमा छाउने ब्यक्ति हुन् ।
त्यस्तै, नारायण पुरी पनि बलियो दाबेदार मानिएका छन् । नेपाली फिल्म क्षेत्रका सफल निर्देशक पुरी प्रशासन, विदेशी भाषाका ज्ञानको अलावा विभिन्न अन्तराष्ट्रिय फिल्म क्षेत्रको ज्ञान र त्यहाँका ब्यक्तिसँग राम्रो हिमचिम भएका ब्यक्ति हुन् । राजनीतिमा कुन पार्टीका भन्ने अहिलेसम्म नखुलेका पुरी फिल्म क्षेत्रका विवादरहित ब्यक्ति हुन् ।

सम्झना रौनियार उप्रेती पनि बलियो दावेदार मानिएकी छन् । नेपाली काँग्रेस नेता प्रकाशमान सिंह नजिक मानिएकी उनी काँग्रेस भातृसंगठन सांस्कृतिक संघमा पनि आवद्ध छिन् । उनी बोर्ड अध्यक्षका लागि प्रधानमन्त्री पत्नी तथा विभिन्न मन्त्रीहरुसँग भेटघाट गरिरहेकी छन् ।

उता नरेश पौडेल पनि बोर्ड अध्यक्षको बलियो दावेदार मानिएका छन् । कलाकार, निर्माता, निर्देशकसमेत रहेका उनीसँग बलिउड फिल्मको अनुभव पनि छ । प्रशासनमा समेत अनुभव भएका र फिल्म क्षेत्र राम्रोसँग बुझेका पौडेल नेपाली काँग्रेस सम्बद्ध हुन् । काँगे्रसको विभिन्न भातृसंगठमा रहँदै आएका उनी अहिले नेपाल सांस्कृतिक संघमा आवद्ध छन् । 
त्यसो त चिरञ्जिबी बस्नेत र मनिष पण्डितको पनि अध्यक्षमा प्रवल सम्भावना रहेको फिल्मकर्मी बताउँछन् । काँग्रेसका धेरै नेतासँग पण्डितको राम्रो सम्बन्ध भएको बताइन्छ भने बस्नेत सूचना तथा सञ्चार प्रविधि मन्त्री कार्कीको जिल्ला निवासी हुन् । 

बोर्ड अध्यक्ष कस्तो हुनुपर्छ ?
विकास बोर्ड अध्यक्ष नियुक्तिको बिषयमा चलचित्रकर्मीको विचार एकमत छैन । कोही चलचित्रकर्मीबाटै हुनुपर्ने धारणा राख्छन् भने केहीका विचार बाहिरबाट आएपनि सक्षम र इमान्दार हुनुपर्ने भनाइ छ ।
निर्देशक तीर्थ थापा बोर्ड अध्यक्ष चलचित्र कर्ममै रहेकालाई सम्मान दिंदा राम्रो हुने बताउँछन् । ‘चलचित्र बुझेको, नीति निर्माणमा समेत क्षमता भए बाहिरबाट किन गर्ने,’ थापाले भने, ‘बाहिर र भित्रबाट भन्दा पनि योग्य र सक्षम ल्याउनु पर्यो ।’ 

हुन त चलचित्र विकास बोर्डको अहिले सम्मको अध्यक्ष नियुक्ति हेर्ने हो भने अपवादबाहेक अधिकांश चलचित्रकर्मी नै छन् ।  तर जति बोर्ड अध्यक्ष फेरिए पनि आफ्ना नजिकका ब्यक्ति पोस्ने र समय गुजार्ने बाहेक अरु आएनन् । भर्खर कार्यकाल सकिएका अध्यक्ष दयाराम दाहालले पनि फिल्मकर्मी हुन् । उनले पनि काम गरेको महसुस चलचित्रकर्मीले गर्न पाएनन् । उल्टै जाँदाजाँदै वितरण गरेको अवार्डसमेत विवादमा पारे ।
समीक्षक तथा फिल्म निर्देशक दीपेन्द्र लामा पनि चलचित्रकर्मीबाटै आएको बोर्ड अध्यक्षले पनि खासै उपलब्धि मुलक काम गर्न नसकेको बताउँछन् । अध्यक्ष चलचित्रकर्मी र बाहिर जहाँबाट आएपनि बुझेको र जानेको आए राम्रो हुने उनको धारणा छ ।

‘चलचित्रको सम्वेदनशीलता बुझेको आउनुपर्यो । चलचित्रभन्दा बाहिरको भएपनि फरक पर्दैन,’ लामाले थपे, ‘कस्तो चलचित्र राम्रो, कस्तो नराम्रो, चलचित्र उद्योगलाई माथि लैजान के गर्नुपर्छ । कस्तो फिल्म प्रोत्साहित गर्नुपर्छ, त्यो जानकारी भने हुनुपर्छ ।’ पार्टीको हस्तक्षेप अस्वीकार गर्ने  र  सक्षम व्यक्ति आउनुपर्ने धारणा दीपेन्द्रको छ । 

अध्यक्षका लागि आवेदन खुल्ला
अध्यक्ष नियुक्त गर्ने आधिकारिक संस्था सूचना तथा सञ्चार प्रविधि मन्त्रालय हो । मन्त्रालयले अध्यक्षका लागि सूचना प्रकाशित गर्दै आवेदन समेत मागेको छ । हालै नेपाली काँग्रेस निकट चलचित्रकर्मीको एक टोलीले सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग भेट गरेका थियो । भेटमा बोर्ड अध्यक्ष नियुक्ति र काँग्रेस निकट चलचित्रकर्मीको अवसरको बिषयमा छलफल भएको थियो । सोही क्रममा मन्त्री कार्कीले बोर्डमा अध्यक्ष चलचित्रकर्मीबाटै र चलचित्रकर्मीले चाहेको ब्यक्ति नियुक्त हुने आश्वासन दिएका थिए ।

जेठ २३ गते दयाराम दाहालको कार्यकाल सकिएपछि अहिले चलचित्र विकास बोर्डको नेतृत्व रिक्त छ । मन्त्रालयले अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । यस्तै स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्वर्द्धन तथा प्रवद्र्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा १० वर्ष नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवद्र्धनमा निरन्तर रूपमा काम गरेको हुनुपर्ने जनाएको छ । 

कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको, कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको पनि मापदण्डमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप