शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थाहा नगरपालिकाद्वारा १ अर्ब ८ करोड ८४ रुपैयाँको बजेट सार्वजनिक

शुक्रबार, १० असार २०७९, १६ : २७
शुक्रबार, १० असार २०७९

मकवानपरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको ११ औं नगरसभा अधिवेशनमा उपमेयर भरत गोपालीले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गरेका हुन् ।

उनले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ, पुँजीगततर्फ ५१ करोड ७२ लाख १३ हजार रुपैयाँ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार रुपैयाँ र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

थाहा नगरपालिकाले आन्तरिक कर तथा राजश्वबाट १९ करोड ७१ लख ५ हजार रुपैयाँ, राजश्वबाट बाँडफाँटबाट १९ करोड ६८ लाख ८० हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त १९ करोड १६ लाख, प्रदेशबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार रुपैयाँ र सशर्त अनुदानतर्फ प्राप्त हुने ३२ करोड १४ लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्तावापत प्राप्त हुने १५ करोड रुपैयाँ खर्च बेहोर्ने स्रोत प्राप्त हुने अनुमान गरेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पर्यटन र कृषिलाई जोड दिएको छ ।

बजेटमा कृषिमा आत्मनिर्भर बन्न लघु उद्यम कार्यक्रम सञ्चालन गर्न अनुदान दिइने भएको छ । नगरपालिकाको सबै वडामा कृषि र पशु प्राविधिकको पहुँच विस्तार, हाट बजार सञ्चालन गर्न अध्ययन गरिने तथा कोसेली घर यसै वर्षबाट सञ्चालन गरिने भएको छ । थाहा नगरलाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन थप कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले हरेक नागरिकको स्वास्थ्य अवस्थाको तथ्याङ्क राखी नगरको खास स्वास्थ्य अवस्था पहिचान गरेर रोग लाग्न नदिन र रोग लागेको अवस्थामा राम्रो उपचार प्रवन्ध मिलाउन स्वास्थ्य बीमा मार्फत् नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार सेवा प्रवाह गरिने जनाएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० मा थाहा नगरपालिकामा अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्ने, अक्सिजनकै भरमा दैनिक जीवनयापन गरिरहेका दीर्घ रोगीहरुलाई अक्सिजन खरिदमा छुट दिई सहज व्यवस्था गर्ने, गरिब, असहाय नागरिकको स्वास्थ्य उपचारको निम्ति आवश्यक प्रवन्ध मिलाउने भएको छ ।

त्यस्तै नगरपालिकाले १५ शैंयाको नगर अस्पताल सञ्चालनमा ल्याई सामान्य सबै प्रकारको उपचार नगरमै हुने व्यवस्था मिलाइने, हरेक वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरिने, दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई आवश्यक पर्ने नियमित स्वास्थ्य सेवा र सरकारले दिने निशुल्क औषधी सम्भव भएसम्म घरदैलोमै पु¥याउने योजना ल्याएको छ । 

वडा तहमा रहने सहरी स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा प्रदान गर्ने, नगरमा प्राकृतिक चिकित्सालय स्थापना तथा सञ्चालन गर्न पहल गर्ने, नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा सुविधा सम्पन्न बर्थिङ सेन्टर स्थापना गरी संचालन गरिने जनाइएको छ ।

त्यस्तै नगरपालिकाले भीमफेदी–सीमभन्ज्याङ र सिमभन्ज्याङ–चन्द्रागिरी खण्डमा केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप