शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय जनप्रतिनिधिलाई बानियाँले भने– इतिहासले सम्झिने गरी काम गर्नुस्

शुक्रबार, १० असार २०७९, १८ : ०२
शुक्रबार, १० असार २०७९

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले स्थानीय जनप्रतिनिधिलाई इतिहासले सम्झिने गरी काम गर्न आग्रह गरेका छन् । शुक्रबार कागेश्वरी मनोहरा नगरपालिकाको छैटौं नगरसभामा उनले कर्मले नाम लेख्ने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका हुन् । 

‘नगरले राम्रो काम गरे प्रदेश र संघ सरकारले मूल्याङ्कन गर्छ । राम्रो काम गरेर पुरस्कृत हुनुपर्छ । इतिहासले सम्झिने गरी काम गर्नुहोस् । कर्म नाम लेख्ने गरी अगाडि बढ्नुस्,’ सभापति बानियाँले भने । कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले धेरै बोल्नेभन्दा पनि काम गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । 

यस्तै स्वतन्त्रले चुनाव जित्नुले व्यवस्थामा चुनौती नआउँदै भन्दै पार्टीले राम्रो उम्मेदवार नदिए स्वतन्त्रले जित्ने कुरा व्यवस्थाको सुन्दरता  भएको उनको भनाइ छ । उनले भने, ‘यसले व्यवस्थामा चुनौती होइन । यो व्यवस्थाको सुन्दरता हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्र असफल बनाउन केही तत्वबाट षड्यन्त्र भइरहेको भन्दै जनप्रतिनिधिले राम्रो काम गरेर चिर्नुपर्ने बताए । उनले भने, ‘स्थानीय सरकार जनताका घरदैलोको सरकार हो । स्थानीय जनप्रतिनिधिले राम्रो काम गरेर यो व्यवस्था सफल बनाउनुपर्छ ।’ स्थानीय तहमा जनप्रतिनिधिका लागि धेरै खर्च भयो भन्दा पनि इमानदारिता मुख्य कुरा भएको बानियाँको भनाइ छ । ‘इमान्दार भएर काम गर्ने हो भने जनप्रतिनिधिको धेरै खर्च छैन । असमानताको विद्रोहबाट संघीय व्यवस्था आएको हो । व्यवस्था होइन हाम्रो कार्य क्षमता र व्यवहार फेर्नुपर्छ,’ उनले भने ।

कागेश्वरी मनोहरा नगरपालिकामा रंगशाला र राम्रा राम्रा पार्क बनाउन उनले आग्रह छ । बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता समेत रहेका बानियाँले भने, ‘बजेट प्रदेश सरकारबाट हाल्न लगाउँला । काम राम्रो गर्नुस् । बजेटको चिन्ता गर्नुपर्दैन ।’ 

सेवामुखी राजनीति नगर्ने हो भने व्यवस्थामाथि चुनौती आउने उनको भनाइ छ । उनले भने, ‘हामीले सेवामुखी राजनीति गर्ने हो । गरिबलाई सेवा नदिए व्यवस्थामाथि चुनौती आउँछ, आउँछ । यो स्वभाविक हो । त्यसैले धनी होइन गरिब मान्छेको सेवा दिनुहोस् । आफ्ना नागरिकप्रतिको कर्तव्य पुरा गर्नुस् ।’ त्यसपछि वर्तमान व्यवस्था र जनप्रतिनिधिप्रति जनताको भरोसा जाग्ने उनले बताए ।

‘नीति तथा कार्यक्रम बनाउँदा गरिबलाई केन्द्रमा बनाउनुहोला । हामीले शपथ अनुसार व्यवहार गर्नुपर्छ,’ उनले भने, ‘मुलुकलाई असफल हुनबाट हामीले आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप