शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलाचुलीको बजेट ६३ करोड ५५ लाख

शुक्रबार, १० असार २०७९, २० : २५
शुक्रबार, १० असार २०७९

बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ५५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा योजना कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको हो ।

गाउँपालिकाले चालुतर्फ ३४ करोड ९३ लाख ४१ हजार रुपैयाँ र पुँजीगततर्फ २८ करोड ६१ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको हो । आगामी आर्थिक वर्षका लागि विनियोजन रकममध्ये चालुतर्फ राजस्व बाँडफाँट ७ करोड, सशर्त अनुदान २६ करोड ९३ लाख ४१ हजार, आन्तरिक आम्दानीतर्फ १ करोड रकम विनियोजन गरिएको छ ।

त्यस्तै चालुतर्फ वित्तीय समानीकरणतर्फ ११ करोड १९ लाख ३३ हजार, राजस्व बाँडफाँटतर्फ ४ करोड ४७ लाख ९० हजार, सशर्त अनुदानतर्फ ११ करोड १७ लाख ५६ हजार र आन्तरिक आयतर्फ १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष भक्तबहादुर जिसीले बजेट प्रस्तुत गरेका थिए ।

गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि क्षेत्रको विकासका लागि ५१ लाख, पशु सेवा विस्तारका ३५ लाख, उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासका लागि १८ लाख, पालिकाको शिक्षा क्षेत्रको विकास तथा सामुदायिक शिक्षाका लगानीका लागि ३ करोड ३४ लाख बजेट विनियोजन गरेको छ ।

यस्तै, विद्यालय संरचना निर्माण तथा मर्मतसम्भारका लागि ३ करोड ७५ लाख ५० हजार, लैंगिक समानता तथा समावेशीता तर्फ ५५ लाख ५० हजार, स्वास्थ्य सेवाको विस्तार तथा पूर्वाधार निर्माणतर्फ ६ करोड ७५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै पूर्वाधार निर्माणतर्फ ३ करोड १० लाख, सडक पूर्वाधार निर्माणतर्फ २५ लाख ७५ हजार, कृषि सिंचाईतर्फ ३ लाख, खानेपानी आयोजना निर्माण तथा विस्तारतर्फ ५ करोड ४५ लाख २५ हजार, वातावरण तथा विपद व्यवस्थापन १ करोड ८२ लाख र क्षमता विकास तथा सुशासन क्षेत्रतर्फ २ करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप