शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं महानगरले पछ्यायो दिल्लीको योजना, अर्को वर्षदेखि घर-घरमै स्वास्थ्य सेवा र औषधी

मृत जीवजन्तुको अन्तिम संस्कार गर्न शवदाह गृह निर्माण गरिने
शुक्रबार, १० असार २०७९, २२ : ०८
शुक्रबार, १० असार २०७९

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि घर–घरमै पुगेर स्वास्थ्य सेवा दिने भएको छ । महानगरले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिकहरूलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आवश्यकताअनुसार औषधी वितरण गर्ने घोषणा गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भारतीय संघीय राजधानी भएको राज्य दिल्लीको सिको गर्दै जेष्ठ नागरिकलाई घर–घरमै पुगेर स्वास्थ्य परिक्षण तथा सेवा दिने योजना बनाएका हुन् । उक्त योजनाअनुसार नै महानगरले आगामी वर्षदेखि घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने नीति अघि सार्दै बजेट विनियोजन गरेको हो ।

यसैगरी, महानगरले काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालय रहेको वडा नं ११ स्थित हरिभवनको प्रबलीकरण गर्नलाई समेत बजेट विनियोजन गरेको छ ।  यसैगरी, विद्युतिय सार्वजनिक सवारी यातायात सञ्चालन गर्ने तथा सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पोखरी निर्माण गर्ने र पानी पुनर्भरण विशेष कार्यक्रम अघि सार्ने योजना समेत महानगरको बजेटमा समेटिएको छ ।

महानगर उज्यालो कार्यक्रम, डबलीहरूको पुनस्र्थापना र एमपी थियटर निर्माण, सामुदायिक विद्यालयहरुकाे भौतिक पूर्वाधारमा गुणात्मक सुधार र फोहोरबाट विद्युत उत्पादन गर्ने प्लान्ट जडान गर्न समेत बजेट विनियोजन भएको छ । डिजिटल अर्बान सेक्युरिटी सिस्टमका लागि सिसिटिभी जडान, बस स्टपहरुमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने तथा महानगरपालिकाको विपद जोखिम नक्सांकन गर्ने सम्मका योजना आगामी वर्षको बजेटमा समेटिएको उपमेयर सुनिता डंगोलले घोषणा गरिन् ।

यसका साथै, आवधिक योजनालाई अन्तिमता, ई–गभर्नेन्स मास्टर प्लान, दमकल स्टेसनको विस्तार, युवा केन्द्रित कार्यक्रमहरु, खेलकुद विकासका लागि पूर्वाधार निर्माण तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न समेत बजेट विनियोजन भएको छ । महिलाहरुलाई सिप विकास मार्फत स्वरोजगार कार्यक्रम, अपाङ्गता भएका व्यक्तिका लागि सहयोग, मेट्रो रेलको सम्भाव्यता अध्ययन, सार्वजनिक शौचालय निर्माण तथा संचालन, शित भण्डार निर्माण, केएमसी मार्ट निर्माण तथा संचालन गर्न पनि बजेट विनियोजन भएको छ ।

मृत जीवजन्तुको अन्तिम संस्कारका लागि शवदाह गृहको निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धन, नदी नियन्त्रण तथा कोरिडोर क्षेत्रमा ढल प्रशोधन केन्द्रको निर्माण, सहरी यातायात व्यवस्थापनका लागि कम्पनी स्थापना तथा संचालन जस्ता अति महत्वपूर्ण र रणनीतिक योजना तथा कार्यक्रमहरु समेत अगाडि बढाउन बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि पारित भएको नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका एकीकृत सीप विकास कार्यक्रम, महानगर इ–लाइब्रेरी, वडा वडामा मेलमिलाप केन्द्र तथा महिला सेल गठन तथा संचालन लगायतका कार्यक्रमलाई पनि बजेट विनियोजन गरिएको डंगोलले घोषणा गरिन् । 

यसैगरी, न्यायिक समिति राष्ट्रिय सम्मेलन, वडा तहमा कानुनी परामर्श सहितको सेवाग्राही सहजता केन्द्र संचालन, इन्द्रजात्रालाई अन्तराष्ट्रिय जगतमा परिचित गराउन विशेष कार्यक्रम संचालन, अनुसन्धान तथा विकास, बाजा संग्रहालय, कला संस्कृतिको संरक्षण विशेष कार्यक्रम,आविष्कार केन्द्र, सहरी स्वास्थ्य क्लिनिकलाई सहरी स्वास्थ्य प्रबर्धन केन्द्रमा स्तरोन्नति गर्ने जस्ता महत्वपूर्ण कार्यक्रमहरूका लागि समेत बजेट बिनियोजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप