शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एकीकृत समाजवादीमा बबण्डरदेखि स्थानीय तहमा बजेटसम्म

शुक्रबार, १० असार २०७९, २२ : ३४
शुक्रबार, १० असार २०७९

आज मिति २०७९ असार महिनाको १० गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. स्थानीय तहका बजेट भाषण

शुक्रबार ६ महानगरपालिकासहित देशका ७५३ मध्ये अधिकांश स्थानीय तहले बजेट ल्याएका छन् । बजेट ल्याउँदा स्थानीय तहहरुले स्थानीय सरोकारहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । कतिपय स्थानीय तहले स्रोतको व्यवस्थापन गर्न नसक्दा चालु आर्थिक वर्षको भन्दा कम बजेट ल्याएका छन् ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा ३४ प्रतिशतले बढी बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बजेट बजेट ल्याएको महानगरले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

पूर्वाधार विकासका लागि कुल विनियोजित बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको महानगरले प्रशासनिक खर्चका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार (२०.९६ प्रतिशत) छुट्याइएको महानगरले जनाएको छ ।

यस्तै आर्थिक विकास कार्यक्रमका लागि कुल बजेटको २.२४ प्रतिशतले हुन आउने ५० करोड २१ लाख २४ हजार रुपैयाँ समेत विनियोजन गरिएको उपप्रमुख सुनिता डंगोलले बताइन् ।

स्रोत व्यवस्थापन तर्फ भने महानगरको सञ्तिकोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजार बाहेक संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँड र जग्गा एकीकरण आयोजनाहरुबाट प्राप्त हुने महानगरले जनाएको छ । यस्तो आम्दानी सञ्चित कोष बाहेक ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहने महानगरको भनाइ छ ।

​पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा ३९.८२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि महानगरले ल्याएको कुल बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ ।

यसो गर्दा अपुग हुने २ अर्ब ४० करोड ८१ लाख ८३ हजार रुपैयाँ चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट व्यहोर्ने महानगरले बताएको छ ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार महानगर उपप्रमुख चित्रसेन अधिकारीले उक्त बजेट सार्वजनिक गरेका हुन् । जुन चालु आर्थिक वर्षको बजेट भन्दा १९.३९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।​

​आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको स्रोत व्यवस्थापन तर्फ भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट १ अर्व ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त गर्ने अनुमान गरेको छ भने, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्व ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड प्राप्त गर्ने प्रक्षेपण गरेको छ ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा ४७ करोड ४७ अर्ब ७१ लाख रुपैयाँ कम बजेट ल्याएको छ । प्रदेशले आर्थिक वर्ष २०७९/८० का लागि कुल ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

बजेट कार्यान्वयनको स्रोत सुनिश्चितताका लागि प्रदेशले आम्दानी तर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरण भई आउने ४५ करोड ६८ लाख, प्रदेश सरकारबाट २ करोड ६१ लाख ९७ हजार, राजस्व बाँडफाँडबाट मूल्य अभिवृद्धि कर अन्त शुल्क गरी २१ करोड १७ लाख २९ हजार, घरजग्गा रजिष्ट्रेसनबाट ८८ करोड ८२ लाख ९३ हजार, सवारी साधन कर प्रदेशबाट प्राप्त हुने ३ करोड ९९ लाख ४७ हजार प्राप्त गरिने बताएको छ ।

यस्तै गरी सशर्त अनुदान संघीय सरकारबाट ७२ करोड १७ लाख, प्रदेश सरकारबाट ९० लाख, समपूरक अनुदान प्रदेश सरकारबाट १ करोड ४० लाख, करुणा फाउन्डेसनबाट ९० लाख, युएनएफपिए आइपास सिएमसीबाट २० लाख, सडक बोर्डबाट १ करोड ५० लाख, विशेष अनुदान ४० करोड, आन्तरिक राजस्व १ अर्ब, जनसहभागिता ८ करोड र नगर विकास कोषबाट १० करोड १९ लाख रुपैयाँ ऋण लिइने जनाएको छ ।

​वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा ६.१२ प्रतिशतले कम हो । चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । समग्र महानगरको खर्चको संरचना, स्रोतको सीमितताका कारण पनि आगामी आर्थिक वर्षका लागि महानगरले केही बजेट घटाएको देखिन्छ ।

शुक्रबार महानगरको नगरसभामा प्रस्तुत कुल बजेट मध्ये चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

​२. एमालेको अवरोध

संविधान त असार १० गते सवै स्थानीय तहले नीति तथा कार्यक्रमसहित आर्थिक बर्षको बजेट ल्याउनुपर्ने हुन्छ । सोही क्रममा आज देशका धेरैजसो स्थानीय सरकारले आगामी बर्षको नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । तर, कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरुकै अवरोध र विवादका कारण समयमा बजेट आउन सकेन ।

खासगरी नेकपा एमालेका जनप्रतिनिधिहरुको अर्घेल्याइँका कारण बजेट प्रभावित हुन पुगेका छन् । एमालेका कारण पोखरा महानगर, हेटौंडा उपमहानगर, जीतपुर सिमरा उपमहानगर र विदुर नगरपालिकाको बजेट प्रभावित हुन पुगेको हो ।

​३. एकीकृत समाजवादीमा बबण्डर

मन्त्री फेर्ने विषयमा एकीकृत समाजवादी पार्टीमा बबण्डर सुरु भएको छ । विशेषगरी पार्टीबाट मन्त्री बनेका ४ जनासहित १० सांसदले पार्टीको निर्णयमाथि नै चुनौती दिएपछि बबण्डर सुरु भएको हो।  आज बसेको पोलिटब्युरो बैठकमा यसबारे छलफल भएपनि विवाद ज्युँकात्यूँ रहेको छ भने शनिबार केन्द्रीय समिति बैठक बोलाइएको छ।  यद्यपी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोलिसम्ममा मन्त्री फेरिने जिकिर गरेका छन् । यस्तै सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

​४. संसदीय समितिको निर्देशन

संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

‘पेट्रोलियम पदार्थको चरम मूल्यबृद्धिबाट पर्न गएको असरलाई तत्काल न्यूनीकरण गरी जनतालाई राहत उपलब्ध गराउन विद्यमान अन्तर्राष्ट्रिय परिवेशबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुने अवधिसम्मका लागि नेपाल सरकारले नेपाल आयल निगमसँग विभिन्न शीर्षकमा लिँदै आएको करलाई ५० प्रतिशतले घटाउन निर्देशन दिने’, समितिको निर्णयमा भनिएको छ ।

५. प्रधानमन्त्री बन्ने प्रचण्डको चाह

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एकपटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एकपटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको सुनाए ।

​६. नागरिकता समस्या समाधान हुने

लामो समयदेखि अल्झिएको नागरिकताको समस्या सत्ता गठबन्धनको सहमतिमा समाधान हुने भएको छ । मधेश केन्द्रित दलहरुले लामो समयदेखि नागरिकताको विषय उठाउँदै आएका थिए । नेपाल सद्भावना पार्टी नेपालका संस्थापक गजेन्द्रनारायण सिंहको पालादेखि नै मधेस केन्द्रित दलहरुले नागरिकताको विषयलाई मुल मुद्दा बनाएका हुन् । अन्ततः अहिले आएर सो मुद्दालाई समाधन गर्न दलहरु सहमत भएका छन् ।

​७.विकास बोर्ड अध्यक्ष बन्ने दौड

नेपाली फिल्म क्षेत्रमा यतिबेला चलचित्र विकास बोर्डको अध्यक्ष बन्न आकांक्षीहरुको दौडधूप सुरु भएको छ । बोर्डको अध्यक्ष पदमा नियुक्त हुन एक दर्जन फिल्मकर्मी रेसमा देखिएका हुन् । अभिनेता भुवन केसी, निर्देशक सम्झना उप्रेतीदेखि पूर्व अध्यक्ष राजकुमार राईसम्म बोर्ड अध्यक्षको दौडमा छन् । सबैले आ–आफ्नै तरिकाले लबिङ सुरु गरेसँगै बोर्ड अध्यक्षको दौड रोचक समेत हुने देखिएको हो ।

​८. सेयर बजार

शुक्रबार २ घण्टा मात्र खुलेको बजारमा नेप्से परिसूचक १३ अंक माथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.७८ अंकले बढ्दै १८६२.०६ अंकमा उक्लिएको हो । 

यसैबीच पुँजी बजार सुधारको माग राख्दै १० दिनदेखि अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । शुक्रबार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर कोइरालाले अनसन तोडेका हुन् । 

​९. रवि लामिछानेको पत्रकार सम्मेलन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै ठाउँमा स्वतन्त्र पार्टीको अभ्यास भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘स्वतन्त्र दल, स्वतन्त्र दल नेपाल, विभिन्न देशमा पनि स्वतन्त्र पार्टीको अभ्यास छ । हामीले यो सबै हेरेर दलको नाम प्रस्ताव गरेको हो ।’

​१०. र, यो पनि...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताएका हुन् । 

पछिल्लो २४ घण्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५५ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

​कुलमान घिसिङले अघिल्लो कार्यकालमा विद्युत लोडसेडिङको अन्त्य गरेको भनिएपनि कर्णालीवासी भने अझै पनि विद्युत लोडसेडिङको चर्को मार खेपिरहेका छन् । विद्युतका पुराना संरचना जीर्ण बन्दै लोडसेडिङको समस्या चर्को छ । 

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप