शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशका ९२८ मध्ये ६८१ पुस्तकालय बन्द

शुक्रबार, १० असार २०७९, २३ : ०२
शुक्रबार, १० असार २०७९

देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको  संख्या जम्मा २२७ मात्रै रहेका छन् । केही भने जेनतेन चलिरहेका पाइएको छ ।  रिड नेपाल र शान्ति भोलुन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा मन्त्रालयले गरेको सर्भेले यस्तो देखाएको छ ।

सर्भेको विस्तृत रिपोर्ट आगामी असार १५ र १६ गते हुने सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा सार्वजनिक गरिने शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले जानकारी दिए । उनले देशभरका पुस्तकालयहरूलाई ६० बढी प्रश्नहरु सोधेर सर्भे गरिएको जानकारी दिए । 

दोस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपसचिव निरौलाले हाल नेपालमा पूर्ण सरकारी अनुदानमा चलेका सार्वजनिक पुस्तकालयहरू नगन्य रहेपनि सरकारले ७५३ वटै स्थानीय तहमा सार्वजनिक पुस्तकालय खोल्ने तयारी गरिरहेको जानकारी दिए । निरौलाका अनुसार सरकारले ९८ पुस्तकालयलाई १ देखि १० लाख अनुदान दिएको छ ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै रिड नेपालका भोलाकुमार श्रेष्ठले नेपालमा स्थायी स्रोत बिनै लहैलहैमा पुस्तकालय खोलिनाले धेरै पुस्तकालयहरू लामोसमय सञ्चालन हुन नसकेको बताए । रिड नेपालले हाल नेपालका ४३ जिल्लाका ६९ ठाउँमा पुस्तकालयहरू सञ्चालन गरेको साथै, ती सबै दिगो विकासका कार्यक्रमसँग जोडिएकाले निर्वाध सञ्चालन भइरहेका श्रेष्ठले स्पष्ट पारे । 

यस्तै, शान्ति भोलुन्टियर एसोसिएसनका विनोद गुरुङले सरकारले सार्वजनिक पुस्तकालयको संख्या बढाउनुपर्नेमा जोड दिए । पुस्तकालय सर्वसाधारण जनताको विश्वविद्यालय भएको भन्दै हरेक स्थानीय तहमा पुस्तकालय खोलिनुपर्ने उनको भनाइ थियो । रिड नेपालका चिज कुमार श्रेष्ठले सरकारले अनुदानले चलेका पुस्तकालयहरू दिगो विकासका योजना र समुदायको स्वामित्व नहुँदा भटाभट बन्द भइरहेपनि रिड नेपालले ३१ वर्ष अघि देखि शुरु गरेका पुस्तकालयहरू अझैसम्म मज्जाले सञ्चालन भइरहेका बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप