शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकाले २९ वटा हरियाली पार्क निर्माण गर्ने

शुक्रबार, १० असार २०७९, २३ : ०६
शुक्रबार, १० असार २०७९

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले  सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए । गत पाँच वर्षमा महानगरभित्र आठ पार्क बनेको र छ पोखरीको पुनःनिर्माण भएको थियो । 

फोहर व्यवस्थापन गर्दै शहरलाई सफा र सुन्दर बनाउन बालकुमारीस्थित अस्थायी ट्रान्सफर स्टेशन आधुनिकीकरण गर्ने, फोहर स्रोतमा नै वर्गीकरण गर्ने, फोहर सङ्कलनमा संलग्न हुने व्यवसायीलाई दर्ता गरी अनुगमन गर्ने महानगरको कार्यक्रममा उल्लेख छ । फोहरमैला वर्गीकरण गरी कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट प्लान्टको स्थापना गरिने र फोहरको दीर्घकालीन व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अध्ययन गरिने उल्लेख छ । साझा यातायात प्रालिसँगको समन्वयमा विद्युतीय बस सञ्चालन गरिने र विद्युतीय शवदाह गृह स्थापना तथा सञ्चालनमा जोड दिइने भएको छ । 

कालोपत्र भएको सडक दुई वर्षसम्म खन्न नदिइने र कालोपत्र गर्दा जमिनमुनिको पानीको स्रोतमा ध्यान पु¥याइने महानगरको कार्यक्रममा उल्लेख छ । आगामी आवमा उच्च गुणस्तरको अपाङ्गतामैत्री पैदल यात्रुमार्ग निर्माण हुनेछ । ढल निर्माण गर्दा पानीको स्रोतमा असर नपर्ने नीतिलाई कडाइका साथ लागु गरिने र महानगरभित्रका पुराना र नयाँ ढल संरचनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्दै लगिने उल्लेख छ । परम्परागत राजकुलो टीकाभैरवबाट लगनखेलसम्म ल्याउन डिपिआर गरिनेछ भने ढुङ्गेधारा, इनार, पोखरीलगायतका पानीको स्रोतको संरक्षण गरिने बताइएको छ । 

दश हजार वर्गफिट वा १७ मिटरभन्दा अग्ला भवनको निर्माणमा महानगरमा सूचीकृत परामर्शदाता मध्येबाट तेस्रो पक्ष प्रमाणीकरणको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ । नगर क्षेत्रभित्र रहेका अव्यवस्थित तारलाई सरोकारवालासँगको समन्वयमा भूमिगत गरिने उल्लेख छ ।

बुङमति र खोकनाको पुरानो बस्तीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने र अमूर्त सम्पदाको अध्ययन अनुसन्धानका आधारमा युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइने छ । पर्यटकलाई लक्षित गरी बालकुमारीस्थित पर्यटकयि बसपार्क सञ्चालन गरिने र महानगर आउने पर्यटकलाई फर्कंदा यहाँ नै निर्मित हस्तकला चिनोका रूपमा दिइने कार्यक्रम अघि बढाइने प्रमुख महर्जनले बताए । हस्तकलातर्फ महानगरपालिका वल्र्ड क्राफ्ट सिटीको सदस्य भइसकेकाले स्थानीय हस्तकला विकास, प्रवद्र्धन र बजारीकरणमा जोड दिइनेछ । 

महानगरपालिकाले ‘उपमेयरसँग महिला तथा बालबालिका कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको छ । अपाङ्गता भएका व्यक्तिलाई रोजगार तथा स्वरोजगारका लागि सूचना, सेवा तथा टेवाका लागि सीपमूलक तालिम सञ्चालन हुनेछ । स्थानीयस्तरमा खेलकुदलाई प्रोत्साहन गर्न ए, बि र सी डिभिजन फुटबल टिमलाई प्रोत्साहनका कार्यक्रम समावेश गरिएको छ । 

शिक्षातर्फ यहाँका विद्यालय प्रविधिमैत्री बनाउँदै लगिने र अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक, प्रविधि विषय अध्यापन गर्ने शिक्षकबाट विषयगत रोष्टर तयार गरिने कार्यक्रम छ । स्थानीय मातृभाषालाई प्राथमिकता दिँदै नेपाल भाषाको कक्षा आठसम्मको पाठ्यपुस्तक तयार गरी क्रमशः कार्यान्वयनमा लगिने भएको छ । 

स्वास्थ्यतर्फ महानगरभित्रका ७० वर्ष कटेका ज्येष्ठ नागरिकल, अपाङ्गता भएका र दीर्घरोगीलाई स्वास्थ्य उपचारका लागि ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरभित्रका स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा सञ्चालनका, सुशासनका लागि इरेकडिङ र रिपोर्टिङलाई चुस्त बनाउने महानगरको योजना छ । 

विपद् व्यवस्थापनका लागि खोज तथा उद्धार सामग्रीको व्यवस्थापनको कामलाई प्राथमिकता दिँदै आगामी आवमा सामग्रीको व्यवस्थापन गर्न बाँकी सबै वडामा सामग्री भण्डारण गरिने कार्यक्रममा उल्लेख छ । विभिन्न वडामा कृषि उपज प्रवद्र्धन गर्दै सम्भाव्यताको आधारमा निर्यातयोग्य कृषिवस्तुको उत्पादन बढाइनेछ । शहरी क्षेत्रमा कौसी खेती तथा सार्वजनिक जग्गामा फलफूल तथा पुष्प खेतीलाई प्रवद्र्धन गर्दै यसलाई हरियाली शहर शहरका रूपमा विकास गरिनेछ । 

पशु बीमा कार्यक्रम प्रभावकारी बनाइने र पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा सञ्चालन हुनेछ । सहकारीको अनुगमन र नियमन गरिने र वित्तीय अनुशासन र सुशासनमा जोड दिइनेछ । औद्योगिक ग्राममा पहुँच नभएका तथा समूहमा व्यवसाय सञ्चालनका लागि इच्छुक उद्यमीका लागि माग र आवश्यकताका आधारमा साझा सुविधा केन्द्र सञ्चालन गरिने भएको छ । 

महानगरले संस्थागत विकासका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । स्थानीयस्तरमा नै विवाद समाधानका लागि वडा तहमा मेलमिलाप केन्द्रको संयन्त्र तयार हुनेछ । महानगरको सङ्गठन संरचना स्वीकार गरी कार्यरत कर्मचारीको दरबन्दी मिलान गरिने भएको छ । सबै करदाताको तथ्याङ्क सङ्कलन गरी विवरण विद्युतीय माध्यमबाट डिजिटल प्रणालीमा अभिलेख राखिने र इ–पेमेन्टको नीति अवलम्बन गर्ने महागरको योजना छ । 

महानगर प्रमुख महर्जनले आफूहरु नागरिकका शासकका रूपमा नभएर सेवकका रूपमा काम गर्ने बताए। दोस्रो कार्यकाल सकिएपछि पुनः नगर प्रमुखको उम्मेदवार बन्न नपाउने र आफूलाई अझ अघि बढ्न पनि राम्रो काम गर्नुपर्ने उनले बताए ।

नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले निर्धारित समयमा नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुँदा समयको चाप भएको बताइन् । आगामी आवमा महानगरले जनमुखी र परिवर्तनमुखी कार्यक्रम समावेश गरेको उनको भनाइ छ । 
महानगरले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आवका लागि रु छ अर्ब ३५ करोड ३५ लाख तीन हजारको बजेट व्यवस्थापन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप