ad
x
सम्झना

झर्रोवादी आन्दोलनका एक खम्बा ताना शर्माको सम्झना

person explore access_timeअसार ११, २०७९ chat_bubble_outline0

तारानाथ शर्मा आज हामीबीच छैनन् तर उनले नेपाली भाषा–साहित्यमा छोडेर गएको झर्रोवादको गहिरो छाप भने छँदैछ । शर्माले बनारस बस्दा होस् या नेपालमा सदैव नेपाली भाषाको उन्नयन र प्रवर्द्धनमा जीवनभर लागिरहे । घनघस्याको उकालो काट्दा, बेलायततिर बरालिँदा र पाताल प्रवेश हुँदा पनि उनी निरन्तर नेपाली भाषाकै उन्नयनमा लागेका थिए । 


उनी आफ्नो नाम तारानाथलाई छोट्याएर ताना पनि लेख्थे । उनी र उनको समूह अर्थात् बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, कोशराज रेग्मी, चूडामणि रेग्मीलगायत मिलेर नौलो पाइलो (२०१३) मार्फत् झर्रोवादी आन्दोलन सुरु गरेका थिए । त्यो आन्दोलन नेपाली भाषालाई मानक बनाउने एउटा मियो थियो । यही आन्दोलनमार्फत् उनीहरूले हेपिएको नेपाली भाषालाई मौलिक रूप दिन सफल भएका थिए । अझै पनि त्यो अभियान प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपाली भाषीहरूबीच चलिआएकै छ । 



तारानाथ शर्मा लगायतले सुरु गरेको त्यो अभियान एक हदसम्म पूर्णता पाए पनि हिज्जे लेखनमा बेलाबेला विवाद हुँदै आएको छ । हिज्जे लेखनमा देखिएका समस्याबारे झर्रोवादी शर्मालाई भेट्न इच्छा जागेर आयो । र, २०७६ को असार तेस्रो सातातिर उनको घर चाबहिल पुगेको थिएँ । चाबहिल चोकबाट अलिकति पूर्वतिर गएर बायाँतिर मोडिएको एउटा सानो बाटोबाट थोरै भित्र गएपछि उनको घर पुगियो । घरको एक तलामाथि उत्तरतर्फ बैठक कोठामा हामी बस्यौँ । केही समयपछि शर्मा बैठक कोठामा आए । 

आदर्श व्यक्तित्व, सबैले विद्वान् मानेका, अनि कडा मिजासका छन् भन्ने पहिले नै चाल पाएको थिएँ । उनका कृति अध्ययन गर्दा पनि निकै कडा स्वभावका हुन् भन्ने सहजै अनुमान लाग्थ्यो । राजा महेन्द्रकै पनि आलोचना गरेका, त्यतिबेलाका साहित्य तथा नाट्य जगतका सम्राट बालकृष्ण समको चिसो चुल्हो महाकाव्यलाई ‘झुसिलो डकार’ भनेर खरो समालोचना गर्न सक्ने क्षमताले उनलाई त्यो उचाइमा पुर्याएको थियो । त्यस्ता व्यक्तित्वसँग भेट हुँदा निकै गर्व महसुस भएको थियो । स्वास्थ्यका बारेमा कुरा हुँदा उमेरगत समस्या बाहेक केही छैन भन्थे उनी ।

उनको दैनिकीबारे जिज्ञासा राखेको थिएँ । उमेरका हिसाबले ८६ वर्ष पुगेको मान्छेले बाहिरफेर हिँडडुल गर्ने, साहित्यिक कार्यक्रममा जाने अवस्था उनको थिएन । उनी भन्थे, “यो बुढेसकालले पो वितायो त हौ, ८६ वर्ष पुगेँ । यो उमेरको मान्छे सक्रिय हुन पनि सकिँदो रहेनछ । निद्रा लागिरहन्छ । तपाईंहरू नआउनुभएको भए म सुतिसकेको हुनेथिएँ ।” त्यतिबेला उनको दैनिकी नै सुत्ने, उठ्ने चियासिया खाने, पत्रपत्रिका पढ्ने, अरू केही नयाँ किताब आए भने पढ्ने गरेर बितेको बताउँथे । केही लेख्दै हुनुहुन्छ भन्ने प्रश्नमा ‘अहिले केही पनि लेख्दै छुइनँ । योभन्दा अगाडि नेपाली साहित्यको इतिहास लेख्दै थिएँ, त्यो सकिहालेँ’ भनेका थिए ।  

एक जनमानाका त्यस्ता सक्रिय व्यक्ति उमेरले गलाउँदै लगेपछि कृति र कीर्ति पनि छायाँ पर्दै जाँदो रहेछ । यो कुरा उनका अभिव्यक्तिबाट प्रष्ट देखिन्थ्यो । उमेर छँदा भेट्न आउनेसँग कुरा गर्न भ्याइ नभ्याइ हुन्थ्यो तर शरीर गल्दै गएपछि भट्न आउनेहरू पनि गल्दै जाँदा रहेछन्, ज्यादै थोरै साहित्यकारहरू मात्र आउने गरेको उनी बताउँथे । यो अनुभव उनको मात्र होइन, जीवनका उत्तरार्द्धको समयमा प्रायः सबै सबैको भोगाइ हुन सक्छ । 

अङ्ग्रेजी भाषाका प्रखर ज्ञाता भएर पनि नेपाली बोल्दा शुद्ध नेपालीमै बोल्ने र अङ्ग्रेजीमा कुरा गर्दा शुद्ध अङ्ग्रेजी नै प्रयोग गर्ने अद्भूत क्षमता उनमा थियो । बोल्दा कहिल्यै अन्य भाषाका शब्द मिसिएर आउँदैन थिए । नेपाली मौलिक शैली र गाउँका ठेट शब्द उनका अभिव्यक्तिमा आउँथे । 

उनका समयमा नेपाली भाषामा एकरूपता कायम गर्न आन्दोलनहरू भए । विभिन्न सेमिनार,  छलफल र गोष्ठी भए । ती गोष्ठीले पनि विभिन्न सामग्री उपलब्ध गराए तर स्तरीय मानकमा एकरूपता कायम हुन सकेको देखिँदैन । कतिपय नेपाली भाषाका विद्वान् भनिनेहरूबाट पनि नेपाली भाषा शुद्ध लेख्न नसकेको देख्दा पीडाबोध भएको बताउँथे । विद्वान्लाई शुद्ध रूपमा लेख्नुपर्यो भनिहाल्न पनि नसकिने तर विद्वान् चाहिँ भन्नैपर्ने बाध्यता पहिले मात्र होइन, अहिले पनि उस्तै छ भन्थे । 

शर्मालाई कुनै ठूलो भाषाले सानो सङ्ख्यामा रहेको भाषालाई दबाएको मन पर्दैन थियो । अङ्ग्रेजी सबैले जान्नुपर्छ भन्ने छैन भन्थे उनी तर अङ्ग्रेजी नै ज्ञानको गुदी हो भन्ने भ्रममा धेरै छन् । यसरी नै अङ्ग्रेजी, संस्कृत र हिन्दीले नेपाली भाषालाई धेरै प्रभावित पारेको छ । नेपालीमा यी भाषाका शब्द जति बढी प्रयोग गर्यो, त्यति नै विद्वान् भइने भ्रम कतिपयको छ । उनी भन्थे– “त्यो किन गर्नु ? नेपालीका नै आफ्ना झर्रा शब्द छन्, तिनको प्रयोग गर्नुपर्छ । नेपालीकै आफ्नै झर्रा शब्दहरू प्रयोग गरौँ भन्ने मेरो ध्येय हो ।”

उनको यौवनकालमा गरेका सम्झँदा गर्व गर्नलायक प्राज्ञिक उपलब्धि धेरै छन् ।  उनको सार्वजनिक साहित्यिक यात्रालाई हेर्दा पहिलो सिर्जना निबन्ध हो । २००८ सालमा दार्जिलिङबाट प्रकाशन हुने ‘साथी’ साप्ताहिक पत्रिकामा उनको ‘इलाम’ शीर्षकमा निबन्ध छापिएको थियो । यहीँबाट उनी सार्वजनिक साहित्यमा पाइला राखेका थिए । यसपछि उनले खर्साङमा रहँदा ‘आह्वान’ नामको हस्तलिखित पत्रिका प्रकाशन गरेका थिए । कृति प्रकाशनगत हिसाबले उनको पहिलो पुस्तक भने ‘नमस्ते’ निबन्ध सङ्ग्रह (२०१८) हो ।

उनका समालोचनाहरूमा घोत्ल्याइँहरू, भानुभक्तदेखि तेस्रो आयासम्म, सम र समका कृति आदि हुन् । यसका अतिरिक्त नेपाली साहित्यको इतिहास, नेपाली साहित्यको ऐतिहासिक परिचय छन् । निबन्धहरूमा सुम्पन ल्याएँ, नमस्ते, जमर्काहरू, श्रद्धाका सुमन, बेलाइततिर बरालिँदा, पाताल प्रवास, जीवनका छाललगायत छन् । उपन्यासहरूमा सुली, मेरो कथा, ओझेल पर्दा, झझल्को, नेपालदेखि अमेरिकासम्म र पश्चिमका केही महान् साहित्यकार लगायत करिब १३६ वटा पुस्तक प्रकाशित छन् ।

शर्माले ‘बेलाइततिर बरालिँदा’ निबन्धका लागि २०२६ सालको मदन पुरस्कार पाएका थिए । निबन्ध सङ्ग्रहमा मदन पुरस्कार पाउने यो पहिलो कृति हो । यसै गरी उनले ‘सम र समका कृति’का लागि साझा पुरस्कार २०२९, रत्नश्री स्वर्णपदक २०२३, सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार २०३९ लगायत थुप्रै पुरस्कार र सम्मान हात पारेका छन् ।

यसरी बने झर्रोवादी

तारानाथ शर्मा १९९१ असार ९ गते इलामको बरबोटेमा जन्मिएका थिए । उनको सङ्गत भाषाकै क्षेत्रमा काम गर्ने महानन्द सापकोटासँग भएको थियो । सापकोटाको ‘नेपाली जनजिब्रोले जस्तो बोल्छ, त्यस्तै लेख्नुपर्छ’ भन्ने मान्यताबारे उनले अध्ययन गरे । ठेट नेपाली प्रयोग गर्ने अर्का व्यक्तित्व सन्तज्ञान दिलदास रुम्जाटारमा जन्मिए पनि इलाम गएर बसेका थिए । ठेट नेपालीमा लेखेका उनका भजन पनि तारानाथ शर्माले अध्ययन गरे । अध्ययनका लागि उनी दार्जिलिङ गए । त्यहाँ गङ्गाप्रसाद प्रधान, टर्न बुललगायतले प्रयोग गरेको नेपाली भाषाबारे अध्ययन गर्ने मौका पाए । यो परिवेशले उनलाई नेपाली भाषाको मिठास, मौलिकपनको पहिचान दिलायो । यही क्रममा उनले धेरै समय आफ्नो थर शर्मालाई सर्मा लेखे । प्राडा माधव पोखरेल भन्छन्– “इलामको त्यो भाषिक वातावरण, सन्तज्ञान दिलदास, महानन्द सापकोटा, टर्न बुल आदिको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव तारानाथ शर्मालाई सानैदेखि परेको हुनुपर्छ । यस परिवेशले संस्कृत प्रधान नेपाली भाषा र अङ्ग्रेजी प्रधान नेपाली भाषाका ठाउँमा नेपालीले कसरी बोल्छन्, त्यस्तै भाषा लेख्य रूपमा कैद गर्नुपर्छ भन्ने उनलाई भयो ।” 

शर्मा अध्ययनकै सिलसिलामा काशी पुगे । काशीमा बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, चूडामणि रेग्मी, कोषराज निरौला लगायतसँग उनको  सम्पर्क भयो । उनीहरू पनि नेपाली भाषाका क्षेत्रमै काम गरिरहेका थिए । बालकृष्ण पोखरेलले पनि शर्मालाई नेपाली भाषा जनमनको भाषा हो, अङ्ग्रेजी, हिन्दी जस्तो होइन, हामीले चोखो नेपाली लेख्नुपर्छ भने । 

काशीमा बीए अध्ययन गर्न गएका शर्मा सोही समयमा सङ्खुवासभाका कोषराज रेग्मी, गणेशप्रसाद भण्डारी, चूडामणि रेग्मीलगायतले एउटा साहित्यिक पत्रिका ‘नौलो पाइलो’ प्रकाशन गर्ने भनेर पैसा उठाएर बनारस पुगेका थिए । ठेट नेपाली भाषाको राम्रो ज्ञान भएकाले तारानाथ शर्मालाई त्यसको सम्पादकको जिम्मेवारी दिए । यही पत्रिकामार्फत् झर्रोवाद प्रयोग हुँदै हुर्कने, बढ्ने र फैलिने मौका पायो । 

तर तारानाथ शर्मा झर्रोवादको प्रवर्तक भनेर बालकृष्ण पोखरेललाई मान्थे । उनले नै भनेका छन्– “हामीले नौलो पाइलोका अतिरिक्त धेरै किताबहरू निकाल्यौँ । अहिलेसम्म १३६ वटा किताब त मेरा मात्रै छन् । तसर्थ झर्रोवादको जस मलाईभन्दा बालकृष्ण पोखरेललाई दिनुपर्छ । किनभने बालकृष्ण पोखरेलको शब्द हो झर्रोवाद । उहाँको शब्द मैले मनपराएको हो । मनपराएपछि हामीले मिलेर काम गरेको हौँ ।”

नेपाली भाषालाई एकदम माया गर्नुपर्छ, शुद्धसँग लेख्नुपर्छ । भरिसक्य नेपालीमा झर्रा शब्दहरू प्रयोग गर्नुपर्छ भन्थे उनी । जनताले बुझ्ने शब्दहरू प्रयोग गर्नुपर्छ । बढी विद्वान् बन्नु हुँदैन, त्यसो हुँदा मान्छेले बुझ्दैनन् । जनताले बुझ्ने खालको भाषा प्रयोग गर्नुपर्छ भन्थे उनी ।  २०७८ फागुन ३ गते ८७ वर्षको उमेरमा उनको निधन भयो । आज उनी हामीमाझ छैनन् तर उनले नेपाली भाषा साहित्यमा छाडेको छाप सदा रहिरहने छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।