शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृति चर्चा : ‘विद्रोहका तरङ्ग’मा डुबुल्की मार्दा

शनिबार, ११ असार २०७९, ०७ : १८
शनिबार, ११ असार २०७९

नेपाली साहित्यमा मुक्तक लेखन परम्परा पुरानै भए पनि कलम चलाउनेहरूको सङ्ख्या चाहिँ ज्यादै कम देखिन्छ । मुक्तकका सङ्ग्रह प्रकाशित गर्ने साहित्यकारहरू औँलामा गन्नुपर्ने अवस्था छ र यसैभित्र कवियत्री कल्पना पौडेल ‘जिज्ञासु’ पनि पर्दछिन् । उनको विद्रोहका तरङ्ग नामक मुक्तक सङ्ग्रह २०७७ सालमा प्रकाशित भएको छ । कल्पना फाउण्डेसन नेपालले प्रकाशन गरेको यस संग्रहभित्र २३६ वटा मुक्तक समेटिएका छन् । कल्पनाले मुक्तक लेखेर जीवन, समय, प्रकृतिलाई गाँसेकी छिन् । जहाँ सरल भाव, अनुभूति र बिचार सङ्ग्रहभित्रका मुक्तकमा रहेका छन् । सङ्ग्रहको नामअनुसार नै यसभित्र मुक्तकहरू समावेश  गरिएका छन् ।

सङ्कटमा छ देश हाम्रो पार लाउनुपर्छ
देशद्रोहीलाई समातेर मार लाउनुपर्छ
स्वाभिमान उच्च राख्दै जोगाऔं मातृभूमि
सिमानाका चार किल्लामा बार लाउनुपर्छ ।

विद्रोहका तरङ्ग मुक्तकसङ्ग्रहभित्र देश, समाज, प्रकृतिप्रेम, अध्यात्म चिन्तन, मित्र महत्व, हाम्रो संस्कृति र संस्कार, कानुन, भोक रोग र अभाव गरिबीहरु पनि पाइन्छन् । यसभित्र हामीले भोगेका विविध तमासा छन् । उनका हरेक शब्दहरू फगत अक्षरका तास नभएर भर्भराउँदा विचारका लप्का हुन् । उनका मुक्तकहरूले विचार र भावको तलाउमा झ्वाम्म ढुङ्गा हानेर तरङ्ग उठाउने गर्छन् र झङ्कृत मनको अन्तिम किनारासम्म तरङ्ग विस्तारित गर्दछन् । जीवन, चेतना र भावको सम्बन्धको सन्तुलनको खोजी गरेर जीवन दर्शनको अर्थपूर्ण निष्कर्षसहित दृष्टिकोण दिन्छन् । 

एउटा सामान्य विषयलाई पनि मुक्तकको विषय बनाएकी छिन् मुक्तककारले । सङ्ग्रह भित्रका मुक्तकहरुमा विषयगत विविधता पाइन्छ । थोरैमा धेरै कुरा भन्न सकिने भएकाले नै नेपाली साहित्यको मुक्तक विधा अहिले सर्वाधिक लेखिने विधा भएको छ । स्रष्टाहरु निरन्तर मुक्तक सिर्जनामा लागेका छन् । सूक्ष्मतामा सम्पूर्णमा मुक्तकको विशेषता हो । मुक्तक भनेको टुक्का होइन, गफ र शब्दको थुप्रो पनि होइन ।

फर्कौ साथी अब हामी आफ्नै बाटोमा

स्वदेश सिँगारौ परदेशको साटोमा

जातीयताको निहुँमा देश खण्डित हुँदैछ

नेपाल आमा रुन्छिन् सन्ततिको फाटोमा ।

कवितालाई निचोरेपछि मात्र मुक्तकको जन्म हुन्छ । आफूले भन्न खोजेको कुरालाई चार हरफमै लेख्नु पर्ने हुँदा साहित्यका अन्य विधाभन्दा यो विधा चुनौतीपूर्ण त हुन्छ नै । त्यसो त एउटा सानो मुक्तकभित्र सिङ्गो ब्रह्माण्ड नै अटाउन सक्छ । जीवन र जगत्सँग सम्बन्ध गाँसिएका मुक्तक रचनाहरु सङ्ग्रहित यस कृतिले मुक्तक लेखनका क्षेत्रमा थप योगदान गरेको छ । 

कविताको सबैभन्दा लघुतम रुपलाई मुक्तक काव्यको रुपमा चिन्ने गरिन्छ । हरेक साहित्यिक रचनामा मानव चरित्र र क्रियाकलाप चित्रण गरेजस्तै मुक्तक काव्यमा पनि व्यक्ति, समाज, वातावरण र मानव समाजसँग सम्बन्धित अनेक पक्षलाई नै समेटेर सिर्जना गरिएका  हुन्छन् । मुक्तककार कल्पनाले सिर्जनामा बिम्बको राम्रोसँग प्रयोग गरेकी छिन् । विषयवस्तु प्रभावकारी ढङ्गले प्रस्तुत गरेकी छिन् । जसका कारण मुक्तक पठनीय हुनमा सुगन्ध थपेको छ ।

उनको माया कसैसँग सक्दिन दाँज्न मैले

रम्दैन मन कतै पनि बिर्सिसके हाँस्न मैले

मेरो प्राण जिन्दगी नै उनी हुन् मनले भन्छ

टाढा हुँदै गए भने कहाँ सक्छु र बाँच्न मैले ।

यसभित्र उनिएका मुक्तक पढ्दा मन छुने र पढ्दै जाँदा अरु पनि पढौं पढौं लाग्ने हृदयस्पर्शी, मनमोहक र हृदयलाई उद्धेलित गर्ने क्षमताका शब्दलाई सलाम भन्न मन लाग्छ ।  साकाहारी दसैँ पर्व बनाउन सकौं, हत्या बिनाको दसैँ मनाउन सकौं उनले मुक्तकमा लेखेकी छिन् । बदलिन्छ रुप जिन्दगीको साथ कसैको जुटेपछि, हौसला र प्रोत्साहनका बुलन्द आवाज फुटेपछि कल्पनाले मुक्तकमा बोलेकी  छिन् । उनको मुक्तक सङ्ग्रहमा ब्यङ्ग्यप्रधान मुक्तकको बाहुल्य रहेको छ । भन्न सुन्न नसकिने पीडादायी तनाव छ, जसरी पनि बाँच्नु पर्ने जिन्दगीको दबाब छ उनले मुक्तकमा लेखेकी छिन् ।  

मुक्तककार कल्पनाका मुक्तक पढ्दा लाग्छ– खारिएको कलम यतिञ्जेल कहाँ सुस्ताएको थियो ? पाठकको मनमा यही खुल्दुली जगाउँछ । कविले लेख्ने भनेको समय र जिन्दगी नै हो । यस  सङ्ग्रहका मुक्तकले लेख्न बाँकी वmुनै विषय छोडेको छैन । नेपाली मुक्तक साहित्यको भीडहरूका बिचमा अलग्गै पहिचान बनाउनु समकालीन लेखनको चुनौती पनि हो । सरल विषयलाई पनि बहुअर्थी गहन अभिव्यक्ति दिनु उनको मुक्तकिलो खुबी हो ।

कम खर्चिलो तरिकाले तीज पर्व मान्नुपर्छ

तडकभडक गर्नु हुन्न सादा जीवन छान्नुपर्छ

पुँजीपति सामन्तीको देखासिकी नगरौं हैं

घाँटी हेरी हाड निलौ संस्कृति पनि धान्नुपर्छ ।

 नेपाली मुक्तकको प्रमुख प्रवृत्ति प्रणय अनुभूति पनि हो । मुक्तककार कल्पना प्रणय अभिव्यक्तिका कुशल शिल्पीका रुपमा दरिएकी छिन् । आफूले भोग्दै आएको र आफूमा भएको पीडा, देशले भोगेको अव्यवावहारिक समस्या, समाजको चित्रण आदिको बारेमा व्याख्या गर्दै गहकिला मुक्तक उनले लेखेकी छिन् । धेरैले बोल्न नसकेका र नपाएका कुरा कल्पनाका मुक्तकले बोलेका छन् । 

आफ्नो सुकोमल मुक्तकमा मुक्तककार कल्पनाको मीठो र गहकिलो मुक्तक यात्रा आगामी दिनमा सबल र सफल बन्ने नै छ । उनका मुक्तक सुन्दर छन् र विविधताले भरिएका छन् । विद्रोहका तरङ्ग नामक यस मुक्तक सङ्ग्रहभित्रका भावभङ्गी र अस्तित्व सबै लालित्यले भरिपूर्ण पारेकी छिन् कल्पनाले ।

सँगालेर राखेको छु तिमीले दिएका फूलहरु

यसै गरी फुटाइ दिनु माया प्रेमका मूलहरु

सकिनँ भने मैले तिमीलाई खुशी राख्न

माफ गर्नु प्रिय, मेरा अञ्जानका हुन् भूलहरु ।

  सबै क्षेत्रमा सुधार र समृद्धिको चाहना राखिएको यो कृति देशको मौलिक स्वरुप  हो । उनका मुक्तकभित्र उठाइएका प्रश्नहरु सबै देशप्रेमी नागरिकका प्रश्न हुन् । सारमा भन्दा जीवनका यथार्थहरु जे जस्ता छन् तिनलाई त्यस्तैमा प्रकट गर्दाको मौलिक स्वरुप उनका मुक्तकहरुको मुख्य विशेषता   हो । तर, कतिपय मुक्तक भने सायरी शैलीमा सिर्जिएका पनि देखिन्छन् । भावी साहित्यिक लेखनमा कवियत्री कल्पनालाई सफलताको कामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप