शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘भेटमा तपाईंका गीत गाएरै हामी कम्युनिस्ट भएका हौँ भन्छन् तर व्यवहारमा कसैले हेरेन’

शनिबार, ११ असार २०७९, ११ : १९
शनिबार, ११ असार २०७९

जनवादी गायकको परिचय छ रामेशको । नेपाली सङ्गीत क्षेत्रमा राल्फा समूह बनाएर उनले तरंग ल्याए । रामेशको खास नाम रामेश्वर श्रेष्ठ हो । उनका पिता माल अड्डाका हाकिम थिए । त्यसैले नेपालका अधिकांश जिल्ला घुम्न र जनताको अवस्था बुझ्ने अवसर पाएका थिए उनले ।  गीत संगीतमा रुचि राख्ने उनी विसं २०१९ मा रेडियो नेपालमा राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा भाग लिई सङ्गीत क्षेत्रमा चर्चामा आएका थिए । 

गीत सङ्गीतबाट चेतना फैलाउने उद्देश्यले खोलिएको राल्फा समूहमा गीतकार तथा कवि मञ्जुल, लेखक तथा गायक गणेश रसिकलगायत संलग्न थिए । जनता पञ्चायती कालकोठरीमा रहेका बेला उनले जनचेतना फैलाउने गाउँ गाउँबाट उठ, आऊ मिलाऊँ हाम्रा हातहरू, सुनको बिहान, गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन, कोही त भने जहाजमा हरर जस्ता सयौँ जनवादी गीत गाएका छन् । यसै गरी चलचित्र बलिदानको पटकथा संवाद लेखेका र त्यस चलचित्रको सङ्गीत र पाश्र्व गायनसमेत उनैले गरेका थिए । उनको गायन यात्रा समेटेर डढेलोभित्रको सतिसाल नामक वृत्तचित्र पनि निर्माण भएको छ । तर गणतन्त्र आएपछि उनी र उनका गीतहरू ओझेलमा परेका छन् । सुनको बटुको बोकेर भीख माग्न बसेको अवस्थामा सत्ताधारीहरूले पुर्याएको तिक्तता पोख्छन् उनी । प्रस्तुत छ, आजको देशको अवस्था र समय सन्दर्भलाई लिएर रामेशसँग रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानीको सम्पादित अंश : 

–पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? कतै देखिनु हुन्न नि ?

देशभित्रै छु । देशको कल्याण होस्, जनताको जीवन समृद्ध, सम्पन्न र सम्मानित होस् भनेर हामीले गीत गाउन थालेको ५५ वर्ष भइसक्यो । आधा शताब्दी यसैमा जीवन विताइयो । अहिले पनि त्यही काममा छु । हामी गीतहरू गाइरहेका छौँ, रेकर्डिङ गरिरहेका छौँ, युट्युबमा राखिरहेका छौँ । निरन्तर आफ्नो काम गरिरहेका छौँ । सार्थक एकेडेमी नेपालको युट्युबमा हाम्रा गीतहरू आइरहेका छन् । नयाँ गीत पनि बनाइरहेका छौँ । तर कसैले हेर्दैनन्, वास्ता पनि गर्दैनन् । 

यस्तो बेवास्ता किन भएको होला ?

हामी कुनै पार्टीका होइनौँ । एमाले, माओवादी, काँग्रेसको भए तिनले प्रचार गर्थे होलान् । पछिल्लो अर्को खेमामा गएकाहरूको भए उसले पनि प्रचार प्रसार र स्थान दिन्थ्यो होला । तर हामी जनतामा भएको हुनाले जनताका अवस्था जे छ, त्यस्तै अवस्थामा छौँ । 

जनता सर्वशक्तिमान छन् । जनतालाई यो देशको मालिक बनाउनका निम्ति हामी निरन्तर आफ्नो क्षेत्रबाट लागिरहेका छौँ । अब जनताको नेतृत्व, निगरानी र निर्देशनमा देश अगाडि बढ्नुपर्छ । देशको सेवा गर्छु भन्नेहरूले यही सूत्रलाई समातेर अगाडि बढे भने देश बन्छ । तर आफ्नै लागि मात्र सबै सिद्धान्त कहिले उठाउने, कहिले चिथर्ने, कहिले यता उता दगुर्याउने, खेदाउने, तर्साउने, लोभ्याउने, धम्क्याउने, अलग्याउने जस्ता कामबाट देश बन्नेवाला छैन । नयाँ पिढीले बुझेका छन् यी कुरा । त्यसकारण हामी हाम्रो क्षेत्रमा शिर उच्च पार्न, सुदिन ल्याउन इमानदारसाथ लागिरहेका छौँ ।  

–तपाईंले कति गीत रेकर्डिङ गर्नुभयो, कति एल्बम निकाल्नुभयो ?

हामीले गाएका गीतहरूलाई सीडीमा राखियो भने एल्बम हुने हुन् । ती गीतलाई लिरिकल बनाएर युट्युबमा राखियो भने सबैले हेर्न पाउँछन् । अहिले युट्युबको जमाना हो । गीत, एल्बम गनिएन । सञ्चार माध्यम अब जनताको हातमा आएको छ । पहिले पहिले सरकारका हातमा, ठूलाठूला कर्पोरेट हाउसका हातमा हुन्थ्यो, उसले नियन्त्रण गथ्र्यो । अहिले जनताको हातमा आएको हुनाले नै छिटो छिटो परिवर्तन गति अगाडि बढिरहेका छन् ।

–गीत रेकर्डिङ, एडिटिङ गर्न पनि त अर्थ हुनु पर्यो । त्यसको व्यवस्थापन कसरी हुन्छ ?

दुःखसुख गरेर आफैँले कमाएको पैसा आपसमा उठाएर त्यसको व्यवस्था गर्दै आएका छौँ । कसैसँग आर्थिक सहयोग मागेका छैनौँ । दिन्छु भन्नेसँग पनि लिएका छैनौँ । राम्रो काम गर्नेहरूलाई स्टुडियोहरूले पनि सहुलियत दिएका छन् । उहाँहरूले पनि बाँच्नुपर्छ, स्टुडियो चलाउनुपर्छ भनेर न्यूनतम लागत अनिवार्य दिने गरेका छौँ । त्यसै त हामी गर्दैनौँ भन्छौँ । सद्भावपूर्वक काम गरेका छौँ । 

–पहिलेको राल्फाजस्तै तपाईं संग्लग्न अहिले पनि कुनै समूह छ ? 

सार्थक जनसांस्कृतिक प्रतिष्ठान हामीले खोलेका छौँ । सार्थक एकेडेमीले जनताकै गीत गाउँछ । अहिले जनताको नाम त ठग्नका लागि मात्र प्रयोग भइरहेको छ । तर हामीले जनताका आवाजहरूलाई, जनताका हित हुने कुरा, हाम्रो प्रकृति, भावना र आवश्यकतालाई हामीले गीतमा गाएका छौँ । सयौँ गीत युट्युबमा छन् ।  

–गाउँ गाउँमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै हिँड्नु भएको थियो । त्यो दुःखले अहिले कति उपलब्धि पाएको जस्तो लाग्छ ? 

उपलब्धि धेरै भएको छ । यति धेरै जनता सचेत भएका छन् । देश हाम्रो हो भन्ने बुझेका छन् । विदेशमा गएर दुःख गरेर काम गर्दा पनि नेपाल सम्झेका छन् । विदेशमा गएर काम गर्दा कमायो, खायो, विदेशीकै मात्र सेवा गर्यो, आफ्ने घरपरिवार भनेपछि कमाएको धन सकिन्छ भनेर मान्छेले बुझिसके अब । आफ्नो देश नै चाहिन्छ भनेर अब बुझिसके । देशप्रतिको माया, मोह, श्रद्धा, आवश्यकता, देशको परिचय, अब त जनताले पाए । कति समृद्धशाली रहेछ आफ्नो देश भनेर थाहा पाए । यहाँ त अवसर नदिएर पो हामीले दुःख पाएका छौँ । 

नेपालमा पर्यटन क्षेत्रमा करोडौँ मान्छे भित्र्याउन सकिन्छ । हाम्रा धार्मिक, सांस्कृतिक सम्पदा हेर्न अनेकौँ मान्छे आउँछन् । तर हामीलाई सुनको बटुको बोकेर भीख माग्न बसेको अवस्थामा पुर्याएका छन् यी सत्ताधारीहरूले । विदेशीहरूको सेवा गरेर बक्सिस खाएर बस्न चाहनेहरूले हाम्रो देश भत्काएका बिगारेका छन् । अब नयाँ पिढी र इमानदार देशभक्त जनताको सेवा गर्ने भाव भएका मान्छे आएर देश बनाउँछन् भन्ने पूर्ण विश्वास छ । 

तर अहिले यो देश युक्रेन हुने अवस्थामा छ । किनभने अमेरिकी सेना पनि नेपालमा आइसक्यो र चीनले पनि सेना पठाउँदैछ अब । उसले पनि विधेयक पास गरिसकेको छ । अब नेपाल युद्धभूमि हुने भयो । यसलाई रोक्नक हामीले के कसो गर्नुपर्छ ? त्यसका लागि नेपाली जनता एकजुट भएर विदेशीहरूको चलखेल रोक्न करोडौँ जनता एक स्वरले, एक मुखले, एक मनले उठ्नु पर्यो । देशलाई बर्बाद हुन नदिन सबैले जीवनकै महत्त्वपूर्ण काम गर्नु पर्यो ।  

–कला, संस्कृतिप्रति सरकारको चरम लापरवाही छ भन्ने तपाईंको अभिव्यक्ति सुनिन्छ । कस्तो खालको लापरवाही हो ?

धेरै लापरवाही भएको छ । देशका राम्रा कलासंस्कृतिहरू माथि उठाउन चेतनाका गीत, जनता जागरुक बनाउने गीत जनतालाई दिशानिर्देश गर्ने गीतलाई उठाउनका निम्ति केही गरिएको छैन । ती गीतमार्फत् अहिले सत्तामा पुगेका छन् हाम्रा बामपन्थी साथीहरू । हरेक पटक मलाई भेट्दा तपाईंका गीत गाएर नै हामी कम्युनिस्ट भएका हौँ भन्छन् । 

त्योबेला कम्युनिस्ट पार्टी बदनाम अवस्थामा थियो । कम्युनिस्टले बूढाबूढी मार्ने, बिहे नै नगर्ने, छोराछोरी नचिन्ने, ठूला ठूला टहरामा बस्ने भनेर राणाकालदेखि नै बदनाम भएको समयमा कम्युनिस्टलाई लोकप्रिय बनाउने गीत गाएर त्यही अनुसारको चरित्र कायम गरेर जनताको मन जितेर मार्क्सवादी कम्युनिस्ट शक्तिलाई लोकप्रिय बनायौँ । तिनै गीतबाट जनसम्पर्क जनचेतना बढायौँ । अहिले आएर ती गीतलाई अमान्य बनाउने, ती गीत के हुन् र भन्ने खालका अपराध गरेका छन् । त्यसकारण यो ठूलो विश्वासघात भयो । गीत भनेको एउटा सेवा गर्ने माध्यम मात्र हो । ती गीतमाथि अन्याय गरेर आज आफैँ दुर्नामी भएर बस्नु परेको छ । 

हाम्रा गीत अझै पनि ज्युँदा छन् र बजिरहेका छन् । हामी मरेर गए पनि यी गीतले जनताको सेवा गरिरहने छन् । देशको सेवा गर्नेछन् । यी विचराहरूले स्वार्थ सिद्धका लागि एउटा भाँडो बनाए तर त्यो भाँडो ज्यादै अमूल्य थियो । त्यसकारण यिनीहरूले विस्तारै दुर्गति भोग्दै जानेछन् ।   

–के अब जनवादी गीतको युग अन्त्य भएको हो त ?

सञ्चार क्षेत्रमा लाग्नेहरू सबै प्रेममै मात्र केन्द्रीत भएपछि त्यस्तो लागेको हो । प्रेमका लागि गीत कति लेख्ने, त्यसले के गर्छ ? त्यसले न जागिर दिन्छ, न स्वास्थ्य उपचारका लागि व्यवस्था गर्छ । बच्चाबच्ची पढाउनका लागि पनि नसक्ने अवस्था नेपाली जनताले भोगेका छन् । अनि यौन र प्रेमले भरिएका गीतले कति दिन टिक्छन् ? 

जनवादी गीतको संसार छुट्टै छ । जनवादी गीतहरू सुन्नुस्, यताको संसारमा आउनुस् त । यताको छुट्टै संसार छ । यी गीतको धेरै ठूलो महत्त्व छ । जनवादी गीतको आवश्यकता जहिले पनि रहिरहन्छ । तपाईं हामी मरेर गए पनि यी गीतको महत्त्व रहिरहन्छ । सञ्चार जगत् नै अँध्यारो सुरुङभित्र छ, त्यसबाट मुक्त भई बाहिर आउनुपर्छ । 

–धेरैले तपाईंलाई वामपन्थी गायक भन्छन् । वास्तवमा तपाईं वामपन्थी गायक कि जनताको गायक ?

म देशको गायक, श्रमजीवी, दुःखपीडामा रहेका जनताका पक्षधरमा रहेर गीत गाउँछु । त्यसकारण मलाई कुनै पार्टीको बिल्ला लगाउनै पर्दैन । मैले २०४९ सालमा माले पार्टी छोडेको हो । त्यो समयमा नै देशका लागि क्रान्ति, जनवादी सत्ता, माक्र्सवादी सिद्धान्तहरू, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद सबै कुरा पढेर हामी यता लागेका हौँ । 

नेताहरूमा व्यक्तिवाद देखेपछि मैले विरोध गरेँ । पछि मलाई माले पाटीबाट २०४९ सालमा निकालेका हुन् । त्यसपछि मेरो सिद्धान्त, मेरो जीवन यही गीतले सेवा गरेँ, जन्माएँ, हुर्काएँ । उनीहरूको हितमा म गीत गाउँछु ? तिमीहरूको पार्टीको हितमा नभए पनि जनताको काखमा बसेर गीत गाउँछु, मेरो आफ्नै विचारधाराका गीत गाउँछु भनेर आजसम्म गाइरहेको छु । मलाई आज कुनै पार्टीले लेबल लगाउनु पर्दैन । म ती जीवन, जनता र प्राकृतिक सिद्धान्तअन्तर्गत रहेर देशको सेवा गर्छु ।  

–पार्टीहरूले हामीलाई प्रयोग गरे, हाम्रै गीत सुनाएर चुनाव जिते, सरकार बनाए । तर, जनतालाई केही पनि गरेनन् भन्नुभयो, के चाहिँ गर्नुपथ्र्यो ?

आज हामीसँग खाने अन्नसमेत छैन । भारत र अन्य मुलुकले खाने अन्न रोकिदियो भने करोडौँ नेपाली भोकभोकै हुने अवस्था छ । कृषिप्रधान देश भन्छौँ, आज हामीसँग खाने अन्न छ ? राजा महेन्द्रले १०, ११ वर्षमा बनाएका ६४, ६५ वटा उद्योग कहाँ गए ? हाम्रा युवाशक्ति सबै विदेशतिर लखेटिएको छ । नागरिकता बाँडेर कहाँका नागरिकलाई देश सुम्पिँदैछ ? के गर्नुपर्छ भनेर आफैँलाई सोध्नुस् एक पटक । आफ्नो बच्चा, आमा, बा, श्रीमतीलाई सोध्नुस् एक पटक । त्यसको जबाफ सबैले दिन्छन् । त्यही जबाफ मेरो पनि हो । 

हुँदा हुँदा देशै बेच्ने ? हेर्नुस् त एमसीसी, एसपीपी भन्दै नेपालमा विदेशी सेना ल्याउने ? अब चिनियाँ सेना पनि आउँछ, अनि लडेर नेपाललाई युद्धभूमि बनाउने ? यसकारण देश जोगाउनका निम्ति सारा नेपाली एकजुट हुनुपर्ने अवस्था आएको छ । म सबैलाई अपिल गर्छु, हामीले पार्टीभन्दा माथि बसेर देशका लागि काम गर्नुपर्छ । हामीले नेपालको निम्ति नेपाली भएर काम गर्नुपर्छ । पार्टी, नेताले गर्छन् भन्ने भ्रमबाट मुक्त भएर जो राम्रो काम गर्छ त्यो हाम्रो हो, जो असल काम गर्छ, त्यो प्रजातन्त्रवादी पनि हो, राष्ट्रवादी पनि हो । अहिले बालेनहरू, हर्क साम्पाङ, राजेन्द्र लिङ्देनहरू कति चाँडो लोकप्रिय भए । उनीहरूले गल्ती गरेनन् भने अब जनताले जिम्मेवारी दिन्छन्, यो कुरा पक्का हो ।   

–गीत संगीतमा तपाईंको जीवनको केही अमिट संस्मरण सुनाइदिनुस् न ।

मेरो जन्म विसं २००१ असार ८ गते पाल्पाको तानसेनमा भएको हो । तर तेह्रथुममा धेरै सिकेँ । बा जागिरे हुनुहुन्थ्यो । त्यस क्रममा तेह्रथुम पुगेको हुँ, ८ वर्ष त्यहाँ बसेँ । २०११ सालदेखि १८ सालसम्म बसेको हुँ । तेह्रथुम हुँदा नै म सङ्गीतप्रेमी भएँ । तेह्रथुमको सिंहबाहिनी स्कुलबाट कार्यक्रम लिएर अरूतिर जान्थेँ । स्कुलमै बाजाहरू बजाउँथेँ । स्कुलकै कार्यक्रममा धेरै कुरा सिकेँ । पछि त्यहाँका जनताले गीतसङ्गीतमा एउटा मञ्च दिनुभयो, गाउनका लागि प्रोत्साहन गर्नुभयो । २०१८ सालमा मैले तेह्रथुमको मञ्चमा पहिलो गीत गाएको थिएँ । मादल, तबलाहरू बजाउँथेँ । मैले एउटा गीत बनाएको छु ‘ए तेह्रथुम तिम्रो सुमधुर सम्झना’ भनेर रेकर्ड गरेको छु । त्यो युट्युबमा पनि सुन्न सकिन्छ । त्यहाँबाटै म यो क्षेत्रमा प्रेरित भएँ । किशोरावस्थामा गरेको अनुभूति र अनुभव मेरा लागि अमूल्य छ । 

म सङ्गीत कलाको सौखिन मात्र थिएँ, यस्तो हुन्छु भन्ने थिएन । आनन्दका लागि सामान्य गीत गाउँथेँ । यसरी गाउँदै जाँदा नेपाली जीवन, जनता, देश, श्रमशील जनताको उन्नतिका लागि गाएका गीतले मलाई यस्तो बनायो । यसप्रति मलाई गौरव छ, मलाई मेरो जीवनदेखि खुसी लाग्छ । 

–सरकारले तपाईंलाई नाट्य प्रज्ञा प्रतिष्ठानमा नियुक्तिका लागि प्रस्ताव गरेको थियो तर अस्वीकार गर्नुभयो भन्ने सुनिन्छ । खास के हो ?

यस विषयमा मलाई सिधै प्रस्ताव आएको थिएन । अरू साथीहरुमार्फत् आएको हो । उहाँहरुलाई यदि त्यहाँ कुलपति भएर जाने हो भने सबै प्राज्ञहरू म राख्छु भनेको थिएँ । मेरो अध्ययनले चिनेको, मैले जाँचेका प्राज्ञहरू राख्न पाउँछु र त्यहाँका कर्मचारीले साथ दिन्छन् भने मात्र जान्छु । मन्त्री र माथिल्ला तहका मान्छेले दबाब दिन पाइँदैन । जनतासँग मिलेर, विज्ञहरूसँग मिलेर काम गर्ने वातावरण पाएँ भने जान्छु, जागिर खान मात्र जान्न भनेको थिएँ । तर कसैको हुकुम, निर्देशन र आज्ञा पालन गरेर दूषित र विषाक्त हुन जान्नँ भनेँ । 

–अहिले पनि निम्नवर्गीय धेरै मनिसहरू तपाईंहरूका गीतबाट प्रभावित छन् । तिनलाई के भन्नुहुन्छ ?

विदेश गएका दाजुभाइहरूका लागि पनि धेरै गीत गाएका छौँ । ती गीत युट्युबमा पनि छन् । आफ्नो देशभन्दा बाहिर जान बाध्य भएका नेपालीलाई अलिकति पैसा कमाउनकै लागि बाहिर जान बाध्य बनाई जुन दुर्गतिमा तपाईंहरूलाई पारे तिनीहरूलाई चिन्नुहोस् र आफ्नो देशमा फर्किनुस् भन्छु । देश भनेको जनता हो, भूमि हो, प्रकृति हो । देश दुर्गतिमा फस्यो भने तीन करोड जनताको दुर्गति हुन्छ । त्यसैले यो देशमा चीन र अमेरिकाको युद्ध हुन आँटेको छ, यसलाई टार्नका लागि सबै नेपाली जनता एक हौँ । देशभक्त नेपाली एक भएर यो युद्धको सम्भावनालाई टार्नका लागि ठूलो शक्ति लगाऔँ । जनताको हित गर्ने असल व्यवस्था ल्याउनका निम्ति असल मान्छेलाई जिम्मेवारी दिनका लागि नेपाली जनता सचेत बनौँ । खराब मान्छेलाई राजनीति गर्न नदिऔँ । युद्धको भुमरीबाट देशलाई जोगाऔँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप