शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सी हङकङ भ्रमणमा, विदेशी पत्रकारलाई रोक

शनिबार, ११ असार २०७९, १२ : ३५
शनिबार, ११ असार २०७९

चीनका राष्ट्रपति सी चिनफिङ हङकङ भ्रमणको तयारीमा छन् । बेलायतले हङकङ शहर  चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता आयोजना हुने बैठकमा सहभागी हुन उनी हङकङ भ्रमणमा निस्कन लागेका हुन् । 

कोभिड–१९ को महामारीपछि मुख्य भूमि चीनबाट उनको यो पहिलो भ्रमण हो । राष्ट्रपति सीको उपस्थितिमा हुने भव्य समारोहमा हङकङ शहरका नयाँ नेता जोन लीले शपथ लिने कार्यक्रम रहेको समाचार एजेन्सी सिह्वाले जनाएको छ ।  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं कार्यकालको उद्घाटन समारोहमा पनि सहभागी हुने छन् ।

हङकङका अधिकारीहरूले कोभिड–१९ को महामारी प्रतिबन्ध र सुरक्षा कारण जनाउँदै नयाँ नेता लीको शपथ ग्रहण समारोहको समाचार सङ्कलन गर्न  केही सञ्चार गृहमाथि प्रतिबन्ध लगाएका छन् । यद्यपि यसरी प्रतिबन्ध लगाइएका सञ्चारगृहका प्रतिनिधि नियमित रूपमा आयोजना हुने सरकारी प्रेस सम्मेलनहरूमा भाग लिने गरेका छन् ।

अधिकारीहरूले सी जिनपिङको उपस्थितिमा हुने कार्यक्रममा जापान निक्की, असाही शिम्बुन, र क्योडो न्यूज, ताइवानको सिटिभी, अमेरिकाको गेटी इमेजका साथै हङकङको इनमिडिया र हङकङ फ्रि प्रेसलाई प्रवेश निषेध गरिएको छ । हङकङ पत्रकार सङ्घले प्रशासनको उक्त निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । सङ्घले इच्छुक सञ्चारगृहका प्रतिनिधिलाई प्रवेशको अनुमति दिन आग्रह गरेको छ । जनतालाई जानकारी गराउने कर्तव्यबाट सञ्चारकर्मीलाई रोक लगाउन नहुने उसले बताएको छ ।

गत महिना राष्ट्रपति सीले नवनियुक्त हङकङ प्रमुख कार्यकारीलाई भेटेर अराजकताबाट सुव्यवस्थातर्फ हङकङ अघि बढेकामा उनलाई धन्यवादसहित बधाई दिएका थिए ।  नव नियुक्त ६४ वर्षीय नेता लीले वर्तमान प्रमुख कार्यकारी क्यारी ल्यामबाट आगामी शुक्रबार कार्यभार सम्हाल्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप