शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेथानचोकले ल्यायो ५९ करोड ११ लाखको बजेट

सुरुङ मार्गदेखि विद्युत् उत्पादनसम्मका योजना
शनिबार, ११ असार २०७९, १४ : ४६
शनिबार, ११ असार २०७९

बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५९ करोड ११ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले नीति कार्यक्रमको कार्यान्वयनका लागि विनियोजित कुल ५९ करोड ११ लाख रुपैयाँको बजेट मध्ये चालु खर्चतर्फ  ३१ करोड ५ लाख रुपैयाँ पुँजीगत तर्फ २८ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाको शुक्रबार सम्पन्न गाउँपालिकाको ११ औँ गाउँ सभामा आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको छ । पालिकाले जिल्लाकै उच्च स्थान बेथानचोक नारायणसम्म केबलकार सञ्चालन तथा प्रदेश राजधानी हेटौँडा प्रवेश गर्ने छोटो मार्ग ढुर्खक–फापरबारी–हेटौँडा सडकको दुर्लुङखोला च्याम्राङबेसी खण्डमा सुरुङ मार्गको अध्ययन र स्थानीय लड्कु खोला र च्याल्टी खोलाको पानीबाट विद्युत् उत्पादनका लागी सम्भाव्यता अध्ययन गर्ने योजना ल्याएको छ ।

जनताको असीमित इच्छा तथा आकांक्षा, समृद्धि प्रतिको उत्कट चाहानालाई सीमित स्रोत तथा साधन बिच तादात्म्य मिलाउँदै प्राथमिकताका आधारमा विनियोजन दक्षता, कार्य सञ्चालनमा प्रभावकारिता तथा आर्थिक अनुशासन मार्फत दिगो विकासको लक्ष्य हासिल पालिकाको उद्देश्य रहेको छ ।

गाउँपालिकामा सञ्चालन गर्नु पर्ने आयोजनाहरूको प्रोजेक्ट बैंक तयार गर्ने र प्रदेश तथा संघको सहकार्यमा आयोजना कार्यान्वयन पहल गर्ने योजना ल्याएको छ । गाउँपालिका प्रविधि मैत्री गाउँपालिकाको रूपमा पहिचान गराउन डिजिटल गाउँपालिकाको रूपमा विकास गर्ने, जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने, शान्ति सुरक्षा कायम गर्न , गाउँपालिकाको प्राकृतिक स्रोत साधनको रेखदेख तथा संरक्षण गर्न गाउँ प्रहरीको व्यवस्था मिलाउने, कृषि नीति , स्वास्थ्य नीति , पर्यटन नीति तर्जुमा गरी निजी क्षेत्रसँग समन्वय गर्ने नीति लिएको छ । प्रभावकारी यातायात व्यवस्थापनको लागी आफ्नो मौलिक पहिचान बोकेको बेथानचोक सफारीको व्यवस्था मिलाउने, फोहोर व्यवस्थापनका लागि वडा स्तरमा फोहोर व्यवस्थापन तथा अनुगमन समिति गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने, जैविक, अजैविक फोहोरलाई उत्पादन तह देखी नै वर्गीकरण गरी जैविक फोहोरबाट घरमै कम्पोस्ट मल बनाउन प्रेरित गर्ने योजना अघि सारेको छ ।

श्रम, सिप र उत्पादनसँग जोड्न माटो सुहाउँदो प्राविधिक शिक्षाको व्यवस्था गर्ने, शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारसँग, रोजगारलाई आयसँग, आयलाई पुँजीसँग , पुँजीलाई लगानीसँग, लगानीलाई प्रविधिसँग र प्रविधिलाई समृद्धिसँग जोड्ने शिक्षाको लागी बेथानचोक बहुप्राविधिक शिक्षालय स्थापनाको प्रयास गर्न कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।

त्यस्तै संघ सरकारसँग समन्वय गरी पढ्दै कमाउँदै कार्यक्रम सुरु गर्ने, विद्यालय तथा सरकारी भवनलाई अपाङ्गता मैत्री बनाउन प्रोत्साहित गर्ने, वृहत् विज्ञान प्रदर्शनीको आयोजना गर्ने योजनाहरू पालिकाले लिएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि ‘एक वडा एक खेल मैदान’ निर्माण गर्ने, ‘अन्तर पुस्ता सिप हस्तान्तरण’ सञ्चालन गर्ने, महिला सशक्तीकरण साथै उद्यमशीलता गर्न महिला पहिला कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

‘गाउँपालिका अध्यक्ष ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ज्येष्ठ सदस्यहरूमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने, ६० वर्ष पुगेका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने, सुत्केरी आमा पोसिलो खाना कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना रहेको छ ।

त्यस्तै पालिकाले अभिभावक विहीन बालबालिकाको संरक्षणको लागी प्रत्येक महिना प्रत्येक २ हजार रुपैयाँ संरक्षण भत्ता दिने, उद्यमशील कार्यक्रमहरू सञ्चालन गरी उत्पादित बस्तुलाई ब्रान्डिङ गर्ने भएको छ ।

गाउँपालिकालाई काठको पोल मुक्त बनाउने, कृषि योग्य जमिनको पहिचान गरी नमुना व्यावसायिक खेतीको रूपमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालनमा जोड दिने, सामुदायिक खेती, करार खेती र व्यावसायिक खेतीको व्यवस्था मिलाई जग्गा बाझो नराख्ने नीति अवलम्बन गर्ने, कृषि, पशु तथा श्रम सहकारी स्थापनामा जोड दिने, पदयात्रा पर्यटन प्रवर्द्धनका लागी महाभारत ट्रेल लागी प्रयत्न गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप