बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निजी क्षेत्र बिना समृद्धि सम्भव छैन : मुख्यमन्त्री पोखरेल

शनिबार, ११ असार २०७९, १७ : ०१
शनिबार, ११ असार २०७९

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना भएको भन्दै त्यसलाई पूरा गर्न गण्डकी प्रदेश सरकार आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म प्रतिबद्ध रहेको बताएका छन् । 

शनिबार पोखरा उद्योग वाणिज्य संघमा आयोजना गरिएको गण्डकी आर्थिक बहस २०७९ मा बोल्दै मुख्यमन्त्री पोखरेलले कोभिडले थलिएका निजी क्षेत्रहरु अहिले बिस्तारै लयमा फर्किन थालेको बताउँदै सरकारको तर्फबाट हुने सहयोग निजी क्षेत्रलाई सदैव हुने बताए । उनले समृद्ध गण्डकी प्रदेश बनाउने सरकारको सपनामा निजी क्षेत्रको सहयोग मुख्य रहेको पनि बताए । 

‘मुलुकको अर्थतन्त्रको ८० प्रतिशत निजी क्षेत्रमा आधारित छ । त्यो क्षेत्र जबसम्म जुरमुराउँदैन तबसम्म सरकार अगाडि बढ्न सक्दैन । त्यसैका लागि संविधानले जुन तीनखम्बे अर्थनीतिको परिकल्पना गरेको छ,’ उनले भने, ‘यदि यो तीनवटा खम्बाहरू मिलेर अगाडि बढ्न सक्दैनन् भने राष्ट्रिय रूपमा पनि प्रदेशमा पनि यो अगाडि बढ्ने सम्भावना छैन ।’ 

त्यस्तै, कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्ले निजी क्षेत्रको सक्रिय संलग्नता बिना विकास सम्भव नभएको बताएका छन् । निजी क्षेत्रलाई अगाडि बढ्नाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले बताए । प्रदेश सरकाले बनाएका नीति नियम तथा कानुन आर्थिक गतिविधिलाई चलायमान बनाउन र निजी क्षेत्रको प्रवर्द्धनको लागि भएको बताए ।

त्यस्तै, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले लगानीमैत्री वातावरण बनाउने दायित्व सरकारको भए पनि त्यो हुन नसकेको बताएका छन् । उनले पोखरा महानगरपालिका र प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयन गर्न कठिनाइ भएको पनि बताए । त्यस्तै, कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान) का गण्डकी अध्यक्ष जगत पोखरेलले सबै समृद्धि बन्नका लागि सबैभन्दा पहिला सकारात्मक सोचको आवश्यकता रहेको बताएका छन् । सकारात्मक सोचले नै समृद्ध बनाउने बताउँदै उनले त्यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर विकासका काममा अगाडि बढ्नु पर्ने बताए ।

त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले अनावश्यक राजनीतिक हस्तक्षेपले पर्यटन क्षेत्रमा असर पारेको बताएका छन् । हरेक कार्य गर्ने शैलीमा समेत राजनीति हस्तक्षेप भएको उनले आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप