शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका मन्त्रीहरू भन्छन्, ‘समावेशी नाम नभए स्विकारिँदैन’

शनिबार, ११ असार २०७९, १८ : ४८
शनिबार, ११ असार २०७९

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले पार्टीले नयाँ मन्त्रीका लागि सिफारिस गरेभन्दा फरक नामहरू मन्त्रीका लागि सिफारिस गर्नुपर्ने भन्दै नयाँ सुची तयार पारेका छन् । त्यो सुची पार्टीमा बुझाएको उनीहरूको भनाइ छ । हट्न लागेका मन्त्रीहरूले पार्टीले मन्त्रीका लागि सिफारिस गरेका नामहरू समावेशी नभएको भन्दै नयाँ नामको सुची तयार गरेका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री समेत रहेका नेता विरोध खतिवडाले पार्टीले सिफारिस गरेका नामहरू समावेशी नभएकाले समावेशी बनाउन नयाँ नाम सिफारिस गर्नुपरेको बताए । हट्न लागेका मन्त्रीहरुको सल्लाहमा डडेलधुराकी निरा जैरु,डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसी, ललितपुरका कृष्णलाल श्रेष्ठलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गरेका हुन् । 

‘यी बाहेक अरू नै हुँदा पनि केही फरक पर्दैन, तर समावेशी हुनुपर्‍यो किनभने हामीले पहिलेदेखि समावेशीलाई महत्त्व दिँदै आएका हौ’, मन्त्री खतिवडाले भने, ‘हामीलाई पदमा टाँसिएको भनेर आरोप लगाइयो त्यसो होइन, हामी राष्ट्रियसभा बजेट पारित हुने बित्तिकै छाड्छौ ।’, उनले ठुलै दुर्घटनाबाहेकमा सदनमा बजेट पेश भएपछि मन्त्रीले जवाफ दिनुपर्ने संसदीय व्यवस्थाको नियम भएकाले त्यसपछि आफूहरूलाई मन्त्री छोड्न कुनै समस्या नहुने बताए । 

पार्टीको सचिवालय र स्थायी कमिटी बैठकले हालका स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्ने निर्णय गर्दै जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने निर्णय गरेको थियो । साथै हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

यता पार्टीले सिफारिस भएका नयाँ मन्त्रीहरूलाई तत्काल शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने भएको छ । शनिवार बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले तत्काल मन्त्रीको शपथ नगराए समाजवादीले अपमान ठान्ने भन्दै सिफारिस नाम संशोधन नहुने बताए । 

साथै बैठकले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा खेलेको निष्कर्ष निकालेको प्रवक्ता खतिवडाको भनाइ छ । ‘आजसम्म हामीले प्रधानमन्त्री प्रचण्डलाई पर्खियौ, अव तत्काल नयाँ मन्त्रीमण्डल गठनमा लाग्नुहोस्’, खतिवडाले भने, ‘अवउप्रान्त पनि ढिलो गर्नुभयो भने तपाईंहरूले हामीलाई अपमान गरेको सम्झनेछौ भन्नेसम्मको कुरा भएको छ ।’

उनले पार्टीले सिफारिस गरेका नामहरू संशोधन नहुने भन्दै पार्टीको निर्णय परिवर्तन नहुने बताए । 

चुनाव नजिकिँदा पार्टीको भूमिका र महत्त्व बढेको निष्कर्ष निकाल्दै आगामी चुनावका लागि ५ दलबाहेक पनि खुला छलफल गर्न सकिने तर अहिलेको गठबन्धन नै प्राथमिकतामा राखेको खतिवडाले बताए । यसैबीच आज बसेको नेकपा समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेश भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप