शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनगढी विमानस्थललाई प्रादेशिक विमानस्थलमा स्तरोन्नति गर्ने कार्य शुरु

शनिबार, ११ असार २०७९, २० : ३८
शनिबार, ११ असार २०७९

कैलालीको धनगढीस्थित धनगढी विमानस्थललाई प्रादेशिक विमानस्थलका रुपमा स्तरोन्नति गर्ने कार्य शुरु भएको छ । धनगढी विमानस्थलको स्तरोन्नतिका लागि टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउण्टेन, क्यान्टिन, गेट निर्माण लगायतका कार्य अघि बढाइएको हो ।

शनिबार एक समारोहका बीच विमानस्थलको स्तरोन्नतिका लागि नागरिक सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्तरोन्नतिको कामको शिलान्यास गरेका हुन् । विमानस्थल स्तरोन्नतिका कामका लागि दुई चरणमा ठेक्का सम्झौता गरि कामअघि बढाइएको छ । सवारी साधन विसान रोडका लागि जि एण्ड जे निर्माण सेवा धनगढीसँग जेठ ४ गते ठेक्का सम्झौता गरिएको थियो । सो योजनामा एक करोड १८ लाख ८९ हजार नौ सय ४७ रुपैयाँ विनियोजन गरिएको छ । सो योजना सम्पन्न अवधि एक वर्षको रहेको छ ।

टर्मिनल भवन सुधार, ब्यागेज हेण्डलिङ सिस्टम, वाटर फाउण्टेन, क्यान्टिन, गेट निर्माणका लागि इन्द्रधनु अछाम निर्माण सेवासँग जेठ १६ गते ठेक्का सम्झौता भएको थियो । एक करोड ९५ लाख ७८ हजार तीन सय ६७ रकममा बन्न लागेको सो योजनाको समयावधि एक वर्षको रहेको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले विमानस्थल स्तरोन्नतीको काम तिव्र रुपमा अघि बढाएको बताए । उनले जग्गा अधिग्रहणका लागि मन्त्रालयको आन्तरिक स्रोतबाट एक अर्ब र आगामी आर्थिक वर्षको बजेटमा थप एक अर्ब पाँच करोड गरी दुई अर्ब पाँच करोड विनियोजन गरिएको बताए । उनले भने– ‘बजेट पारित भएपछि सो रकम धनगढी विमानस्थललाई पठाइनेछ । रकम प्राप्त भएसँगै कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको मुआब्जा समितिले जग्गा धनीको यथार्थ लागतका आधारमा वितरण गरिनेछ ।’

उनले आगामी आर्थिक वर्षदेखि धनगढी विमानस्थलबाटै काठमाडौं उडान शुरु गरिने बताए । ‘अहिले यहाँ विमानहरु पार्किङ गर्दैनन् । त्यसैले पहिलो उडान काठमाडौंबाटै हुने गरेको छ’ उनले भने– ‘अबको केही दिनपछि धनगढी विमानस्थलमा दुईवटा विमान रात्रीकालिन पार्किङ हुन्छन् र बिहानै पहिलो उडान काठमाडौमा हुनेछ ।’

 मन्त्री आलेले भने, ‘पर्यटकहरु आउँदाखेरी गर्मीको मौसममा पानीको फोहोरा बनाउनुपर्छ भनेर वाटर फाउण्टेन र एयरपोर्टमा राम्रो क्यान्टिन नभएकाले त्यसको निर्माण गर्नुपर्छ भनेको थिए, आजदेखि सुरुवात भयो ।’ 
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहणको काम यथाशिघ्र अघि बढाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप