शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपामा केन्द्रीय समिति गठनको गृहकार्य, महिला भेट्टाउन सकस

आइतबार, १२ असार २०७९, ०६ : ३३
आइतबार, १२ असार २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बल्ल केन्द्रीय समिति गठनको गृहकार्यमा जुटेको छ । जनता समाजवादी पार्टी नेपालबाट भदौमा अलग भएर नयाँ पार्टी बनाएका अध्यक्ष महन्थ ठाकुर केन्द्रीय कमिटी बनाउने गृहकार्यमा लागेका हुन् । 

झन्डै एक वर्षदेखि लोसपा बिना केन्द्रीय कमिटीले चलिरहेको थियो । जसपाबाट अलग भएपछि लोसपा दर्ता हुँदा निर्वाचन आयोगमा ३१ सदस्यीय कार्यकारिणी समितिको सूची पठाइएको थियो । सोही समितिमार्फत पार्टी सञ्चालन भइरहेको थियो । लामो समय पार्टीमा केन्द्रीय समितिलगायत अन्य भातृ सङ्गठन नबनाएको भन्दै नेतृत्वमा दबाब परिरहेको थियो । सोही दबाबका कारण बल्ल केन्द्रीय समिति गठनको गृहकार्य सुरु भएको छ । 

कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्णका अनुसार यो महिनाभित्रै केन्द्रीय समिति घोषणा हुन्छ । विधानमा ५०१ सदस्यीय केन्द्रीय समितिको प्रावधान रहेको छ । त्यसमा हाललाई कति जनालाई राख्ने भनेर छलफल भइरहेको उनले बताए । उनले भने, मुख्य कुरा महिला सदस्यहरूको भएको छ । एकतिहाइ महिला राख्ने प्रावधान रहेको कारण समस्या भइरहेको छ । सङ्ख्या अनुसार महिला नै पाइरहेका छैनौँ । उनीहरूको छनौट भइरहेकाले केही ढिलो भएको छ । उनले जति महिलाको नाम प्राप्त हुन्छ, त्यसैको आधारमा केन्द्रीय समिति सदस्यको सङ्ख्या तय गरेर अगाडि बढ्ने पनि छलफल भइरहेको बताए । 

साथै, यही असारमा महिनामै भातृ सङ्गठन पनि विस्तार हुने उनले बताए । गत फागुनमा नै पार्टीले २८ वटा भातृ सङ्गठनको नाम सार्वजनिक गरिसकेको छ । तर त्यसको समिति भने बनेको छैन । तत्कालै २८ वटै भातृ सङ्गठनको समिति निर्माण गर्न नसके पनि केहीको गठन हुने उनले बताए । हाल भातृ सङ्गठनका लागि नामावली सङ्कलन गर्ने कार्य भइरहेको छ । केन्द्रीय समितिसँगै भातृ सङ्गठन पनि सार्वजनिक हुनसक्ने उनले बताए । लोकतान्त्रिक विद्यार्थी संघ, लोकतान्त्रिक युवा संघ, लोकतान्त्रिक प्राध्यापक संघ, लोकतान्त्रिक बुद्धिजीवी संघ, लोकतान्त्रिक शिक्षक संघलगातयतका भातृ सङ्गठनको नामावली चयन भइसकेको छ । अब समिति बनाउन मात्र बाँकी रहेको छ । 

लोसपाका नेता मनिष मिश्रले ढिलै भए पनि पार्टी केन्द्रीय समिति गठनको कामलाई तीव्रता दिएकाले पार्टीका कार्यकर्तालाई उत्साहित बनाएको बताए । केन्द्रीय समितिको गठन धेरै पहिला नै भइसक्नु पर्ने थियो तर ढिलो भयो, उनले भने, स्थानीय चुनावअघि नै केन्द्रीय समितिको गठन भएको भए परिणाम अझ राम्रो आउन सक्थ्यो ।’ प्रदेश र संघको चुनावअघि नै पार्टी सङ्गठन विस्तारको सम्पूर्ण कार्य सकाएर कार्यविभाजन गर्न सके मधेसमा लोसपा पहिलो पार्टी बन्ने विश्वास आफूहरूले लिएको उनले बताए । 

लोसपा गठन भएको झन्डै १०–११ महिना भइसक्दा पार्टीका नेता तथा कार्यकर्ताहरू जिम्मेवारीविहीन रहेकाले पार्टीमा क्रियाशील नभएको उनको बुझाई छ । तैपनि प्रतिबद्ध नेता तथा कार्यकर्ताहरूले लोसपाको साथ नछाड्नु नै महत्त्वपूर्ण कुरा रहेको उनले बताए । अब ढिलो नगरी पार्टीका सम्पूर्ण सङ्गठनलाई दुरुस्त बनाएर चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप