मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुख खान र दीवानाः ३० वर्षअघि बलिउडले कसरी पाएको थियो नयाँ सुपरस्टार

आइतबार, १२ असार २०७९, ०६ : ५६
आइतबार, १२ असार २०७९

एजेन्सी । कुरा अमिताभ बच्चनको खुदागवाह प्रदर्शनमा आएको वर्षको हो । बच्चन बक्स अफिसमा फिल्मले राम्रो कमाई गरेको थियो तर प्रमुख अभिनेताको रुपमा अमिताभको दिन सकिँदै थियो ।

आमिर खान ‘ कयामत से कयामत तक’ र सलमान खान ‘मैने प्यार किया’मार्फत फिल्म क्षेत्रमा आइसकेका थिए तर पूर्ण रूपमा जमेका थिएनन् । अर्थात्, पुरानो पुस्ता नगइसकेको र नयाँ नजमेको स्थिति थियो । 

त्यही वर्ष नव–निर्देशक राज कम्वरले निर्माता गुड्डु धनोयासँग मिलेर उनको पहिलो फिल्म ‘दीवाना’ बनाउने सोच बनाए । 

फिल्मका लागि उनले यतिबेलाको रोमान्टिक नायकका रूपमा चर्चित ऋषि कपूर र नयाँ सेन्सेसनका रूपमा उदाइरहेकी दिव्या भारतीलाई अनुबन्ध गरे । अरमान कोहली दोस्रो सहनायकका रूपमा अनुबन्ध भइसकेका थिए । फिल्म २५ जुन १९९२ मा रिलिज भएको थियो।

कसरी बन्यो दीवाना शाहरुखको पहिलो फिल्म ?

दीवाना खासमा दिव्या भारतीको पात्रको मूल कथा हो जसको जीवन दुर्घटनाले भरिएको छ र जीवनले उनलाई फरक फरक दिशामा लैजान्छ, कहिले उनको इच्छाले र कहिले उनको इच्छाविरुद्ध ।

दीवाना ऋषि कपूरको पात्रको पनि कथा पनि हो, जसको फिल्ममा प्रमुख अभिनेताको भूमिका छ । कपुर र भारती फिल्मको सुरुवाती फ्रेमदेखि लगभग अन्त्यसम्म देखिन्छन् । 

दोस्रो नायकको भूमिकामा रहेका अरमान कोहलीको चरित्र कथाको तेस्रो कोण थियो र उनको भूमिका ऋषि कपुर र दिव्यापछि आउँथ्यो । भाग्यवश वा दुर्भाग्यवश, अरमान कोहलीले फिल्म छोडे र उनले निभाउने तय भएको भूमिका नयाँ नायकको हातमा गयो । 

ती नवनायकले टिभीमा धेरै हिट सिरियल दिए पनि उनको फिल्म भने एउटा पनि प्रदर्शनमा आएको थिएन । 

दुई घण्टा ३५ मिनेटको फिल्म ‘दीवाना’को कथाले ऋषि र दिव्यालाई पुरै फोकस गरेको छ । प्रेम, माया, विवाह, मृत्यु आदि सबै कुरा समेटिएको फिल्ममा दिव्या र ऋषिले चार वटा रोमान्टिक गीत गरेका छन् ।

फिल्मको एक घण्टा २० मिनेटमा बल्ल दोस्रो नायकको प्रवेश हुन्छ अर्थात् त्यो समय जब आधा फिल्म सकिसकेको हुन्छ ।

यदि तपाईंले यो चलचित्र थिएटरहरूमा वा आफ्ना साथीहरूसँग हेर्नु भएको भए दोस्रो नायकले मुम्बईको सडकमा चलाएको यामाहा बाइक नम्बर ए७७५५ पनि ख्याल गरेको हुनुपर्छ ।

उनी विनोद राठोडको स्वरमा ‘कोई ना कोई चाहिये’ गाउँदै मुम्बईको सडकमा निडर र लापरवाह रूपमा बाइक चलाउँदै एउटा होर्डिङ नजिक रोकिन्छन् ।

होर्डिङ बोर्डमा ‘जान से प्यारा’ र ‘ए मेरी बेखुदी’जस्ता फिल्मका पोस्टर देखिन्छ । त्यसबेला धेरैले सोचेका थिएनन् होला भारतका धेरै होर्डिङ बोर्डमा लामो समय यो बाइकमा देखिएको युवकको फिल्मको पोस्टर लगाइनेछ भनेर ।

त्यो नायकको नाम शाहरुख खान थियो र दीवाना उनको पहिलो फिल्म थियो । अरमान कोहलीको हातबाट गएको फिल्मले बलिउड फिल्म उद्योगलाई नयाँ सुपरस्टार दिएको थियो । 

दोस्रो प्रमुख भूमिकामा देखिएका नायक एक दिन बलिउडको नम्बर एक हिरो बन्नेछ भन्ने कसैले सोचेका थिएनन् । 

दीवाना उनको पहिलो रिलिज भएको फिल्म भए पनि शाहरुखले दीवानासँगै अरु चार फिल्महरू एकै पटक साइन गरेका थिए– दिल आशना है, राजु बन गया जेन्टलम्यान, चमत्कार, किंग अंकल ।

उनले साइन गरेको हिसाबमा उनको पहिलो फिल्म हेमा मालिनीको दिल आशना है थियो । यो फिल्ममा पनि दिव्या भारती नै नायिका थिइन् । र यसमा पनि शाहरुख मुख्य भूमिकामा थिएनन् ।

नयाँ प्रतिभाको उदय

टाइम्स अफ इन्डियासँगको एक अन्तर्वार्तामा निर्माता गुड्डु धनोयाले शेखर कपूरको धेरै आग्रहपछि मात्रै आफू शाहरुखलाई भेट्न राजी भएको र शाहरुखले चार–पाँच फिल्मका लागि समय दिएका कारण दीवानाका लागि समय नरहेको बताए । 

तर शाहरुखलाई कथा मन पर्‍यो र निर्मातालाई नायक । दुवै पक्षको सहमति जनाएपछि शाहरुख फिल्म खेल्न तयार भए । शाहरुखले सुरुमा साइन गरेको पाँच फिल्ममध्ये दीवानाको छायांकन पहिले सकियो र यो नै पहिला रिलिज भयो ।

जब यो फिल्म सन् १९९२ मा हलमा आयो, फिल्म हिट भयो, गीतहरू सुपरहिट भए । ऋषि कपूर त पहिले नै स्टार थिए, फिल्मका खलनायक अमरिश पुरी पनि चर्चित कलाकार थिए । तर दिव्या भारती र शाहरुख खान रातारात स्टार भए र निर्देशक राज कंवरले डेब्यू फिल्मबाटै आफूलाई स्थापित गरेका थिए ।

दीवानाको सफलताबारे लेख्ने क्रममा फिल्म समीक्षक निख्त काजमीले सोही वर्ष भनेका थिए ,‘ शाहरुखको भूमिका अन्य फिल्ममा धेरै पटक देखिसकेको पुरानो भूमिका नै थियो तर उनले यसमा नयाँ ऊर्जा भर्न सक्षम भएका थिए । आक्रोशित, विद्रोही र अन्योलग्रस्त प्रेमीको भूमिकालाई उनले जसरी निभाए त्यो हावाको ताजा झोकाजस्तो थियो । दीवानाबाट नयाँ प्रतिभाको उदय भएको छ ।’

शाहरुख पछि पर्दामा जुन कोमलता, सम्बन्ध र रोमान्सका लागि चिनिए, उनको पहिलो झलक दीवानामा मै देखिएको थियो । 

गीतका कारण हिट

३० वर्षपछि पनि दीवाना र यसका गीतहरू चर्चित छन् । वास्तवमा फिल्म हिट हुनुमा यसको सङ्गीतलाई महत्त्वपूर्ण कारण मानिन्छ ।

यो कुरा शाहरुख खानले पनि फिल्मफेयरको एक अन्तरवार्तामा भनेका छन् ,‘दीवाना हिट हुनुपछाडि यसको सङ्गीतको ठुलो भूमिका छ । यसको सङ्गीत फिल्मको बाँकी कुरामाथि भारी परेको छ । राज कम्बरले गीतलाई निक्कै राम्रोसँग फिल्माकंन गरे । ऋषि कपुर, दिव्या, अमरीश पुरी, देवेन वर्मा सबेले राम्रो काम गरे । तर यदि यो फिल्मलाई सम्झिइन्छ भने नदीम श्रवणको कारणले सम्झिइएको छ ।’

समीरले लेखेका गीतलाई नदीम श्रवणको सङ्गीतमा सजाइएको छ । यो नदीम श्रवणको जमाना थियो । उनले सन् १९९० मा आशिकी, सन् १९९१ मा साजन र सन् १९९२ मा दीवाना लगातार तेस्रो पटक फिल्मफेयर पुरस्कार प्राप्त गरे।

गायक कुमार सानुले ’सोचेंगे तुम्हे प्यार करेके नही’का लागि फिल्मफेयर अवार्ड जिते भने समीरले ‘तेरी उम्मेद तेरा इंतजार’का लागि उत्कृष्ट गीतकारको फिल्मफेयर अवार्ड पाए ।

‘किङ अफ रोमान्स’

आज फर्केर हेर्दा दीवाना एउटा साधारण चलचित्र जस्तो देखिन्छ । आजको मापन आधारमा फिल्ममा दिव्या भारतीको स्वीकृतिबिना शाहरुखको धक्का दिने, उनको घरमा गइरहने, रंग लगाउने जस्ता काम ‘स्टकिङ’ जस्तो देखिन्छ । तर यो ९० को दशकको संवेदनशीलताको अवधिको फिल्म थियो । फिल्मको ड्रामा र सस्पेन्सले तपाईलाई अन्तिमसम्म बाँधेर राख्छ । 

फिल्ममा शाहरुख खान र ऋषि कपुरको बीचमा तीनवटा दृश्य छन् । एउटा दृश्यमा, शाहरुखले ऋषि कपूरलाई आफ्नो पार्टीमा ल्याउँछन् र उनलाई अँगालो हाल्छन् । 

त्यो फ्रेममा देखिएका दुई नायकमध्ये एक ’७० र ’८० को दशकको रोमान्टिक नायक थिए भने अर्को जसलाई आगामी दिनमा रोमान्सको राजा भनिने वाला थियो । जसका फ्यान भारतबाट मात्र नभई बेलायत, जर्मनी, स्विट्जरल्याण्ड, दुबई, कतार, अफगानिस्तान र धेरै टाढासम्म फैलिएका छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप