मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको बहिष्कारपछि रोकिएको हेटौडा उपमहानगरको अधिवेशन आज बस्दै

आइतबार, १२ असार २०७९, ०९ : १५
आइतबार, १२ असार २०७९

नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि रोकिएको हेटौंडा उपमहानगरपालिकाको ११ औं नगर अधिवेशन आज बस्दैछ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न गत असार १० गते आह्वान गरिएको नगर अधिवेशनमा एमालेका निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका थिए ।

कार्यपालिका र नगर सभामा बहुमत रहेको एमालेले केही माग राख्दै नगर सभा बहिस्कार गरेका थिए । आफूहरुको माग पूरा गर्न दबाब दिंदै नगरसभामा अनुपस्थित भएपछि स्थगित भएको थियो । कार्यपालिका बैठकमा आफूहरुको मागलाई मेयर र उपमेयले बेवास्ता गरेको भन्दै नगर सभामा एमालेबाट विजयी सदस्यहरु अनुपस्थित भएका थिए ।

एमालेको बहिस्कार पछि रोकिएको नगर अधिवेशन आज पुनः आह्वान गरिएको छ । नगर सभा संचालनको लागि गणपूरक संख्या नपुगेपछि नगरप्रमुख मीनाकुमारी लामाले अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाएकी हुन् ।

नगर सभा संचालनको लागि गाँउ नगर जिल्ला सभा सन्चालन ऐन २०७५ को दफा ५ को उपदफा १ बमोजिम गणपूरक संख्या नपुगेकोले १० असारमा बोलाइएको नगर सभा स्थगित गरिएको थियो । उक्त दफाको उपदफा २ बमोजिम नगर प्रमुख लामाले नगर सभा आजको लागि आह्वान गरेकी हुन् ।

यता एमालेबाट निर्वाचित कार्यपालिकाका सदस्यहरुले कार्यपालिका बैठक सञ्चालन कार्यविधि संशोधनको माग राख्दै नगर सभा अधिवेशन बहिस्कार गरेका हुन् ।

१८ जना कार्यपालिका सदस्य रहेको एमालेले बैठक संचालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको छ । एमालेले स्थानीय तह संचालन ऐन विपरित भएकाले सो बुँदा संशोधनको माग गरेका हुन् ।

नगरप्रमुख र उपप्रमुखको हठ र घमण्डका कारण बैठक स्थगित गरेको आरोप लगाउँदै आएका छन् । एमालेले आफ्ना माग सम्बोधन नभए आजको सभामा पनि उपस्थित नहुने बताएको छ ।

कुल २९ जनाको हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेबाट १८ जना, कांग्रेसबाट ८ जना, नेकपा एकीकृत समाजवादीबाट २ जना र माओवादी केन्द्रको १ जना सदस्यहरु रहेका छन् । त्यस्तै ९७ सदस्य नगरसभामा पनि एमालेको बहुमत छ । नगरसभामा पनि नेकपा एमाले ५१ जना सदस्य रहेका छन् ।  

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न २ अर्ब ७१ करोड ७९ लाख बजेट आज १० असारमा सार्वजनिक गर्ने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप