शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

पापको घडा कसले बोक्ने ?

आइतबार, १२ असार २०७९, १३ : १४
आइतबार, १२ असार २०७९

संविधानमा अस्वीकार होइन, असहमति छ हाम्रो । राज्यसँग पुकार होइन, गुनासो छ हाम्रो । चार वर्ण छत्तीस जातको साझा फूलबारीलाई काखा पाखा गरेकोमा चित्त दुःखाइ छ हाम्रो । राज्यले जे भन्यो त्यही मान्यौँ हामी । जे अह्रायो, त्यही गर्यौँ हामी । राज्यले बिनासित्ति डण्डा बर्साउँछ र पनि बिना कारण चोट सहन बाध्य हुन्छौँ हामी । 

मेरो पाँच वर्षे जेल यात्राले यही बुझियो, गल्ती गर्नेले उन्मुक्ति पाउँदा रहेछन् । नगर्नेले चोट भोग्नु पर्दोरहेछ । संविधानले भन्छ, संविधानको विरोध गर्न पाइन्न । के लोकतन्त्रमा असहमति राख्न पाइन्न ? हाम्रो अधिकार कुन धारा, उपधारामा लेखिएको छ भनेर राज्यलाई सोध्न पाइन्न ? लेख्या छौं भने, खै कहाँ लेख्या छौ, देखाइदेऊ भनेर सोध्न पाइन्न ? यदि पाइन्छ भने हामीलाई किन थुनेको ? झ्यालखानामा किन हालेको ? उन्मुक्ति पाइन्न भने हामी को हौँ ? कुन देशको नागरिक हौँ ? कहाँ गएपछि माग पूरा हुन्छ, देखाइदिनु पर्यो । 

हुन त मुट्ठी उचाल्नेलाई आतंकवादी र बन्दुक बोक्नेलाई अधिकारवादी भन्ने देश हो हाम्रो । राज्यलाई थाहा छ, जसले बोक्या थ्यो, उसैले ठोक्या हो । अस्ति पनि उसैले ठोक्यो, हिजो पनि उसैले ठोक्यो । र, बेलाबेलामा ठोक्ने घुर्की पनि उसैले दिइरहन्छ । 

त्यसो त पञ्चायत व्यवस्था सिद्घिएर के भो र ? पञ्चायती व्यवस्थाका भरियाहरु लोकतन्त्रमा सुस्ताएकै छन् । उहिले दाम चढाएका मन्त्री, प्रधानमन्त्री अहिले सत्ताको सिंहासनमा छन् । पञ्चायतका भरियासँग गणतान्त्रिक नेतृत्वले मितेरी गाँसेपछि व्यवस्थाको पूर्णोदय कसरी हुन्छ ? द्वन्द्वकालको चरमोत्कर्ष समय २०५८ ताका रिपोर्टिङको सिलसिलामा सुर्खेतको जंगलमा मैले राउटे मुखियालाई सोधेको थिएँ,‘तपाईका मित कति छन् मुखियाज्यू ?’ 

मुखमा माखा भन्किनै नदिई उनले जवाफ दिएका थिए,‘आ कति छन् कति ? सबै आउँछन् मित लगाउँछन् । सबैले मिज्जु मिज्जु भन्छन् । मित लगाया वाफत हाम्लाई त खसी र रक्सी दिया भैगो । नेपालका राजा पनि हाम्रा मितै हुन् त !’ 

अनाक्षर भएपनि मुखिया सचेत रहेछन् । मित लगाउने बहानामा खसी र रक्सी थापेर रैती पाल्ने जुक्ति गज्जबको लाग्यो मलाई । मसँग उनलाई मित लगाएर खसी र रक्सीको सामल थिएन । मैले साइनो छल्ने बहाना खोजेँ, ‘म के साइनो लगाम त ?’

सुको नभएको भुको भनेकै सोधीखोजी गर्ने पत्रकार हुन्छन् भन्ने उनलाई थाहा हुँदो हो । त्यसैले एकै सासमा जवाफ दिए,‘मामा भन्नुस् न मामा ! तपाईं जस्ता सोध्न्या पत्रकारले मामै भन्छन् ।’

उनको स्पष्ट जवाफले म खिस्सिएँ ।

राउटेलाई साइनोसँग कुनै मतलब छैन । मतलब छ त आफ्नो समूहको जीवनयापनको । 

अहिले त झन् दरबारको हरेक रहनसहन, भाषाशैली, जीवनयापन हाम्रो नेतृत्वमा सरेको छ । मन्त्रालयदेखि मेडमसम्मको जिब्रोमा झुण्डिएको छ,‘आइस्यो, खाइस्यो, गैस्यो ।’

एकजना विद्वान मित्रले जेलको भेटघाटमा व्यंग गर्दै मलाई भन्दै थिए, ‘स्योको भाषा आजभोलि सबैभन्दा बढी प्रयोग त माओवादीले नै गर्छन् ।’

हाम्रो नेतृत्वको सोच, चिन्तन, मनोविज्ञान सबै उही छ । संकीर्णताको त्यान्द्रो नचुँडालेसम्म त्यो उस्तै रहन्छ । त्यसैले मुलुक परिवर्तनका लागि सोच, संकीर्णताको निर्मलीकरण आवश्यक छ । जति नै लाभदायी वा फलदायी किन नहोस्, नेताको सोच, संकीर्णताले फराकिलो दायरा नलिएसम्म लोकतन्त्रको ट्याउँ ट्याउँ कर्कशिलो सुनिन्छ । क्यान्सरयुक्त प्रत्यङ्ग जोडेर क्यान्सरमुक्त कसरी भइन्छ र ? त्यसैले परिवर्तन आवश्यक छ । 

सत्य क्षणभरका लागि परेशान हुन सक्छ, पराजित हुन सक्दैन । सूर्य र चन्द्रजस्तै निश्चित समयमा उदाउने, अस्ताउने हुनुपर्छ सत्य । कहिलेकाहीँ छाएको बादलले महाभारत पर्व गराउन सक्छ तर कर्ण, धृतराष्ट्रको मृत्यूलाई समेत रोक्न सक्दैन । आकाश उदाङगो हुन्छ तर बादलले आकाशलाई सधँै छोपिरहन सक्दैन । जेलमै एक पूर्व प्रधानन्यायाधीशले लेखेको पुस्तकमा मैले पढेको थिएँ,‘मृत्यूशैयामा पाएको न्याय, न्याय होइन । ढिलो न्याय दिनु झन ठूलो अपराध हो । किनकि न्याय नपाएकाले छाडेर गएको बाँकी पापको घडा पनि उसैले बोक्नु पर्छ ।’

“बँधुवा कमैया” पुस्तकमा मेरो कविताको एक अंश छ,

‘फैसलाको हथौडा ठोकेर भन्नुस् श्रीमान् !

निर्दोषले न्याय पाउने न्यायालय कहाँ छ ?’

हाम्रो पापको घडा कसले बोक्नुपर्ने हो, त्यो उप्परवाला नै छुट्याउलान् । 

हालः डिल्लीबजार, कारागार 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रेशम चौधरी
रेशम चौधरी
लेखकबाट थप

छुटाउनुभयो कि ?