बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न पुष्पा भुसालको माग

आइतबार, १२ असार २०७९, १४ : २७
आइतबार, १२ असार २०७९

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले आउँदो संसदीय र प्रदेशसभा सदस्य चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले आगामी चुनावमा समावेशी ढंगले महिला उम्मेदवार नउठाउने हो कि भन्ने प्रश्न उठेको बताइन् । 

उनले भनिन्– ‘हामी समावेशी लोकतन्त्रको कुरा गर्छौ, निर्वाचनमा ३३ प्रतिशत महिला उठाउने भनेर प्रतिबद्धता गरेर जाँदा समानुपातिक निर्वाचन प्रणालीमा पुरुषले कम अवसर पाएको छ, त्यसो हुनुपनि भएन । सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहन्छु कि आगामी प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा  प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरियोस् ।’

उनले संविधान बनेपछि समावेशी लोकतन्त्रलाई महत्वपूर्ण रुपमा लिइएको बताउँदै संविधानको धारा ३८ को ५ मा पनि हरेक तहमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थामा महिलाको प्रतिनिधित्व सुनिश्चितता गरेको बताइन् । दिगो विकास लक्ष्य २०३० मा पनि महिलाहरुको उपस्थिति हरेक तहमा ५० प्रतिशत गराउने भनेर नेपाल सरकारले प्रतिबद्धता पनि गरेको र १९९१ मा महिला अधिकार सम्बन्धी महासन्धिमा पनि नेपालले हस्ताक्षर गरेको स्मरण गराइन् । 
उनले पेट्रोलको भाउ घटाएकोमा सरकारलाई धन्यवाद दिँदै न्यून आय भएका गरिबका लागि विशेष व्यवस्था गर्न आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप