शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन गर्न माग

आइतबार, १२ असार २०७९, २० : ५०
आइतबार, १२ असार २०७९

प्रतिनिधिसभा सदस्य अमृता थापाले उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरेकी छन् ।  आइतवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य थापाले उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको पद लामो समयदेखि खाली भएको उल्लेख गर्दै तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरेकी हुन् । उनले स्थानीय तहको निर्वाचनमा १२४ जना दलित महिला सदस्य खाली भएको भन्दै कानून संशोधन गरेर भएपनि खाली ठाउँमा जनप्रतिनिधि पूर्ति गर्ने व्यवस्था गर्न पनि माग गरिन् । 

प्रतिनिधिसभा सदस्य आशाकुमारी बिकले गत कार्तिक ३० गते बझाङमा आएको वर्षाले ११ सय घर परिवार विस्थापित भएको भन्दै पूर्ण क्षति भएका घरहरु अझै बन्न नसकेकोप्रति सरकारको जवाफ माग गरिन् । उनले विपद् व्यवस्थापनमा सरकारको तयारी के छ त्यसको पनि जवाफ माग गरिन् ।  प्रतिनिधिसभा सदस्य इन्दुकुमारी शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिक सरह कष्टकर जीवन बाँच्नुपरेको बताइन् । उनले संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग गरिन् । 

प्रतिनिधिसभा सदस्य कलिला खातुनले काठमाडौंमा हैजा फैलिएको समाचारहरु आएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गरिन् । प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले गत जेठ १४ गते बजेट तयारीका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिहरुको हस्तक्षेप भएको भन्दै उनले अर्थ मन्त्रालयको सो दिनको फुटेज सार्वजनिक गर्न माग गरे ।

प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि पूर्व तयारी, उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गराए । उनले सांसदहरुलाई पनि विपद् अनुगमनका काममा प्रत्यक्ष सहभागी हुन आग्रह गरे । उनले नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक रुपमा हुने पहिरोको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गरे । 

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव संसदीय समितिमा लगेर छानबिन र सुनुवाई हुनुपर्ने बताए ।  प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाले बजारमा महँगी बढेकाले बजारमा हुने कालाबजारी र महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा सदस्य गंगा चौधरी सत्गौवाले बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भएको बताइन् ।  मुद्दा कमजोर बनाउन नमान्ने सरकारी वकिल संगीता थोकरलाई सरुवा गरिएको उल्लेख गर्दै उनले सरुवा बदर गर्न माग गरिन् । 

प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप