बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आपूर्ति मन्त्री बडूले सांसदलाई गराए पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी

आइतबार, १२ असार २०७९, १५ : ०२
आइतबार, १२ असार २०७९

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले संसदलाई सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी गराएका छन् । आइतबार विशेष सार्वजनिक महत्वको विषय प्रस्तुत गर्न सभामुख अग्नि सापकोटासँग समय लिएर उनले सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर भारी मात्रामा कटौती गर्दै मूल्य घटाएकोबारे प्रतिनिधिसभामा जानकारी गराएका हुन् ।  

उनले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ घटाएर १ सय ७९ कायम गरेको, डिजेलमा प्रतिलिटर २८ रुपैयाँ घटाएर १ सय ३० रुपैयाँ कायम गरेको जानकारी गराएका हुन् । उनले नेपाल आयल निगम सुधार गरेर जाने बताउँदै त्यसको सुधारका लागि अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अध्ययन कार्यदल बनाउने निर्णय गरेको पनि जानकारी गराए । 

उनले सरकारी निकायले पेट्रोलियम पदार्थको उपभोगमा कम्तिमा २० प्रतिशत कम गर्ने नीतिगत निर्णय भइसकेको जानकारी गराए । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पहिलो चरणमा सिंहदरबारका सरकारी कार्यालयमा एलपी ग्यासको विकल्प अवलम्बन गर्ने व्यवस्था गरिएको बताए । 

निगम सञ्चालक समितिको निर्णय अनुसार व्यवसायिक तथा घरायसी प्रयोजनका लागि अलग अलग मूल्य निर्धारण गर्न समितिका सदस्यको संयोजकत्वमा सरोकारवालाको समेत प्रतिनिधित्व रहने गरी उपसमिति गठन गरिएको र छिट्टै यो व्यवस्था कार्यान्वयनमा ल्याइने बताए । सर्वसाधारणले खाना पकाउन प्रयोग गर्ने एलपी ग्यासको खपत न्यूनिकरण गर्ने, विद्युत खपत बढाउन राहत दिने, विद्युतीय चुल्हो प्रयोग बढाउन र विद्युत खपत बढाउन राहत र सहुलियत दिने नीति लिइएको पनि जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप