शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्युतको उत्पादन बढ्दा पनि किन रोकिएन आयात ?

३०० मेगावाट निर्यात, ६० मेगावाट आयात
आइतबार, १२ असार २०७९, १५ : ०८
आइतबार, १२ असार २०७९

वर्षायाम सुरू भएसँगै नेपालको विद्युत उत्पादन क्षमता १८ सय ४० मेगावाट पुगेको छ । मनसुन सुरू भएसँगै प्रशस्त मात्रामा पानी पर्दा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बढेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

नदी प्रवाहमा आधारित नेपालका आयोजनाहरूबाट उत्पादन बढेको हो । चैत अन्तिमसम्ममा अनिश्चित लोडसेडिङको मारमा पुगेको नेपाल यतिबेला निरन्तर भारततर्फ विद्युत व्यापार गरिरहेको छ । उक्त समयमा भारतमा कोइलाको चरम अभाव हुँदा नेपाल समेत प्रभावित बनेको थियो । नेपालतर्फको उत्पादन बढेसँगै भारततर्फ पर्याप्त निर्यात भइरहेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले रातोपाटीलाई जानकारी दिए ।

‘अहिले नेपालबाट दिउँसो र राति गरेर औषतमा ३०० मेगावाट बिजुली निर्यात भइरहेको छ,’ घिसिङले रातोपाटीसँग भने, ‘रातिको समयमा कहिलेकाँही ४०० मेगावाटसम्म जान्छ । यस्तै दिउँसो २५० मेगावाटसम्म पनि जान्छ ।’ यसरी निर्यातको उच्च बिन्दु र न्यून बिन्दु मिलाउँदा सरदर ३०० मेगावाट हुन आउने घिसिङले बताए । उसो त निर्यातका बीच प्राधिकरणले दैनिक ६० मेगावाटसम्म बिजुली आयात पनि गरिरहेको छ । खासगरी, पश्चिम नेपालको विद्युत माग धान्न प्राधिकरणले भारतबाट बिजुली आयात गरिरहेको हो ।

‘सुदुरपश्चिम क्षेत्रको बिजुली माग धान्न टनकपुर प्रसारणलाइनबाट ६० मेगावाटसम्म बिजुली आयात भइरहेको छ,’ घिसिङले भने, ‘पूर्वको बिजुली पश्चिम पठाउने प्रसारणलाइन नै छैन । त्यसैले त्यहाँको माग धान्न आयात भइरहेको छ ।’ पूर्वतर्फ उत्पादन भइरहेको बिजुली सुदूरपश्चिम लग्न प्राधिकरणले बनाइरहेको २२० केभीको प्रसारणलाइन निर्माणमा अवरोध हुँदा आयत भइरहेको घिसिङ बताउँछन् । दुम्किवासमा २ वटा टावर नबनाउन अदालतले स्टे अर्डर दिएको छ । त्यसको सुनुवाई आज पनि भइरहेको छ । जबसम्म टावर बन्दैन तबसम्म भारतबाट पश्चिमको माग धान्न आयात गरिरहनुपर्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले मनसुनमा आधारित नेपालका जलविद्युत आयोजनाहरूबाट पर्याप्त मात्रामा उत्पादन भइरहेको बताए । ‘हाल नेपालमा कुलेखानी बाहेकका आयोजनाहरूबाट १७ सय ४० मेगावाटसम्म विद्युत उत्पादन भइरहेको छ,’ भट्टराईले रातोपाटीसँग भने, ‘कुलेखानीसहित गरेर कूल १८ सय ४० मेगावाट हाराहारी विद्युत उत्पादन भइरहेको छ ।’ तर, उत्पादनअनुसार नेपालमा खपत नहुँदा बढी भएको विद्युत भारततर्फ निर्यात भइरहेको उनको भनाइ छ ।

भारत सरकारले नेपालबाट ३६४ मेगावाटसम्म विद्युत किन्न सहमती जनाइसकेको छ । सोहीआधारमा प्राधिकरणले नेपालतर्फको उत्पादनअनुसार र खपत क्षमताअनुसार बढी भएको विद्युत भारत निर्यात गर्दै आइरहेको छ । नेपालतर्फका कुनै आयोजनाको उत्पादन रोकिएमा वा नेपालको माग बढेमा निर्यात रोकिन्छ । अन्यथा बढी भएको विद्युत निरन्तर निर्यात भइरहेको प्राधिकरणको भनाइ छ ।

भारतको विद्युत एक्सचेञ्ज बजारमा सरदर साढे ५ भारुमा बिजुली निर्यात भइरहेको प्रबन्ध निर्देशक घिसिङले बताए । ‘भारतको बजारमा १५÷१५ मिनेटको ९६ वटा ब्लकमा बिजुली निर्यात भइरहेको छ,’ घिसिङले भने, ‘उताको बजार भाउअनुसार बिजुली बिक्री भइरहेको छ ।’ दैनिक औसत साढे ५ भारुमा निर्यात भइरहे पनि शुक्रबार बिजुली निर्यात गरेर प्राधिकरणले प्रतियुनिट १० भारुसम्म कमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप