बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद बैठकमै योगेश भट्टराईले ‘गुगल सर्च’ गरेपछि...

आइतबार, १२ असार २०७९, १५ : ४६
आइतबार, १२ असार २०७९

प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूमाथि सांसदहरुले पेट्रोलियम पदार्थको मूल्य घटेपनि फेरि बढ्ने हैन भन्दै आशंका व्यक्त गरेका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको विषय प्रस्तुत गर्दै मन्त्री बडूले सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको जानकारी गराउँदै विद्युत खपतमा सहुलियत दिने बताएका छन् । मन्त्रीको भनाइपछि प्रश्न गर्ने अधिकांश सांसदहरुले सरकारले मूल्य समायोजन व्यवस्थित गर्न नसकेको र इन्धनको  खरिदको विकल्प खोज्न नसकेको बताए । 

मन्त्रीले बोलेपछि प्रश्न गर्ने क्रममा एमाले सांसद योगेश भट्टराईले मन्त्रीको भनाइ आएपछि आफूले गुगल सर्च गरेर भारत र चीनमा आजको दिनमा रहेको पेट्रोलको भाउ हेरेको बताए । सांसद भट्टराईले गुगल सर्च गरेर हेर्दा भारतमा आज पेट्रोलको मूल्य प्रतिलिटर ८४ भारतीय रुपैयाँ रहेको बताए । जुन महिनामा सबैभन्दा धेरै १ सय १४ रुपैयाँ सम्म पुगेपनि अहिले घटेको बताए । यस्तै चाइनामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६ भारतीय रुपैयाँ रहेको बताए । यस्तै चीनमा आज डिजेलको मूल्य १ दशमलव ३४ डलर रहेको बताए । 

उनले युक्रेन रुस युद्धका कारण नै सस्तोमा तेल ग्यास आइरहेको बताउँदै त्यसको उपयोग नेपालले किन गर्न नसकेको भन्दै प्रश्न गरे । उत्तराखण्ड, बिहार, उत्तरप्रदेश,  पश्चिम बंगाल नेपालसँग सिमा जोडिएका कुनैपनि भारतीय राज्यमा १ सय हाराहारीमाथि पेट्रोलको मूल्य नरहेको बताए । सो मूल्य नेपालमा किन समायोजन भएन भन्दै सांसद भट्टराईले प्रश्न गरे । उनले केपी ओली सरकारको बेला जतिबेला नाकाबन्दी थियो त्यो बेला चीनसँग पारबन्दी सन्धी गरेकोले चीनसँगपनि पेट्रोलियम पदार्थ खरिदको आग्रह गरे । 

सांसद खगराज अधिकारीले मन्त्री दिलेन्द्र बडूले एलपी ग्यासको प्रयोग घटाउने बताएपनि मिति तोक्न नसकेको बताए । उनले सरकारलाई मिति तोक्न केले बाधा ग¥यो भन्दै प्रश्न गरे । उनले हिजो सरकार अलोकतान्त्रिक रहेको साबिती बयान दिएको बताउँदै आन्दोलन गरेपछि मात्रै पेट्रोलियम पदार्थमा मूल्य घटाउन तयार भएको बताए । 

उनले सिंहदरबारबाट कहिले एलपी ग्यास हट्छ त्यसबारे जानकारी गर्न माग गरे । सांसद नवराज सिलवालले सरकारले पेट्रोलमा २० रुपैयाँ घटाएको भनेर गर्व गरेपनि फेरि रुस र युक्रेन युद्धका कारण भाउ बढेर आएको भन्ने हो कि भन्दै प्रश्न गरे । पेट्रोलियम पदार्थको विकल्पमा वा कम गराउन सरकारको दीर्घकालीन रणनीति के छ भनेर खोजेको बताउँदै उनले भने–‘मन्त्रीजीले अध्ययनका लागि एउटा कार्यदल बनाएको भन्नुभएको छ । त्यो कार्यदलले प्रतिवेदन बुझाउने र त्यसलाई त्यतिकै थन्काउने अनि जनता चाँही त्यत्तिकै महँगीको मारमा परिरहने हो कि ? सरकारको दीर्घकालीन सोच के हो ? कि निर्वाचनसम्म जाने त्यसपछि देखाजायगा भन्ने हो कि ?’ उनले सरकारको ठोस योजना नआएको बताए । 

यस्तै सांसद कृष्ण भक्त पोखरेलले भारत स्वयं पनि पेट्रोलियम पदार्थ खरिद गर्ने राष्ट्रमाथि नेपाल निर्भर भएको बताए । उनले पेट्रोलियम पदार्थको विकल्प खोज्ने बाटोमा सरकार किन नलाग्ने भन्दै प्रश्न गरे । तेल उत्पादन गर्ने रुस लगायतका देशसँग प्रत्यक्ष रुपमा कुरा गर्न सरकारलाई कहाँनिर बाधा छ भन्दै सांसद पोखरेलले प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप