बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘मौसमी रोजगारी'का लागि चर्को शुल्क तिरेर विदेशिदै नेपाली युवा

बल्ल कार्यविधि बनाउने तरखरमा सरकार
आइतबार, १२ असार २०७९, १६ : १४
आइतबार, १२ असार २०७९

नेपालबाट पछिल्लो समय संयुक्त अधिराज्य (यूके) मा 'सिजनल वर्कर'का रुपमा जानेको संख्या बढ्दै गएको छ । यूकेले सिजनल वर्करका लागि भिसा उपलब्ध गराएसँगै दस महिनाअघिदेखि नेपाली युवाहरु पनि अल्पकालीन रोजगारीका लागि त्यहाँ जान थालेका हुन् ।

यसरी सिजनल वर्करका लागि जान चाहनेहरुले अनलाइनमार्फत आफैँ आवेदन गर्न मिल्ने भए पनि प्रक्रिया नजान्दा धेरैजसो युवा–युवती बिचौलियालाई चर्को शुल्क तिर्न बाध्य हुने गरेका छन् । त्यस्ता बिचौलिया आधिकारिक 'एजेन्ट' समेत होइनन् ।

कञ्चनपुरका रविन्द्र सिंह (नाम परिवर्तित) अहिले यूकेको क्यान्टबरीस्थित एक स्ट्रबेरी फार्ममा काम गर्छन् । महिनामा २ देखि ३ लाख रूपैयाँ कमाई हुने देखिएपछि ६ महिने भिसाका लागि एजेन्टलाई ५ लाख नेपाली रूपैयाँ तिरेर त्यहाँ पुगेका हुन् उनी।

सामान्यतया ६ देखि ८ घण्टासम्म 'ड्यूटी' गर्ने उनले प्रति घण्टा १०.१० पाउण्ड पारिश्रमिक पाउँछन् । उनलाई बस्नका लागि कोठा दिइएको छ । त्यसका लागि उनले हप्ताको ६० पाउण्ड भाडा तिर्छन् । खानाका लागि छुट्टै खर्च हुन्छ । सबै खर्च कटाएर उनी सरदर मासिक एक हजार पाउण्ड ( डेढ लाख रुपैयाँ) बचत गर्दछन् ।

बेलैमा प्रक्रिया जानेको भए एजेन्टलाई त्यति धेरै रकम आफूले दिनु नपर्ने रहेछ भन्ने उनले बल्ल चाल पाएका छन् । उनी काम गर्ने कम्पनीमा अहिले १० जना नेपाली छन् । तीमध्ये कतिपयले ७ लाख रूपैयाँसम्म एजेण्टलाई बुझाएर आएकाले उनले पनि चित्त बुझाएका छन् ।

काठमाडौंको कपन तेन्जिङ चोककी सम्झना गिरी भने जम्मा एक लाख ७० हजार रुपैयाँ खर्चेर यूके पुगेकी छन् । जेठको तेश्रो साता यूके पुगेकी उनी आफैले अनलाइन मार्फत आवेदन गरेकी थिइन् ।

अनलाइन मार्फत आवेदन गर्दा उनले युकेस्थित कम्पनीलाई आफ्नो फोन नम्बर र इ-मेल छोडेकी थिइन् । त्यसको १० दिनपछि कम्पनीबाट खबर आयो ।

सबै प्रक्रिया गरेर २१ दिनमा उनको भिसा आयो । दुइ दिनको अन्तरमा उनले आफ्ना श्रीमानको पनि अनलाइन मार्फत नै आवेदन गरेकी थिइन्,  दुवैजनाको एकै दिन अन्तर्वार्ता भएकाले उनको त १९ दिनमै भिसा आयो । दुवै जनाले गरेर एक लाख तीन हजार रुपैयाँ आवेदन शुल्क तिरेका थिए । उनीहरुले एक लाख २० हजार रुपैयाँका दरले हवाई टिकट काटेका थिए । 

यूकेमात्र नभएर क्यानडा, नर्वे, फिनल्याण्ड, दक्षिण कोरिया, इजरायल लगायतका देशले पनि विश्वभरबाट सिजनल वर्कर मगाइरहेका छन् । जसका लागि नेपालबाट आवेदन गर्नेहरू पनि निकै छन् ।

व्यक्तिगत रुपमा सिधै अनलाइन मार्फत आवेदन गर्न पाइने भए पनि प्रक्रिया नबुझेकाहरु मेनपावर दलालहरुको सम्पर्कमा पुग्ने र तिनले महँगो शुल्क असुलेर पठाउने गरेका छन् ।

नर्वेका लागि १२ लाख लिँदै एजेन्ट

सामाजिक सञ्जाल फेसबुकमा लेजिवन नेपाल प्रालिले नर्वे सिजनल वर्क भिसा भन्दै एक सूचना राखेको छ । फलफूल, तरकारी तथा खाद्यान्न टिप्ने कामका लागि नर्वेले सिजनल वर्कर मागेको भन्दै निकालेको सूचनामा प्रतिदिन ८ घण्टा काम गर्न पाउने, तलब पहिलो १२ हप्ता ११९ क्रोनर प्रतिघण्टा र बाँकी अवधि १२४ क्रोनर प्रतिघण्टा पाउने उल्लेख छ ।

सोही सूचनाको आधारमा रातोपाटीले लेजिवनका छेसोब शाहीलाई सम्पर्क ग¥यो । समाचार प्रयोजनका लागि जानकारी लिन खोज्दा उनले आफू व्यस्त रहेको जानकारी दिए । केही समयपछि उनलाई अर्कै नम्बरबाट सम्पर्क गरी ‘नर्वे जाने’ भनेर बुझ्न खोज्दा उनले १२ लाख रूपैयाँ खर्च लाग्ने बताए ।

एक लाख रूपैयाँ आफ्नो चार्ज र बाँकी भिसा प्रक्रियामा खर्च हुने उनको दाबी थियो । जबकि नर्वेले भिसा शुल्क भनेर ५३६.५४ पाउण्ड तोकेको छ । जुन लगभग साढे ८२ हजार नेपाली रूपैयाँ बराबर हो ।

तर, शाहीले नेपाल सरकारमार्फत नभएर आफूहरूले सिधै कम्पनीसँग सम्पर्क गरेर कामदार पठाउन लागेकाले खर्च बढी लाग्ने बताए । उनले अक्टोबरसम्ममा १५० जना नेपाली कामदार पठाउने बताए । १० वटा कम्पनीमार्फत १५० जना सिजनल वर्कर माग भएकाले सोही आधारमा कामदार पठाउने उनको भनाइ थियो ।

यूकेका लागि माग बढी

सिजनल भिसाबाट झन्डै एक हजार नेपाली यूके पुगिसकेका छन् भने कतिपय जाने तयारीमा छन् । अहिलेसम्म कति जना नेपाली सिजनल भिसामार्फत यूके पुगे भन्ने आधिकारिक तथ्यांक भने नेपाल सरकारसँग छैन ।

अहिले यूकेका लागि विभिन्न चार वटा कम्पनीले विश्वभरबाट सिजनल कामदार भित्र्याइरहेका छन् । जुनसुकै देशबाट पनि अनलाइन मार्फत आवेदन गर्न सकिने कम्पनीहरुले जनाएका छन् ।

कति लाग्छ खर्च ?

यूकेमा सिजनल भिसाका लागि आवेदन दस्तुर बापत २५९ पाउण्ड तिर्नुपर्छ । जुन लगभग ४० हजार नेपाली रूपैयाँ हो । यो बाहेक भिसा आइसकेपछि हवाई जहाजको टिकट काट्नु पर्छ । नेपालदखि यूकेसम्मको हवाई भाडादर एक लाख २० हजारदेखि एक लाख ७० हजार रुपैयाँसम्म पर्न सक्छ । यो पाउण्डको विनिमय दर तलमाथि हुँदा सामान्य रकम फरक पर्न सक्छ ।

श्रम स्वीकृति लिनुअघि स्वास्थ्य परीक्षण गराउनुपर्छ । यसरी सबै शुल्क गर्दा दुईदेखि दुई लाख ५० हजार रुपैयाँमा सिजनल कामदारको रूपमा यूके जान सकिन्छ । तर, सिजनल वर्करको आवेदन प्रक्रिया थाहा नहुँदा कतिपय नेपाली युवा युवती दोब्बर वा सोभन्दा बढी रकम तिरेर यूके गइरहेका छन् ।

वैदेशिक रोजगार विभागले भने अहिलेसम्म कोही पनि ठगीएको भनेर आफूहरूकहाँ नआएको र आएको खण्डमा कानुन बमोजिम कारवाही हुने जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले यसरी महँगो शुल्क तिरेर जाने गरे पनि यसबारे कसैले उजुरी नगरेकाले कारवाही नभएको बताए ।

बेलायतको ब्यूरो अफ इन्भेष्टिगेटिभ जर्नालिज्म र द गार्डियन पत्रिकाद्वारा संयुक्त रुपमा गरिएको खोजले सिजनल वर्करका रुपमा युके पुगेका थुप्रै नेपाली ठगीको सिकार भएको खुलासा गरेको छ । केही समय अगाडि सार्वजनिक उक्त खोज अनुसार हेरफेर्डसायरस्थित कोब्रे फार्ममा काम गर्ने १५० नेपाली कामदार बढी शुल्क तिरेर आएको पाइएको थियो ।

सिजनल वर्करलाई कानुनले चिन्दैन : विभाग

सिजनल वर्कर भिसालाई नेपालको कानुनले नचिन्ने भन्दै व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेको महानिर्देशक पौडेलले बताए ।

‘नेपालबाट व्यक्तिगत र संस्थागत मार्फत विदेश जान सकिन्छ । तर, यो सिजनल भिसालाई कानुनले नचिन्ने भएकाले हामीले अवैध नै मान्नुपर्छ,’ महानिर्देशक पौडेलले भने ।

‘युवाहरु २/३ वर्षका लागि खाडी जानुभन्दा त ६ महिनाका लागि यूके जानु राम्रो कुरा हो । तर, कानुनले यसलाई नचिन्ने भएकाले भोलि कुनै समस्या परेको खण्डमा हामी केही गर्न सक्दैनौं,’ उनले भने ।

यसरी विदेश जाँदा भविष्यमा कुनै समस्या आइपरेको खण्डमा राहत तथा उद्धारमा समस्या हुने उनको भनाइ छ । ‘विदेशमा काम गर्ने क्रममा अंगभंग भयो भने कसले जिम्मेवारी लिने ? ६ महिनापछि कामदार नेपाल फर्किएन भने के हुने ? बीमा कसले गर्ने ? जस्ता विषयमा हाम्रो विद्यमान कानुनले चिन्दैन,’ उनले भने ।

दुई वर्षभन्दा कम अवधिको करार भएकाहरुलाई विभागले श्रम स्वीकृति नै दिँदैन, जसले गर्दा उनीहरुको तथ्याङ्क राज्यसँग हुँदैन ।

कति नेपाली गए यूके ?

विभागले सिजनल वर्करको रूपमा कति नेपाली यूके गए भन्ने तथ्यांक राखेको छैन । तर, वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिएर चालु आर्थिक वर्षमा ९३७ जना यूके गएको देखिन्छ ।

तीमध्ये १२८ जना महिला र ८०९ जना पुरुष छन् । वैदेशिक रोजगार कार्यालयका अनुसार यूकेमा सिजनल वर्कर भिसा खुलेदेखि नै नेपालीहरु फाट्टफुट्ट  गएका र अहिले लर्को लाग्न थालेको छ ।

सिजनल वर्कर भिसामा गत भदौमा एक जना नेपाली यूके गएका थिए । त्यसपछि असोजमा ३ जना, कात्तिकमा १० जना, मंसिरमा १५ जना, पुसमा ५ जना, माघमा ८ जना, फागुनमा ११ जना नेपाली सिजनल भिसामार्फत यूके गएका थिए ।

चैतमा ३३ जना पुरुष र ६ जना महिना गरी ३९ जना नेपाली सिजनल वर्कर भिसामा यूके गएका थिए । त्यस्तै वैशाखमा ३१३ पुरुष र ४९ जना महिला गरी ३६२ जना, जेठमा ४१० पुरुष र ७३ जना महिला गरी ४८३ जना सिजनल वर्करको रुपमा यूके गएको वैदेशिक रोजगार कार्यालयको तथ्यांकले देखाएको छ ।

कार्यविधि बनाउँदै सरकार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले सिजनल भिसालाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी भइरहेको जानकारी दिए ।

अहिले यूकेसँगै दक्षिण कोरिया, क्यानडा लगायतका देशमा सिजनल वर्करको रुपमा नेपाली कामदार जान लागेको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी भएको उनको भनाइ छ ।

‘यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर हामीले सबै मन्त्रालयसँग छलफल गरिरहेका छौं । अब कार्यविधि बनाएर यसलाई व्यवस्थित गर्छौं,’ प्रवक्ता घिमिरेले भने ।

कार्यविधि बनेपछि सिजनल वर्करले भोग्दै आएका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ । उक्त कार्यविधिले मौसमी रोजगारका लागि विदेश लान वा जान मापदण्ड तय गर्ने, श्रम स्वीकृति दिने, कामको प्रकृतिसँगै आम्दानी, सुरक्षा लगायतका विषयमा पनि ध्यान दिइने उनले बताए ।

सन् २०२१ मा यूके सरकारले सिजनल वर्करको भिसा प्रणाली सन् २०२२ देखि २०२४ सम्म कायम हुने घोषणा गरेको थियो ।

यूकेले सन् २०२२ मा ४० हजार कामदार भित्र्याउने योजना छ । जसमा ३० हजार कामदारको भिसा सुनिश्चित भइसकेको यूके सरकारले जनाएको छ । त्यसका अतिरिक्त १० हजार कामदारलाई पाइपलाइनमा राखेको छ ।

सिजनल वर्करका लागि यूकेले चार वटा कम्पनीलाई जिम्मा दिएको छ । उनीहरुले आफूले चाहेको देशबाट कामदार छनोट गर्न सक्छन् । चार वटा कम्पनीमा -

1. AG Recruitment and Management

2. Concordia Limited

3. Fruitful Jobs

4. Pro-force

यी कम्पनीहरुले आ-आफ्नो वेबसाइटमा सिजनल भिसाका लागि कुनै पनि 'एजेण्ट'को भर नपर्न सुझाव दिएका छन् । कम्पनीलाई गरेको मेलका आधारमा उतैबाट रेस्पोन्स हुन्छ र सोही आधारमा कम्पनीले छनोट गरेर यूके ल्याउने भएकाले कुनै एजेण्टको भर नपर्न ती कम्पनीहरुले सल्लाह दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप