शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक जोर कम्युनिष्टको सङ्घर्षमय जीवन

आइतबार, १२ असार २०७९, १६ : ३८
आइतबार, १२ असार २०७९

नारायणमान विजुक्छेँ ‘रोहित’ सानैदेखि रसिक थिए । उनी बाल्यकालदेखि नै मिलनसार र त्यति नै भद्र पनि थिए । घरको जेठो छोरो भएकाले एकातिर घरको व्यवहार थाप्लोमा पर्नु, अर्कातिर कम्युनिस्ट भएर राजनीतिमा सक्रिय हुनु एवम् शारीरिक रोगको उपचारपछि आआनो स्वास्थ्यलाई जोगाइराख्नुपर्ने अवस्था यिनको थियो । त्यसैले यिनले केटीहरूसँग जसरी मन खोले त्यसरी नै तन खोल्नचाहिँ सकेका थिएनन् ।

रोहितले आफ्नो उमेर छिप्पिएपछि मात्र बिहे गरे । यिनले रामेछापका प्रधान परिवारसँग नाता गाँसे । रामेछापकी शोभा प्रधानकी फुपू भक्तपुरमा बस्ने गर्थिन् । तिनै फुपूसँग रोहितको परिवारको पनि सम्पर्क थियो । शोभा प्रधान आफ्नी फुपूलाई भेट्न प्रायः भक्तपुर आइरहन्थिन् । त्यसै बेला रोहितले शोभालाई देखेका थिए । शोभा शारीरिक रूपमा जति राम्री देखिन्थिन् उनको मन पनि त्यत्तिकै राम्रो भएको रोहितले एकै झमटमा अडकल काटेका थिए ।

शोभाका बुबा श्यामलाल प्रधान रामेछापमा नै शिक्षण सेवामा आबद्ध थिए । श्यामलाल र नारायणदेवी प्रधानका पाँच छोरी र एक छोरामध्ये शोभा प्रथम सन्तान थिइन् । शोभाको जन्मचाहि २०१७ साल पुस १४ गते रामेछापको ठोसेमा भएको थियो ।

रोहितको विवाहको प्रसङ्ग पनि त्यत्तिकै रोचक छ । विवाह गर्ने क्रममा रोहितका छेउमा शोभालाई उपस्थित गराइएको थियो । त्यस बेला रोहितले आफ्नो विगत जीवन कथाका सारा नालीबेलीले मकैका फुल फुलाएका थिए । रोहितका जीवनका तिनै तीतामीठा घटनाले शोभा प्रधानको मन पग्लेको थियो । त्यसै प्रसङ्गमा शोभा प्रधानले पछिपछि पनि भन्ने गरेकी थिइन् ‘मेरा श्रीमान्को जीवन कहानी सुन्दा मलाई उहाँ मन पर्यो र विवाह गर्ने वचन दिएकी हु ।’

नारायणमान विजुक्छेँ ‘रोहित’को विवाहको प्रसङ्ग यसभन्दा पहिले पनि आएको थियो । कुरा के हो भने, भक्तपुरकै एउटा प्रतिष्ठित परिवारमा जन्मेकी, हुर्केकी र बढेकी माधुरी श्रेष्ठसँग रोहितको विवाह गर्ने कुरा चलिरहेको थियो । माधुरीका बुवा पनि भक्तपुरकै एउटा स्कुलमा शिक्षक थिए । साथै उनका दाजुभाइचाहिँ कोही डाक्टर थिए, कोही व्यापारी थिए र कोही शिक्षक थिए । त्यति मात्र होइन; माधुरीसँग रोहितको जात पनि मिल्थ्यो, संस्कृति पनि मिल्थ्यो र उमेर पनि मिल्थ्यो ।

माधुरी श्रेष्ठसँग विवाह गर्ने समयभन्दा केही दिनअघि रोहित घरबाट निकालिएका थिए । छोरो राजनीतिमा लाग्यो भन्ने विषयलाई आधार बनाएर गणेशमान विजुक्छेँले रोहितलाई घरबाट निकालेका थिए । एकातिर बाबुले अपर्झट घरबाट निकाल्नु र अर्कातिर माधुरीसँग वैवाहिक जीवन गास्नुपर्ने परिस्थितिमा रोहित एउटा कठिन मनस्थितिमा पुगे । उनी यस्तो विषम परिस्थितिमा पनि धैर्यपूर्वक बाबुका घरबाट अलग भए । त्यति बेला उनले बाबुसँग अलग हुनुलाई कुनै अनौठो घटना मानेका थिएनन् । त्यसैले धैर्यपूर्वक उनले तत्कालै नयाँ डेरा खोजे र त्यहाँ आफ्नो आसन जमाए । उनले माधुरीसग जिन्दगानी चलाउने योजना बमोजिम भाडाकुडा किने, ओड्ने ओछ्याउने किने र अन्य आवश्यकीय सरसामानहरू पनि किने । त्यति बेला उनको सपना, विपना र भावना माधुरीसँग जीवनयापन गर्ने विषयमा एकैनासले गाँसिइरहेको थियो ।

२०२५ सालको कुरो हो; रोहितको माधुरी श्रेष्ठसग वैवाहिक लगनगाँठो कसिने सुरसार थियो । आफ्नो बिहे हुनुभन्दा केही दिनअघि रोहित विद्यार्थीहरूलाई ट्युसन पढाएर बसिरहेका बेला मङ्गले चौगुठी भन्ने एक जना मानिसलाई भ्रष्टाचार गरेको अभियोगमा जनताले उल्टो टोपी लगाएर घुमाउदै थिए । त्यतिखेर ती चौगुठी भन्ने मान्छे सहकारी संस्थाका सभापति थिए ।

मङ्गले चौगुठीले सहकारी संस्थाका लागि जनतासँग पैसा उठाउने गर्थे र बचत कोष पनि चलाउने गर्थे । उनले त्यही पैसाबाट आफ्नो व्यापार व्यवसाय पनि गर्ने गर्थे । यो कुरा थाहा पाएपछि जनताले चौगुठीसँग सम्पूर्ण हिसाबकिताब माग्न थाले । चौगुठीले भने जनतालाई त्यसरी हिसाबकिताब हेर्ने अधिकार छैन भनेर टार्ने मात्र काम गर्थे । उनको व्यवहारबाट भक्तपुरका जनता साह्रै रिसाएका थिए । परिणामस्वरूप टोलटोलका मान्छे धुरिएर चौगुठीलाई समाते । केही समयपछि त्यहा निक्कै ठूलो भीड लाग्यो । त्यो बेहोरा प्रहरीसमक्ष पनि पुग्यो । प्रहरीहरू त्यस ठाउँमा आएर चौगुठीलाई हामी सजाय गर्छौं भनी छुटाएर लगेको घटना रोहितका लागि अनौठो भयो ।

चौगुठीको घेराबन्दीका कारण भक्तपुरमा प्रहरी गतिविधि बढ्यो र माधुरी श्रेष्ठसँग विवाहको प्रसङ्ग पनि भताभुङ्ग हुन पुग्यो । वास्तवमा त्यसै दिन अर्थात् माधुरी श्रेष्ठसँग बिहे गर्ने मिति तोक्ने दिन चौगुठीको कारणले रोहित पनि प्रहरीको घेराबन्दीमा परेका थिए । त्यसै दिनको अपराह्न बाह्र बजे बिहेको छिनोफानो गर्ने समय निर्धारण गरिएको थियो, तर साँझ पाँच बजेसम्म पनि रोहित त्यस ठाउँमा पुग्नै सकेका थिएनन् । त्यसपछि पनि उनलार्ई भूमिगत हुनका लागि साथीहरूको रायसल्लाह प्राप्त भएको थियो । त्यसैले उनी भूमिगत पनि भए । त्यस घटनापछि उनी तीन वर्षसम्म हराएका थिए ।

२०४० सालको कुरो हो; त्यतिखेर भक्तपुरकै दरबार स्क्वायरमा नारायणमान विजुक्छेँ ‘रोहित’को माधुरी श्रेष्ठसँग भेट भएको थियो । बीस वर्षपछि पनि रोहितले माधुरी श्रेष्ठलाई चिने र माधुरीले पनि रोहितलाई चिनिन् । त्यस घडी दुवैले दुवैलाई केहीबेर हेरिरहे । तर त्यति बेला माधुरी छोराछोरीकी आमा पनि भइसकेकी थिइन् । उनी त्यतिखेर आप्ना नानीहरूसँग हिडिरहेकी थिइन् । त्यस बेलाको प्रसङ्ग जोड्दै रोहितले एक दिन नइलाई भनेका थिए हामी दुईको जम्काभेटमा एकअर्कालाई हेर्दै खिस्स हाँसेका थियौ । त्यस हासोपछि माधुरीले आआना छोराछोरी मलाई देखाउदै भनेकी थिइँन्- ‘मामालाई नमस्कार गर !’

क्रमश: भोलिको ‘रातोपाटी’ हेर्नुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप