बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्घात नभए काँग्रेसलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : उपसभापति खड्का

आइतबार, १२ असार २०७९, २० : ००
आइतबार, १२ असार २०७९

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफुले शिर निहुरिने गरेर कहिल्यै काम नगर्ने बताएका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई प्रभावकारी रुपमा जनताको पक्षमा काम गर्न आग्रह गर्दै उनले आफुले पनि कर्णालीवासी र सुर्खेती जनताको शिर निहुरिने गरी कहिल्यै काम नगर्ने बताए ।

आइतबार वीरेन्द्रनगरमा आयोजित स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, पार्टीका नगर सभापति, पदाधिकारी, महाधिवेशन प्रतिनिधि लगायतलाई बधाई तथा शु–भकामना कार्यक्रममा बोल्दै उनले भने, ‘निराशा र नकरात्मक सोचले पार्टीमा काम नगर्नुस् ।’ 

स्थानीय तहको निर्वाचनमा काँग्रेसले पाएको जनमत गौरव गर्न लायक भएको बताउँदै खड्काले २०४९ सालपछि काँग्रेसले सबैभन्दा बढी सीट जितेको उल्लेख गरे ।  साथै खड्काले काँग्रेस भित्रकै साथीहरूका कारण केही समस्या भएको समेत बताए । उनले भने, ‘रुख चिन्हबाहेक अन्य ठाउँमा भोट नहालेको भए ६२ प्रतिशत काँग्रेसले जित्ने आङ्कलन अहिलेको तथ्याङ्कले देखाउँछ । सबै पार्टीभित्र समस्या छ । त्यो काँग्रेसमा पनि छ । पार्टीभित्रको विमत्तिलाई बहाना बनाएर कसैले पनि काँग्रेसको निर्णयका विरुद्ध, रुखबाहेक अन्य पार्टीमा भोट हाल्न लगाउने कुरा उचित हुँदैन ।’ 

सुर्खेतमा काँग्रेसभित्रको अन्तरविरोधलाई लक्षित गर्दै खड्काले पार्टीभित्र समस्या भयो भन्दैमा अर्कोलाई मत हाल्न लगाउनु कुनै पनि हालतमा सह्य हुन नसक्ने बताए । समस्याको समाधान पार्टीभित्र गरिनुपर्छ,’ खड्काले भने, ‘पार्टी बिर्सन थाल्नुभयो भने एक्लै हिँड्ने प्रवृत्ति हावी हुन्छ । जसले गर्दा पार्टीमा समस्या हुन्छ ।’ 

साथै उनले निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको पक्षमा रहेर काम गर्न आग्रह गरे । निर्वाचित जनप्रतिनिधिमा लोभ लालच बढ्नुभएन,’ उनले भने, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुहोस् । राजनीतिको पवित्र उद्देश्यमाथिको जगमा रहेर अघि बढ्नुपर्छ ।’ 

खड्काले यदि काँग्रेसभित्र नै अन्तर्घात गर्ने प्रवृत्ति हावी नभए प्रदेश र संघको चुनावमा काँग्रेसलाई बहुमत ल्याउनबाट कसैले नरोक्ने दाबी गरे । काँग्रेसको सिद्धान्त आज पनि संसारका लागि लोभलाग्दो छ,’ उनले भने,‘जनप्रतिनिधिले जनतालाई मन नपर्ने कार्य गर्नुभएन । स्थानीय तहका जनप्रतिनिधिहरुले विकास बजेट भौतिक सुविधामा खर्च भएको कुरा आएको छ । त्यसो नगरिदिनुहोस् ।’ खड्काले कमजोरीहरुलाई आत्मसात गर्दै जनताको बीचमा गएर प्रदेश र संघको चुनावमा लाग्नुपर्ने तर्क गरे । साथै उनले देशमा वर्तमान समयमा उठिरहेका विषयमाथि टिप्पणी गर्दै काँग्रेसले देशलाई श्रीलंकाको बाटोमा जान नदिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप