ad
x

होल्डिङ सेन्टर निर्माण बल्ल सम्पन्न, कसरी उपयोग गर्ने भन्नेमा अन्यौल

person explore access_timeअसार १२, २०७९ chat_bubble_outline0

कोराना संक्रमण उत्कर्षमा पुगेको समयमा एक महिनामै बनाउने गरी विराटनगरमा सुरु गरिएको होल्डिङ सेन्टरको काम कोरोना सकिएको लामो समयपछि बल्ल सम्पन्न भएको छ । तर, अब यो होल्डिङ सेन्टरको उपयोग कसरी गर्ने भन्ने विषयमा सरकार अन्योलमा देखिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले होल्डिङ सेन्टरको काम करिव सकिएको बताए । होल्डिङ सेन्टरको प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।


‘यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । प्रदेश सरकारले होल्डिङ सेन्टरको सञ्चालनको विधि बनाउनुपर्छ । यो कुरा हामीले केन्द्रमा पनि अनुरोध गरेका छौं,’ उनले भने, ‘विपदमा केही समय आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने अवस्था छ भने कोभिडजस्ता महामारी आउँदा प्रयोग गर्न सकिने अवस्था पनि छ ।’



यो क्षेत्रमा लागू औषध दुर्व्यसनीको संख्या बढ्दो रुपमा रहेको उल्लेख गर्दै उनले बोर्डर एरियामा लागू औषध सेवन गर्न जाने र फर्किनेहरूलाई होल्डिङ सेन्टरमा राख्न सकियो भने काउन्सिलिङ गर्ने, मनोसामाजिक परामर्श दिने तथा उपचारका कुराहरु गरेर मात्रै परिवारमा जिम्मा लगाउने सन्दर्भमा पनि यसलाई प्रयोग गर्न सकिने प्रस्ट पारे ।

उक्त होल्डिङ सेन्टर एक हजार जना क्षमताको छ । हाल विराटनगर हुँदै भारतको जोगवनी गएर लागूऔषध दैनिक सेवन गर्नेहरुको संख्या ५ सयदेखि १ हजार जनासम्म रहेको तथ्याङ्क छ । भारतबाट आएका सम्भावित कोराना संक्रमितलाई ‘होल्ड’ गर्न एक महिनामा काम सक्ने गरी विराटनगर–१६ मा २०७८ असार ३ गतेबाट निर्माण सुरु भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका पालामा २८ करोड ९१ लाख ३३ हजार ६९३ रुपैयाँ ९३ पैसा लागतमा होल्डिङ सेन्टर निर्माण सुरु गरिएको थियो । विराटनगर–१६ स्थित जुट मिल्सको जग्गामा १ हजार शय्याको होल्डिङ सेन्टर निर्माणको काम अहिले सकिएको छ ।

ओली नेतृत्वको सरकारले ०७८ वैशाख ६ गते नेपाल–भारत सीमा क्षेत्रमा विराटनगरसहित विभिन्न आठ स्थानमा एक हजार शय्या क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । यस्तै १३ वैशाखमा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो ।

होल्डिङ सेन्टरमा मूल क्वारेन्टाइन ब्लक, किचेन, डाइनिङ र शौचालय गरी ५९ वटा ब्लक छन् । जसमध्ये किचन १५ वटा, शौचालय २२ वटा, सीमा नाकाबाट प्रवेश गर्ने नागरिकहरुलाई राख्ने क्वारेन्टाइन ब्लक २० वटा र प्रशासनिक ब्लक दुईवटा छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।