बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महाराजगञ्जको नालीमा गायिकाको सल भेटियो, पक्राउ परेकाले दिए यस्तो बयान

शंकास्पदको जिकिर–‘झुण्डिएकी दिलमायालाई बचाउन खोजेको हुँ’
आइतबार, १२ असार २०७९, १८ : ५६
आइतबार, १२ असार २०७९

 काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको सल महाराजगञ्जमा भेटिएको छ । महाराजगञ्ज स्थित नालीमा सल भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । 

शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले काभ्रे घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले उनको डेरामा गएर बिहान फर्केको स्वीकारेका छन् । प्रहरीको अनुसन्धानबाट गायिकाको सल श्रेष्ठले नै  महाराजगञ्जस्थित कतार भिषा सेन्टर अघिल्तिर नालीमा फालेको प्रहरीसँग स्वीकार गरेका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार नालीमा फेला परेको सल गायिकाको भएको पुष्टि भएको छ । सूर्य श्रेष्ठले सल फालेको स्वीकार गरेपनि हत्या गरेको अस्विकार गरेका छन् । शुक्रवार साँझ पौने ९ बजे खसीको मासु लिएर श्रेष्ठ गायिकाको डेरामा गएको अनुसन्धानबाट थाहा भएको छ ।

मासु, भात र अचार बनाएर दुवैले खाए । छातीमा चोट लागेको हुनाले खाना खाएपछि आफू  मल्हम र नदुख्ने औषधी किन्न  बाहिर निस्केको श्रेष्ठले प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार श्रेष्ठले गायिकाको डेरामा ३ गिलास रक्सी खाएका थिए । करिब पौने १२ बजेतिर उनी औषधी किन्न निस्केका हुन् ।

औषधी खाएर आफू निदाएको र गायिका मोवाइल चलाएर बसेको श्रेष्ठले प्रहरीलाई बताएका छन् । ‘ब्यूझिँदा झुण्डिएको देखेँ’ श्रेष्ठले भनेका छन्–‘पहिलेपनि विष खाएर आत्महत्या प्रयास गरेको हुनाले बचाउन सक्छु भनेर पासोबाट निकालेर तल राखेँ, कृत्रिम स्वास दिएँ ।’ उनीहरु लिभिङ टुगेदरमा रहेको बताइएको छ । 

तर, गायिकाको शरीर चिसो भएपछि आफू गोठाटार गएको श्रेष्ठले प्रहरीलाई बताएका छन् । श्रेष्ठको डेरा गोठाटारमा छ । नेपालटारबाट करिब ४ बजे निस्केका उनले बाटोमा जाँदा सल फालेर हिँडेका हुन् ।

लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फेला परेको छैन् । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो भन्नेबारे नखुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

पोष्टमार्टम रिपोर्ट नआउँदासम्म गायिकाले आत्महत्या गरिन्, या हत्या भयो भन्नेबारे भन्न नसकिने अनुसन्धान कार्यालयका एसएसपी कुँवरले बताए ।

मृत्युअघि दिलमायाले फेसबुकमा लेखेकी थिइन्–‘जिवनसँह हार खाएँ ।’ एक छोराकी आमा उनी पतिसँग डिभोर्स गरेर बसेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप