शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

इरान र इजरायलबीचको छायाँ युद्ध कहाँ गएर अन्त्य होला ?

आइतबार, १२ असार २०७९, २० : ४६
आइतबार, १२ असार २०७९

केही अघि इजरायलले टर्की घुम्न जाने आफ्ना नागरिकलाई सचेत रहन र सकेसम्म यात्रा नगर्न निर्देशिका जारी गर्यो । इजरायली पर्यटकमाथि सम्भावित इरानी आक्रमणको डरमा यस्तो सूचना जारी गरिएको थियो ।

यो पछिल्लो समय इरान र इजरायलबीच चलिरहेको तिव्र छाया युद्धको परिणाम हो । इजरायल र इरानबीच वर्षौंदेखि छाया युद्ध चलिरहेको छ र दुवै पक्षले दोस्रोमाथि लुकेर आक्रमण गरिरहेका छन् । इरानले पटक पटक इजरायललाई संसारको नक्साबाट मेटाउने चेतावनी दिँदै आएको छ । इजरायल इरानलाई आफूमाथिको सबैभन्दा ठूलो खतराको रुपमा हेर्छ । 

इरान इजरायललाई अमेरिकाको मित्र र क्षेत्रीय शक्तिको रुपमा उठ्न लागेको शक्तिको रुपमा हेर्छ । इजरायल र इरानबीचको तनावले सन् २०२० मा एक ठूलो नाटकीय मोड लियो ।  त्यस समय इरानले इजरायलमाथि आफ्नो आणविक वैज्ञानिक मोहसिन फखजादालाई मारेको आरोप लगायो । फखजादा इरानको राजधानी तेहरानको बाहिरी क्षेत्रमा कार चलाईरहँदा मारिएका थिए । 

फखजादालाई रिमोट कन्ट्रोल मेसिनगन प्रयोग गरेर मारिएको आरोप छ । इजरायलले हत्यामा उसको संलग्नता स्वीकार पनि गरेको छैन र नकारेको पनि छैन । फखजादा सन् २००७ पछि मारिएका इरानका पाचौं आणविक वैज्ञानिक हुन् । न्युयोर्क टाइम्सले इजरायलले कसरी यो घटनालाई कार्यन्वयन गर्यो भनेर विस्तारमा लेखेको छ
। 

पश्चिमी देशका गुप्तचर एजेन्सीको विश्वासमा फखजादा आणविक हतियार बनाउने गोप्य कार्यक्रमको नेतृत्व गरिरहेका थिए । त्यसै कारणले उनी लामो समयदेखि निशानामा रहेको इजरायलका गुप्तचर एजेन्सी मोसादका पूर्व प्रमुखले खुलाए । 

इजरायल र इरानबीच पहिले गुप्त रुपमा चलिरहेको आक्रमण र जवाफी आक्रमणको खेल अब खुलेर चल्न थालेजस्तो देखिन्छ । यसबीच प्रधानमन्त्री त्यागेका नेफ्ताली बेनेटले इजरायले ‘अक्टोपस सिद्धान्त’ लागु गर्ने बताए । यस अन्तरगत इरानका परमाणु, मिसाइल र ड्रोन कार्यक्रमविरुद्ध गुप्त अपरेसनलाई तिव्रता दिइनेछ । 

तेहरान विश्वविद्यालयका प्राध्यापक र भियना वार्तामा इरानको आणविक सम्झौताको लागि भएको वार्ताका मिडिया सल्लाहकार मोहम्मद मरादीका अनुसार ः ‘पश्चिमी देशको राजनीतिक समर्थन भएको इजरायलको लागि निर्दोष नागरिकको हत्या नयाँ कुरा होइन । तर उसले अहिले दुर्घटना र स्वभाविक मृत्युलाई पनि आफूले गरेको भनेर आफ्नो क्षमता बढाईचढाई गरिरहेको छ । इरानले अहिलेसम्म धैर्य देखाएको भए पनि एकदिन जवाफी कारबाही गर्नेछ । ’

इरान पनि इजरायलविरुद्ध कठोर हुने गर्छ । उसको कुद्स फोर्स (यो रिभोलुश्नरी गार्डको विदेशी अपरेशन इकाई हो) का प्रमुख जनरल इस्माईल कयानीले इरानले संसारको जुनसुकै कुनामा अमेरिका र इजरायलविरुद्ध हुने विरोधको समर्थन गर्ने बताएका थिए । 

कयानीअघि कुद्स फोर्सका प्रमुख रहेका कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन प्रयोग गरेर मारेको थियो । सन् २०२० जनवरीमा अमेरिकाको सो आक्रमणले सम्पूर्ण संसारमा सनसनी फैलाएको थियो । 

अमेरिकी राष्ट्रपति जो बाइडेन आगामी केही दिनपछि इजरायल र साउदी अरबको यात्रा गर्दैछन् । तर बाइडेन प्रशासनका एक अधिकारीकाअनुसार अमेरिका अहिले नै इरान र इजरायल बीचको संघर्ष चिन्ताजनक स्थितिमा नपुगेको विश्वासमा देखिन्छ । 

इरान र इजरायल बीचको यो टकराव लामो समयदेखि चलिरहेको छ । एक अर्कामाथि अचानक आक्रमण भइरहेको छैन तर पहिले लुकेर हुने आक्रमण अहिले खुलमखुला हुन थालेको छ । अमेरिकाको गुप्त अभियानको आफ्नै सीमाहरु हुनसक्छ,’ वाशिङ्टनस्थित थिंक ट्यांक डिफेन्स फर डेमोक्रेटिकका शीर्ष एडभाईसर रिच गोल्डबर्गले भने । 

‘इरान र इजरायल बीचको छाँया युद्ध विस्तारै विस्तारै सामान्य लाग्न थाल्दै गएर आणविक संयन्त्रमाथि समेत सिधै आक्रमण हुने स्थिति नआउन भन्न सकिदैन त्यस्तो भयो भने विश्व समुदायले यस्तो सैन्य आक्रमण रोक्न समेत केही भन्न पाउँदैन,’ गोल्डबर्गले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप