मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जालले धानेको जीवन

सोमबार, १३ असार २०७९, १० : ४०
सोमबार, १३ असार २०७९

आफ्नै सुरमा उर्लिरहेको राप्ती नदी, मध्यान्हको चर्को घाम, घामले डढेको कालो अनुहार, जाल हान्ने अनि तान्ने, जालमा आएका माछालाई भाँडोमा सङ्कलन गर्ने । दैनिक यही सिलसिलामा व्यस्त हुन्छन् बचनलाल अहिर ।

दाङको राप्ती गाउँपालिका–१ बस्दै आएका उनी रौतहट जिल्लाको चन्द्रनिगाहपुर–१ का स्थायी बासिन्दा हुन् । यद्यपि, २२ वर्षदेखि राप्ती नदीसँग उनको सामिप्यता बढेको छ । रौतहटदेखि दाङसम्मको यात्राका क्रममा बाटोमा अनेक नदी रहे पनि कर्मले उनलाई राप्तीमै ल्याएर छोड्यो ।

सम्पत्तिको नाममा उनको घरबासमात्र थियो । २०५० सालको बाढीले घरबास लग्यो । उठीबास लागेपछि गाँस र बासको खोजीमा भौतारिनुपर्ने अवस्थामा पुगे उनी ।

आङको एकसरो लुगासँग श्रीमती, ३ छोरा र एक छोरी बोकेर उनी गाँस र बासको खोजीमा निस्किए । हातमा जीवन धान्ने कुनै सिप थिएन । अलिअलि माछा मार्ने सिप थियो । राप्ती नदी देखेपछि उनलाई जीवन धान्ने आश जाग्यो र उनी यहीँ ओर्लिए ।

२२ वर्षअघिको परिस्थिति सुनाउँदै उनले भने, ‘हामीसँग हातमा केही थिएन । बाढीले उठीबास लगायो । बास–गाँस खोज्न हिँड्यौँ । झोलामा एउटा जालो थियो । नदी बगेको देखेपछि हामी बसबाट यहीँ ओर्लिहाल्यौँ ।’

माछा मारेर भए पनि बाँचिन्छ भन्ने आशले आफूहरू राप्तीमा बस्न थालेको उनले सुनाए । उनले बाह्रै महिना आफू नदीमै निर्भर रहने बताए । ‘एक दिन माछा मार्न नआए हाम्रो चुलो बल्दैन,’ उनले भने ।

जीवन त जसोतसो चलिरहेको छ । छोराछोरीलाई पढाउन नसकेकोमा चिन्ता छ उनलाई । अरूका छोराछोरी स्कुल गएको देख्दा आफ्ना छोराछोरीको अवस्थाले गिज्याउँछ उनलाई । तर उपाय केही नभएपछि सबै सहनुपर्ने रहेछ भन्ने अनुभव हासिल गरेका छन् उनले ।

परिवारका कोही सदस्य बिरामी भएमा अर्को समस्या थपिन्छ उनलाई । आफू मुटुको रोगी भएको तर राम्रोसँग उपचार गराउन नसकेको पीडा पनि सुनाए उनले । ‘म मुटुको रोगी हो तर, औषधि खाने पैसा छैन, जतिसम्म बाँच्छु, यसरी नै बाँच्छु,’ उनले भने । आफू मरेको अवस्थामा परिवारको अवस्था के होला भन्ने पनि चिन्ता छ उनलाई ।

राप्ती नदीसँग यही पीडा साट्दै बाँचिरहेका माझी थुप्र्रै भेटिन्छन् । भालुवाङ बजारमा बसोबास गरिरहेका करिव २० माझी घरपरिवारको नुनतेलको जोहो नदीले टार्दै आइरहेको छ ।

दिनभरिमा एक किलो माछा मार्न पनि मुस्किल हुने उनीहरू सुनाउँछन् । बजारमा अहिले एक किलो माछाको करिब ६ सय रुपैयाँ दाम आउने उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप