ad
x

बुद्धको ‘ह्यापिनेस फर्मुला’ : यस्ता छन्  मनलाई सशक्त बनाउने सात अभ्यास

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

धेरैजसो धर्मग्रन्थहरू ‘ईश्वर’ शब्दबाट सुरु हुन्छन् । बौद्ध धर्मको सारग्रन्थ धर्मपद भने ‘मन’ शब्दबाट सुरु हुन्छ । बुद्धले बारम्बार एउटै कुरा दोहर्याएका छन्– मन नै प्रधान हो । त्यसैले, मनलाई प्रशिक्षित गर । धर्मपदमा भनिएको छ– प्रशिक्षित गरिएको, पहरा दिइएको मनले आमाबुबाले पनि दिन नसक्ने अपार सुख दिन्छ । अप्रशिक्षित मन जंगलीजस्तै हुन्छ । त्यस्तो मनले शत्रुले पनि नदिने दुःख दिन्छ ।


धर्मपदमै बुद्धले मनलाई ‘नदेखिने गुफामा लुकेर बस्ने, अत्यन्त चञ्चल र चलाख, एक्लै विचरण गर्ने, तीव्र गतिमा चल्ने, नियन्त्रण गर्न कठिन’ भनी भनेका छन् । मनको विषयमा यी कुरा त हामीले पनि अनुभव गरेकै हौं । त्यसैले बुद्धको आर्यअष्टांगिक मार्गको छैठौं अंग छ– सम्यक व्यायाम । यहाँ व्यायामको अर्थ शारीरिक व्यायाम होइन, बरु मानसिक व्यायाम हो, मनको व्यायाम हो ।



जसरी नियमित शारीरिक व्यायामबाट शरीर स्वस्थ, हृष्टपुष्ट र बलिष्ठ रहन्छ, त्यस्तै नियमित मानसिक व्यायामबाट मन स्वस्थ र बलिष्ठ बन्छ । हाम्रो शिक्षा प्रणालीमा अनेकन प्रविधि र सीपहरू सिकाइन्छ, तर मनलाई प्रभावकारी बनाउने प्रशिक्षण बिलकुल छैन । यसैको कारण भौतिक सफलता नपाएका मानिस त दुःखी हुन्छन् नै, साथै भौतिक सफलता पाएका मानिसले पनि आफ्नो मनलाई खुशी राख्न सक्दैनन् । बुद्धको शिक्षा भनेकै मनको स्वभावको अध्ययन, अवलोकन र त्यसको प्रशिक्षण हो । त्यसैले कतिपय पाश्चात्य अध्येताहरूले जसलाई हामी बौद्ध धर्म (बुद्धिजम्) भन्छौं, त्यो धर्म वा दर्शन नभई मनोविज्ञान अर्थात् मनको अध्ययन हो भन्छन् । साथै, बुद्धलाई दार्शनिक होइन, मनको वैद्य भन्छन् ।

मनको प्रशिक्षण

हामीले जीवनमा शिक्षा लिने क्रममा धेरै कुराहरू सिक्छौं, अनेकौं तालिम, सीपहरू सिक्छौं । जुन कुराको सीप हासिल गर्छौं, हामी त्यस कुरामा पोख्त हुन्छौं । जस्तै, साइकल चलाउन सिक्यौँ भने हामीले साइकललाई आवश्यक किसिमले चलाउन सक्छौं वा भनौं साइकललाई नियन्त्रणमा राख्न सक्छौं । तर, साइकल चलाउन जानिएन भने साइकल नै घाँडो हुन्छ, र त्यसबाट दुर्घटना हुने र चोटपटक लाग्ने भइरहन्छ ।

हाम्रो मन पनि त्यस्तै हो । अप्रशिक्षित मनकै कारण हामीले दुःख पाइरहेका छौं । तर, हाम्रो समाजमा, हाम्रो शैक्षिक प्रणालीमा कतै पनि मनलाई प्रशिक्षण दिने व्यवस्था छैन । अप्रशिक्षित मनको कारण जीवनमा दुर्घटना भइरहन्छ, यसकारण परिवार र समाजमा पनि दुर्घटना घटिरहन्छन् । व्यक्तिगत जीवनमै पनि अनियन्त्रित मनकै कारण हामी दिन–रात धेरै किसिमका तनाव, चिन्ता र दुःखहरू झेलिरहेका हुन्छौं ।

मन नै प्रमुख हो

बुद्धको मुख्य शिक्षा भनेकै मनको प्रशिक्षण हो । खासमा बुद्ध धर्म अरू धर्मभन्दा यस अर्थमा फरक छ कि यो विश्वास वा अनुशरण गर्ने (पछि पछि लाग्ने) धर्म होइन । बरु, आफ्नै मनलाई हेर्ने र त्यसलाई प्रशिक्षित गर्ने शिक्षा वा उपाय हो । त्यसैले यसलाई सम्प्रदाय वा विश्वासको परम्परागत अर्थमा ‘धर्म’ नभन्दा बेस हुन्छ । धर्मपदको पहिलो श्लोकको सुरु वाक्यमा ‘धर्म’ शब्दको प्रयोग यसरी भएको छ, ‘मनोपुब्बं गमा धम्मा...’, अर्थात्, हरेक अवस्थामा मन नै अगाडि रहन्छ । यसै श्लोकमा अगाडि भनिन्छ, गोरुको पछि पछि गाडा हिँडेझैं खराब मनको पछिपछि दुःख आउँछ । राम्रो मनको पछिपछि सधैं छायाझैं सुख लागिरहेको हुन्छ ।

बुद्धको शिक्षामा धर्म ज्ञान भनेको आफ्नै प्रकृति वा स्वभावलाई जान्नु हो । अझ भनौं आफ्नै मनको प्रकृति वा स्वभावलाई जान्नु हो । आफ्नो मनको स्वभावलाई जानेपछि हामीले मनलाई आफ्नो अनुकूल प्रयोगमा ल्याउन सक्छौं । नभए त हामी मनको वशमा परिरहेका हुन्छौं, र मनले नै हामीलाई सताइरहेको हुन्छ ।

सशक्त बनाउने सोच (इम्पावरिङ थट्स)

कतिपय मोटिभेशनल साहित्यले सकारात्मक सोचको कुरा गर्छ । तर म सकारात्मक सोच भन्नु भन्दा मनलाई ‘सशक्त बनाउने सोच’ भन्छु, अर्थात् इम्पावरिङ थट्स । हाम्रो मनमा खेल्ने कुराले नै हामीलाई सशक्त पनि बनाउँछ, अशक्त पनि बनाउँछ । तपाईंले आफ्नो मनमा खेल्ने विचारलाई ख्याल गर्नुभयो भने आफैं थाहा पाउन सक्नुहुन्छ कि तपाईंको मनमा चलिरहेको विचारले तपाईंलाई सबल बनाउँदै छ वा निर्बल ? दुःख दिँदैछ वा सुख ? शान्ति दिँदैछ वा अशान्ति मच्चाउँदै छ ? मनमा जस्तो विचार आउँछ, हामी त्यस्तै बन्छौं । मनमा खेल्ने विचारले हामीलाई तुरुन्तै सशक्त पनि बनाउँछ र तुरुन्तै अशक्त पनि ।

यसको अर्थ यो होइन कि हामीले खराब विचारलाई रोक्छौँ वा नियन्त्रण गर्छौं । यो सम्भव छैन । बुद्धले मनको नियन्त्रण भनेका छैनन् । किनभने, मन भन्ने कुरा यस्तो हो, जति नियन्त्रण गर्न खोज्छौँ, झनै अनियन्त्रित हुन थाल्छ । तर मनलाई हेर्न सकिन्छ । मनमा के कुरा चलिरहेको छ, ठम्याउन सकिन्छ । यो मनलाई प्रशिक्षित गर्ने व्यायाम हो । यो आफैंमा एक प्रकारको ध्यान अभ्यास पनि हो । ध्यान भनेको सचेत हुनु हो, सजग हुनु हो । ‘विपश्यना’ को शाब्दिक अर्थ त ‘राम्ररी हेर्नु’ नै हो । अझ विशेष प्रकारले हेर्नु । ‘विपश्यना’ शब्दमा ‘पश्यना’को अर्थ हेर्नु हो भने ‘वि’ को अर्थ ‘विशेष प्रकारले’ वा ‘स्पष्ट हुने गरी’ ।

हामीले आफ्नो मनमा कस्तो प्रकारको विचार चलिरहेको छ, त्यसले आफैंलाई कस्तो प्रभाव पारिरहेको छ, त्यसलाई हेर्न वा ठम्याउन सक्छौं । यो भनेको मात्र मनका उठेका विचारलाई निरन्तर हेरिरहने भनेको होइन । कस्तो विचार चलिरहेको छ र त्यसले आफूलाई कस्तो प्रभाव पारिरहेको छ पनि हेर्ने हो । विचारले मन, भावना र शरीरमा प्रभाव पार्छ । मनमा उठ्ने विचारले मनलाई नै प्रभाव पार्छ, त्यसैबाट मनस्थिति बन्छ । त्यसबाट भावना (फिलिङ वा इमोशन) उत्पन्न हुन्छ । रिस, डर, शोक, उदासी, निराशा, लज्जा आदि नकारात्मक भावना हुन् भने खुशी, साहस, प्रेम, शान्ति, आनन्द आदि सकारात्मक भावना हुन् । हाम्रो मनमा चल्ने विचारबाटै यी भावना उत्पन्न हुन्छन् । अथवा, यी भावना उत्पन्न भएपछि मनमा त्यसै प्रकारका विचार चल्न पनि सक्छन् । विचार र भावनाले एक अर्कालाई प्रभाव पारिरहेको हुन्छ ।  

साथै विचार र भावनाले हाम्रो शरीरमा पनि प्रभाव पार्छ । कुनै विचारले शरीरमा स्फूर्तिको सञ्चार गराउँछ । कुनै विचारले आलस्य र शक्तिहीन महसूस गराउँछ । कुनै विचारले आत्मविश्वास बढाउँछ भने कुनैले भएको आत्मविश्वास पनि हेर्छ र असहाय अनुभव गराउँछ ।  

मनले मनलाई हेर्ने

मनमा उठेका विचार र तिनको प्रभावको अवलोकन गर्दा त्यसले कसरी काम गर्छ त ? बुद्ध धर्ममा एउटा लंकावतार सूत्र छ, यसमा लंकाका अधिपति रावणले बुद्धसित जिज्ञासा राखिरहेको हुन्छ । रावण सोध्छन्, “मनले मनलाई हेर्ने भनेको कस्तो हो ?” बुद्धले जवाफमा भन्छन्, “जस्तो तपाईंको एउटा शिरले अर्को शिरलाई हेर्छ, त्यस्तै नै हो मनले मनलाई हेर्ने पनि” । रावणका त दशवटा शिर छन् ।

यहाँ मुख्य कुरा के भने मनलाई हेर्ने पनि मनले नै हो । चञ्चल अनियन्त्रित मन जसै आफैंलाई हेर्ने कार्यमा लाग्छ, तब विस्तारै विस्तारै मन आफैं स्थिर र शान्त हुँदै जान्छ । जुन मन अथाह विचारमा सम्पूर्ण अचेत डुबिरहेको थियो, त्यसको केही हिस्सा मनकै विचार, अवस्था, प्रभाव हेर्ने कार्यमा लाग्दा अचेत बग्ने कार्यमा आफैं केही कमी आउँछ । अनि मन आफैं विस्तारै नियन्त्रित हुन थाल्छ, नियन्त्रण गर्नुपर्ने नै हुँदैन ।

निश्चय पनि यो तपाईंको लागि खुशीको समाचार जस्तै लाग्यो होला । तर, सुन्दा यति सजिलो लाग्ने काम गर्न भने त्यति सजिलो छैन । सुरुमा विचारमा चुर्लुम्मै डुबिरहेको मनलाई हेर्न नै निक्कै कठिन हुन्छ । अझ नकारात्मक विचारमा डुबिरहेको छ भने त लगभग असम्भवै हुन्छ । तर यो स्वभाविक कुरा हो । तपाईं कुनै पनि कुरा केही समयको नियमित अभ्यास बिना सिक्न सक्नुहुन्न । शारीरिक व्यायाम गरे पनि शरीर बलिष्ठ बन्न लामो समयको अभ्यास चाहिन्छ । यो कुरा सबै किसिमको सिकाइमा लागु हुन्छ । तपाईंले नियमित अभ्यास बिना कुनै पनि सीप सिक्न सक्नुहुन्न, चाहे तपाईं साइकल, गाडी सिक्नुस्, वा संगीत, नृत्य । केही समयको अभ्यासले भने निश्चय पनि परिणाम देखाउँछ ।

यसै कारण नै बुद्धले यसलाई ‘सम्यक व्यायाम’ भनेको हुनुपर्छ । यो मनको व्यायाम हो, यसको नियमित अभ्यासले मन बलिष्ठ बन्दछ । जसरी शारीरिक व्यायामको सुरुमा सजिला, हलुका अभ्यास गराइन्छ, त्यसरी नै मनको व्यायामको सुरुवात हामीले मनको सामान्य अवस्थामा वा खुशीको अवस्थाबाट अभ्यास गर्दा सहज र टिकाउ हुन्छ । अझ सजिलोको लागि सात वटा अभ्यासहरु प्रस्तुत गर्न चाहन्छु ।

मनलाई सशक्त बनाउने सात अभ्यास

१. विगतलाई नकोस्ने

हामी धेरै समय र उर्जा विगतका दुर्भाग्यहरुप्रति गुनासो गर्नमा खर्चिरहेका हुन्छौं । मानिसमा आफ्नो विगतप्रति अनेकौं गुनासा हुन्छन् । निश्चय पनि विगतका खराबीले हामीलाई असर परिरहेको हुन्छ । तर त्यसलाई कोस्दै बस्दा हामी नकारात्मकताले मात्र भरिएका हुन्छौं, र हामीमा शक्ति क्षीण हुन्छ । त्यसको बदलामा वर्तमानमा भएका सकारात्मक कुरामा ध्यान दिएमा हामीमा सकारात्मक उर्जा सञ्चार हुन्छ र हामी सशक्त हुन्छौं ।

२. ‘यदि’ होइन, ‘बावजुद’ सोच्ने

जब हामी आफ्नो जीवनमा केही खराब पक्ष देख्छौँ, हामी सोच्छौँ कि यदि ती खराब पक्ष नभइदिएको भए म यस्तो गर्थें, उस्तो गर्थें । यस्तो सोच हाम्रो दिमागमा चलिरहन्छ र खराब पक्षदेखि मन मुर्मुरी रहेको हुन्छ । यसले पनि हाम्रो मनलाई असक्त र दुर्बल बनाउँछ ।

हामीले मनलाई सशक्त बनाउनु छ भने ‘यदि’ ठाउँमा ‘बावजुद’ शब्द राखेर सोच्नु पर्छ । जस्तो कि,‘यदि म गरीब परिवारमा नजन्मिएको भए,...’ को ठाउँमा ‘गरिबीको बावजूद पनि म ...’, ‘यदि मेरो बाल्यकाल नराम्रो नभइदिएको भए, ...’ को ठाउँमा ‘मेरो बाल्यकाल राम्रो रहेन, त्यसको बावजुद पनि म ...।’ यसरी जुन तरिकाबाट सोच्दा हामीले उर्जा प्राप्त गर्छौं, हामीले त्यस प्रकारले सोच्ने बानीको विकास गर्नुपर्छ ।

३. ध्यानलाई आफ्नो लक्ष्यमा केन्द्रीत गर्ने

कुनै लक्ष्य लिएर हिँड्दा कैयौं बाधाहरु आउँछन् । बाधाहरु आउँदा हाम्रो मन बाधामै केन्द्रीत हुन पुग्छ । बाधामा मन अड्किँदा हामी असहाय महसुस गर्छौं, निराश हुन्छौं । त्यस्तो बेला यदि हामीले आफ्नो ध्यान फेरि लक्ष्यमा केन्द्रीत गरेमा हामीमा उर्जा आउँछ । वास्तवमा सबैभन्दा ठूलो उत्प्रेरणा भनेको हाम्रो आफ्नै लक्ष्य हो ।

जब परिस्थिति प्रतिकुल हुन्छ, मनले विश्वास गुमाउन थाल्छ । अनि नकारात्मक कुराहरु मनमा खेल्न थाल्छ, नकारात्मक भावनाहरु उत्पन्न हुन थाल्छ । त्यसबेला हामीले फेरि आफूमा विश्वास जगाउनु पर्छ । त्यो भनेको आफ्नो लक्ष्यमा विश्वास जगाउनु पर्छ । वा भनूँ कुनै समयमा पुगेर मैले साँच्चिकै आफ्नो लक्ष्य हासिल गर्ने छु भन्ने विश्वास जगाउने ।

४. आफूले गर्न सक्ने कुरामा केन्द्रीत हुने

कैयौं पटक हामी असहाय महसुस गर्छौं । वाध्यतामा परेको महसुस गर्छौं । सोचेका कति कुराहरु सहजै गर्न नसक्ने परिस्थितिमा पुग्छौं । त्यस्तो बेला हाम्रो सारा ध्यान गर्न नसकिने कुरा वा आफ्नो वशभन्दा बाहिरका कुरामा केन्द्रीत हुन पुग्छ । त्यसले गर्दा हामी कमजोर मात्र होइन, लाचार महसुस गर्छौं । त्यस्तो स्थितिमा सो परिस्थितिमै पनि के गर्न सक्छौं भन्ने कुरा सोच्नु पर्छ । विपरीत परिस्थितिमै पनि केही गर्न सकिने कुराहरु हुन्छन् । यदि हामीले गर्न नसकिने कुरामा पछुतो मानेर बस्नको साटो गर्न सकिने ससाना कुरा गर्न थालेमा आफैं शक्ति आउन थाल्छ । अनि हामी असहायपनको अनुभूतिबाट मुक्त हुन्छौं ।

आफ्नो हातमा नभएको ठूलो कुराले भन्दा आफ्नो हातमा भएको सानो कुराले हामीलाई सघाउँछ । 

५. प्रतिक्रियात्मक होइन, सिर्जनात्मक समाधान खोज्ने

जीवनमा जब नकारात्मक परिस्थिति हरु उत्पन्न हुन्छ, हामीे नकारात्मक यथार्थप्रति प्रतिक्रियात्मक (रियाक्टिभ) हुन्छौं । बाहिर प्रतिक्रियात्मक नभए पनि मनभित्र प्रतिक्रियात्मक विचार चलि नै रहेको हुन्छ । प्रतिक्रियात्मक विचार या त निराशाले भरिएको हुन्छ या हिंसाले भरिएको पनि हुन्छ । हामी व्यक्तिगत जीवनका शत्रुहरू वा प्रतिकुल परिस्थितिसित प्रतिक्रियात्मक भइरहेका हुन्छौं । अझ व्यक्तिगत मात्र होइन, सामाजिक कुरीतिहरूसित पनि प्रतिक्रियात्मक भइरहेका हुन्छौं । यस्तो विचारले हाम्रो मन छटपटिन्छ मात्रै, त्यसले स्थितिलाई सुधार्दैन ।

छटपटिएको मनले तत्काल प्रतिक्रिया जनाउन पनि सक्छ । जस्तो कि हामीले रिसको आवेगमा गालीगलौज गर्ने वा कुट्ने पिट्ने पनि हुन्छ । वा घोर निराशामा आफैंलाई हानी गर्ने कार्य पनि हुन सक्छ । वा हामी चिन्तित वा भयभित भइरहेको पनि हुन सक्छ । यस्तो बेला हाम्रो विवेक अपहरित भइरहेको हुन्छ । त्यसैले यस्ता प्रतिक्रियात्मक कार्यले आफूलाई र परिस्थितिलाई झनै बिगार्छ मात्रै ।

प्रतिक्रियात्मक सोचलाई हामीले सिर्जनात्मक सोचले प्रतिस्थापन गर्न सक्छौं । जे खराब भयो, त्यसैमा मात्र घोत्लिरहँदा हाम्रो आँखा अगाडि नकारात्मकता वा अँध्यारो मात्र छाउँछ । त्यसैले हामीले समाधान राम्ररी देख्न सक्दैनौं । समाधानको लागि सिर्जनात्मक सोच आवश्यक हुन्छ । प्रतिक्रियात्मक मनस्थितिबाट एक छिनको लागि बाहिर आएर शान्त दिमागले सोचेमा समाधानका सिर्जनात्मक उपाय देखिन सक्छ । त्यसको लागि हामीले आफैंलाई प्रश्न गर्न सक्छौं, “यो खराब परिस्थितिमा मैले लिन सक्ने सबैभन्दा राम्रो कदम के हुन सक्छ ?”

प्रतिक्रियात्मक सोचबाट निस्किने एउटा प्रभावकारी उपाय हो, आफैंले आफैंलाई प्रश्न गर्नु । प्रश्न गरेपछि मन समस्याभन्दा समाधान वा उत्तर खोज्नतिर केन्द्रीत भइन्छ । अनि सिर्जनात्मक समाधान र विकल्पहरु देखिन थाल्छन् ।

६. दोष दिन छोड्दिनुस्

कसैलाई दोष दिइरहनाले मन नकारात्मकताले भरिन्छ । हामी आफ्नो दुःखको कारण अरुलाई ठहर्याइ रहेको हुन्छौं । ती हाम्रै नजिकका मानिस नै हुन्छन् । साथै कहिलेकाहीँ परिस्थितिलाई पनि दोष दिइरहेका हुन्छौं, समाजलाई दोष दिइरहेका हुन्छौं । अझ कतिपय अवस्थामा आफैंलाई दोष दिइरहेका हुन्छौं । त्यतिले पुगेन भने भगवानलाई नै दोषी बनाइरहेका हुन्छौं ।

हो, दोष सबैमा हुन्छ । हाम्रा दुश्मनहरुले हामीलाई अनेक तवरबाट दुःख दिइरहेको हुन्छ । तर, दोषारोपणले मात्र हामीलाई कतै पुर्याउँदैन । जति जति हामी मनमनै दोषारोपण गरिरहेका हुन्छौं, त्यति त्यति हामी दुःखी र पीडित भइरहेका हुन्छौं ।

वास्तवमा, दोषारोपण गरिरहँदा हामी पीडित मानसिकता (भिक्टिम मेन्टालिटी) बाट ग्रस्त भइरहेका हुन्छौं । पीडित मानसिकताले हामी कतै पुग्दैनौँ । खासमा के हुन्छ भने हामी अरुबाट पीडित भएकोप्रति बढी संवेदनशील हुन्छौं र हामी त्यसप्रति कुण्ठा बोकेर बाँच्छौं । तर, हामीले पनि अरुलाई सकुञ्जेल पीडित बनाइरहेका हुन्छौं, जुन कुरा हामीले याद गर्दैनौं वा बिर्सन्छौं, वा त्यसलाई गम्भीरतापूर्वक लिँदैनौँ ।

यदि हामी खुशी हुन चाहन्छौं र जीवनमा अघि बढ्न चाहन्छौं भने दोषारोपण (ब्लेमिङ) गर्नुको सट्टा आफूले लिनुपर्ने जिम्मेवारी (क्लेमिङ) बारे सोच्नु पर्छ । त्यस खराब परिस्थितिमा तपाईंको जिम्मेवारी के हुन्छ ? आफूले निभाउनु पर्ने जिम्मेवारी वा भूमिका सोच्नुभयो भने तपाईं पीडित मानसिकताबाट मुक्त हुनु हुनेछ । खास गरी सामाजिक वा राजनीतिक दोषहरू देख्नुहुन्छ भने त यो झनै आवश्यक छ ।

७. जीवनलाई अर्थपूर्ण बनाउने

जीवनको आफैंमा कुनै अर्थ हुँदैन । तपाईंले जे अर्थ दिनुहुन्छ, त्यसले नै जीवनको अर्थ निर्धारण हुन जान्छ । भगवानले (वा अस्तित्वले) जीवनको अर्थ तपाईंको आफ्नै हातमा छोडिदिएको छ । तपाईंले आफ्नो जीवनलाई सानो अर्थमा सीमित गर्न पनि सक्नुहुन्छ, वा विशाल अर्थ पनि दिन सक्नुहुन्छ । कति ठूलो अर्थ प्रदान गर्ने तपाईं आफैंमा निर्भर छ । तर, खास कुरा के भने जीवनलाई जति अर्थपूर्ण बनाइन्छ, त्यति नै तपाईंमा आन्तरिक शक्ति जागृत हुन्छ । तपाईंको जीवन सानो अर्थमा सीमित छ भने सानातिना कुरामा पनि धेरै दुःख महसुस हुन्छ । यदि जीवनको अर्थ विशाल छ भने दुःखले तपाईंलाई खासै छुँदैन ।

सम्यक व्यायामको अभ्यास

माथि दिइएका सात बुँदाले तपाईंलाई आफ्नो मन बुझ्न मद्दत गर्छ । विचारहरु ती सातमै सीमित हुने पनि होइन, तर सुरुवातको लागि सहयोगी हुन्छ । जे होस्, सम्यक व्यायामको अभ्यास भनेको मनमा कुन प्रकारको विचार चल्दैछ भन्ने कुरा हेर्ने वा सजग रहने हो । त्यसले मन, भावना र शरीरमा कस्तो प्रभाव पार्दैछ भनेर हेर्ने वा बुझिरहने हो । नकारात्मक विचारलाई नकार्न आवश्यक छैन, बुझिरहे पनि पुग्छ । नकारात्मक विचारसित लड्न थाल्नुभयो भने झनै तनावको अवस्था पैदा हुन्छ । सम्यक व्यायामको अभ्यासमा मात्र बुझिरहने हो, कतै मनले विगतलाई कोस्दैछ कि कसैलाई दोषारोपण गर्दैछ कि गुनासो गर्दैछ । त्यसले हामीलाई सशक्त गर्दैछ वा असक्त । साथै, त्यस्तो विचारको परिणाम स्वरुप कस्तो भावना पैदा भइरहेका छ, र शरीरमा कस्तो प्रतिक्रिया उत्पन्न भइरहेको छ, बुझिरहनु नै काफी छ ।

जब हाम्रो मन अचेत रुपमा चल्छ, तब त्यो अनियन्त्रित भई जताततै बगिरहन्छ । तर, जब हामी सचेत हुन्छौं, त्यो आफैं सही ठाउँमा आउन थाल्छ । न त हामीले मनको नकारात्मकतासित दुस्मनी गर्न आवश्यक छ, न सकारात्मकताको आग्रह नै । नकारात्मकतासित दुस्मनी गर्दा द्वेष उत्पन्न हुन्छ, जुन आफैंमा झनै नकारात्मक अवस्था हो । सकारात्मक वा खुशीको आग्रह गर्नु भनेको राग हो । राग पनि आफैंमा नकारात्मक कुरा हो । बिना आग्रह सजग भइरहने अभ्यासले मन प्रशिक्षित हुँदै जान्छ । अनि मनमा अशक्त बनाउने विचार आफैं कम हुँदै जान्छ र सशक्तता बढाउने मनस्थिति बढ्दै जान्छ । अब जीवनलाई आनन्दमय बनाउने सूत्र तपाईंको हातमा परिसकेको छ ।

लेखक साहित्यकार तथा बौद्ध दर्शनका अध्येता हुन् । उनका पुस्तक ‘कन्सियस लीडरशिप’ अँग्रेजीमा छ भने नेपालीमा ‘क्षितिजको स्पर्श’ र ‘कवितामा आकाश’ प्रकाशित छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।