शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेमोक्रेट्सले अमेरिकामा गर्भपतन अधिकार फेरि ब्युँताउन सक्छन् ?

सोमबार, १३ असार २०७९, १३ : ४१
सोमबार, १३ असार २०७९

सर्वोच्च अदालतले रो भर्सेस वेडबारे उसको फैसला सुनाउँदै त्यसलाई खारेज गरिदिएको छ । तर गर्भपतनबारे अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्च अदालतसँग नभएर अमेरिकी जनताले चुनेका काँग्रेस र ह्वाइट हाउसमा रहेका तिनका प्रतिनिधिसँग छ ।  

डोब्स भर्सेस ज्याक्सन वुम्यान्स हेल्थ अर्गनाईजेसनको मुद्दामा निर्णय दिँदै सर्वोच्च अदालतले लगभग ५० वर्षको नजिरलाई उल्टाएको हो । यो फैसलाले गर्भपतनको संवैधानिक अधिकार खोसिदिएको छ भने गर्भ राख्नेबारे महत्त्वपूर्ण निर्णय व्यक्तिले नभई सरकारले गर्ने व्यवस्था गरिदिएको छ । 

अमेरिकाका नौ राज्यले गर्भपतन प्रतिबन्ध लगाइसकेका छन् भने एक दर्जनभन्दा बढीले चाँडै नै गर्भपतनमाथि कठोर प्रतिबन्ध गर्ने वा त्यसलाई पूर्ण गैर कानुनी ठहराउने कानुन ल्याउँदैछन् । त्यसपछि कैयौँ महिला तथा युवतीहरूको जीवन, स्वास्थ्य र भविष्य जोखिममा पार्नेछ । 

यो निर्णय विनाशकारी छ – र यसपछि के हुन्छ भन्ने हामीले भोगिरहेका छौँ । यस आलेखका लेखक हामी दुवै त्यस्तो अमेरिकामा हुर्कियौँ जहाँ गर्भपतन पूर्ण गैर कानुनी थियो ।

यस्तो मुलुक जसमा योजनाबिना बसेको गर्भले महिलाको क्यारियर र जीविकोपार्जनलाई अप्ठ्यारोमा पारिदिन्थ्यो । ती दिन केही महिलाहरूले आफूले राख्न नसक्ने गर्भ फाल्न नपाएपछि आफ्नो ज्यान लिएका समाचार आउँथ्यो । 

तर हामीले आशलाई जोगाइराख्नुपर्छ । हामीहरू दुवै जना चुनिएका प्रतिनिधि र आम अमेरिकीका हिसाबमा त्यो गर्न सक्ने ठाउँमा पनि छौँ । हामीजस्तो धेरैले गर्भपतनमा पहुँच चाहिनेहरूलाई मद्दत गर्न सक्छौँ । 

गर्भपतन उपलब्ध रहेका राज्यहरूमा आफ्ना सेवाहरू विस्तार गरिरहेका ‘प्लान्ड प्यारेन्टहुड’ र अन्य संस्थाहरुलाई सघाउन सकिन्छ । गर्भपतन कोषमा दान दिएर पनि योगदान गर्न सकिन्छ । 

मतदाताले गर्भपतनविरुद्ध कठोर कानुन ल्याउने तयारी गरिरहेका न्यु मेक्सिको र मिनेसोटाजस्ता राज्यका विधायकहरूलाई प्रजनन अधिकारको रक्षाका लागि दबाब र प्रोत्साहित गर्न सक्छन् ।

गर्भपतन प्रतिबन्ध रहेका राज्यका रोजगारदाताले आफ्ना गर्भवती कर्मचारीहरूलाई गर्भपतन अनुमति रहेका राज्यमा जाँदा लाग्ने यात्राको खर्च र समय मिलाइदिनसक्छन् । हरेक अमेरिकी नागरिकले आफ्नो ठाउँमा सक्दो गर्ने बेला आएको छ ।

यस महिनाको सुरुमा, सिनेटर प्याटी मुर्रे र आधा सिनेट डेमोक्रयाटिक ककससँग मिलेर हामीले राष्ट्रपति बाईडेनलाई प्रजनन स्वतन्त्रताको रक्षा गर्न उनले चाल्न सक्ने एक्जेक्युटिभ एक्सनबारे पत्र लेखेका थियौँ । 

त्यसमा गर्भपतन गराउने औषधिमा पहुँच बढाउने, अन्य राज्यहरूमा गर्भपतन हेरचाह खोज्ने व्यक्तिहरूको लागि संघीय स्रोतहरू उपलब्ध गराउने र स्थानीय रूपमा गर्भपतन सेवाहरू खोज्ने मानिसहरूको सुरक्षा गर्न संघीय सम्पत्ति र स्रोतहरू प्रयोग गर्नेजस्ता विषय समावेश छ । 

शुक्रबारको डोब्स मुद्दामाथिको निर्णय सार्वजनिक भएपछि अमेरिकाभरका लाखौं महिलाहरू एक जोखिमयुक्त समयमा प्रवेश गरे ।

हामी राष्ट्रपतिलाई सबै अमेरिकीहरूको लागि गर्भपतन पहुँचको सुनिश्चितता गर्न सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गर्न आग्रह गर्दछौँ, जसले राज्यलाई महत्त्वपूर्ण स्रोतहरू र अधिकारहरू दिलाउँछ जसलाई राज्य र संघीय सरकारले प्रजनन स्वास्थ्य सेवाहरूको मागमा भएको वृद्धिलाई पूरा गर्न प्रयोग गर्न सकुन् । 

यस्तो खतरनाक समस्यालाई डेमोक्रयाटहरूले कुशलतापूर्वक सामना गर्नुपर्छ । 

धेरै अमेरिकीहरूले रामे मानेको प्रजनन अधिकारलाई उल्टाएर हामीलाई यो अँध्यारो क्षणमा ल्याईपुर्‍याउन दक्षिणपन्थी राजनीतिज्ञहरू र तिन मित्रहरूले दशकौँ लगानी गरेका छन् । 

तिनको सरकार भएको राज्यमा गर्भपतनमाथिको पहुँच सीमित गर्दै लगेका थिए । यसका लागि तिनले भ्रूणलाई समेत एक व्यक्तिजस्तो जीवित मान्ने कानुनसमेत पास गरे । टेस्ट ट्युब प्रणालीलाई अपराधीकरण गर्ने प्रयास गरे । र गर्भपतन सेवा दिने डाक्टरहरूबारे बताउनेलाई पुरस्कारको समेत व्यवस्था गरे । सिनेटमा फिलिबस्टरको दुरुपयोग गरेर काँग्रेसलाई खण्डित संस्थामा बदले । 

लगभग ५० वर्ष सम्म, दक्षिणपन्थी अतिवादीहरूले अमेरिकीहरूको अत्यधिक बहुमतको विश्वासहरूलाई अस्वीकार गरे । बरु उनीहरूले स्वास्थ्य सेवा खोज्ने महिला र तिनलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने डक्टरले जेल सजाय भोग्नुपर्ने भविष्य सिर्जना गर्न आफ्नो प्रयास तीव्र बताए । 

यी अतिवादीले तिनको उग्र विचारलाई विधायिकी प्रक्रिया मार्फत लागु गर्न नसकेपछि अदालतको सहारा लिए । र सर्वोच्च अदालतले रो भर्सेस वेड मुद्दालाई उल्टाएर बाटो खुला गरिदिएकाले रिपब्लिकनहरूले आम नागरिक अधिकार र स्वतन्त्रतामा आक्रमणलाई थप निरन्तरता दिनेछन् । 

रिपब्लिकन पार्टीका पूर्व उपराष्ट्रपति माइक पेन्सले देशका सबै ५० राज्यमा गर्भपतनलाई प्रतिबन्ध लगाउन आह्वान गरे । सिनेटका अल्पसङ्ख्यक नेता रिपब्लिकन सिनेटर मिच म्याक्कोनेलले यस्तो सम्भावना रहेको बताए ।

चाँडै अब गोपनीयता र वैवाहिक समानतामाथि पनि आक्रमणको सम्भावना बढेको छ । 

रिपब्लिकनहरूले महिलाको जीवनलाई नियन्त्रण गर्ने प्रयासमा हाम्रो प्रणालीमा पुर्‍याएको क्षतिलाई सुधार्ने हो भने अमेरिकी लोकतन्त्र व्यापक सुधारको आवश्यकता छ । 

अदालतको संरचना परिवर्तन गर्नेदेखि सिनेटमा हुने फिलिबुस्टरजस्ता अभ्यासमा सुधार गनुपर्छ । 

पपुलर भोटमा हारेको व्यक्ति समेत समय गुज्रिएको इलेक्ट्रोल कलेजको व्यवस्थाबाट जित्ने जुन अवस्था छ, त्यसलाई समेत परिवर्तन गरिनुपर्छ । 

पपुलर भोटमा हारेपछि इलेक्ट्रोल कजेलमा बहुमत ल्याएर जितेका राष्ट्रपतिहरू(जर्ज डब्लु बुस–२ र डोनाल्ड ट्रम्प–३)ले कुल पाँच जना न्यायाधीश मनोनयन गर्न पाए । जो सबै नै गर्भपतनको अधिकार समाप्त गर्ने पक्षमा उभिए । 

रिपब्लिकनहरूले पचास वर्ष मिहिनेत गरेर क्षति पुर्‍याएको कुरालाई हामीले पाँच महिनामा पूर्ववत् अवस्थामा फर्काउन सक्दैनौँ, तर हामीले अहिलेबाट अमेरिकी लोकतन्त्रको मर्मत कार्य सुरु गर्न सक्छौँ । 

सर्वोच्च अदालतले भर्खरै गरेको निर्णयको ठूलो बहुमत अमेरिकीहरूले विरोध गरेका छन् । लगभग दुई तिहाइ अमेरिकीहरू पूर्ण वा अधिकांश अवस्थाको गर्भपतनको वैधताको पक्षमा देखिन्छन् ।

रो गएको छ तर कुनै समय त्यसले ग्यारेन्टी गरेको सुरक्षाहरू मतपत्रमा छन् । क्यान्सस र केन्टकीजस्ता राज्यले गर्भपतनप्रतिको कानुनी संरक्षण हटाउन पहल गरिरहँदा मिशिगन र भर्मन्टले प्रजनन स्वतन्त्रताको लागि संवैधानिक संरक्षण निर्माण गर्ने विषयमा राज्यव्यापी भोट गराउदैछ । 

कुनै राज्यले गर्भपतन नियन्त्रण गर्ने कट्टरपन्थी निर्णय गर्‍यो भने त्यसको असर ती राज्यमा मात्र होइन सबै अमेरिकीहरूलाई पर्नेछ ।

अहिलेको समय प्रत्येक पदमा उठिरहेका हरेक उम्मेदवारले प्रजनन अधिकारबारे दृढ अडान लिनुपर्ने माग गर्ने बेला हो । सिनेटका प्रत्येक उम्मेदवारलाई फिलिबुस्टर नियमहरू सुधार गर्न प्रतिबद्ध भए नभएको सोध्नुपर्छ, ताकि सिनेटले प्रजनन स्वतन्त्रताको अधिकारको रक्षा गर्ने संघीय कानुन पारित गर्न सकोस् ।

यदि मतदाताहरूले डेमोक्रेट्लाई तल्लो सदनको अहिलेको बहुमत कायम गर्न दिए र सिनेटमा कम्तीमा दुई सिट बढाएर बहुमत विस्तार गर्न मद्दत गरे भने हामी छिटोमा जनवरीसम्ममा रोलाई देशव्यापी कानुन बनाउन सक्छौँ । 

सरल शब्दमा भन्नुपर्दा: हामीले अमेरिकी लोकतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ ताकि अतिवादी अल्पसङ्ख्यकले जनताको इच्छालाई दबाउन नपाउन् । यो लामो, कठिन लडाई हुनेछ, जसको जितको बाटो अझै निश्चित भइसकेको छैन ।

तर जति नै लामो समय लागे पछि यो न्यायको लडाई जित्नै पर्छ । आलेखका दुई लेखक रो आउनुअघिको अमेरिकामा बसेका थियौँ र हामी पुन पुराने दिनमा फर्कने छैनौँ । न अहिले न भोलि । 

लेखकद्वय एलिजावेद वारेन र टिना स्मिथ अमेरिकी संसदका सिनेटर हुन् । उनीहरू क्रमशः म्यासाचुसेट र मिनिसोटाबाट प्रतिनिधित्व गर्छन् । 

न्युयोर्क टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप