बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लक्ष्यअनुसारको सडक सम्पन्न हुन सकेन : भौतिकमन्त्री यादव

सोमबार, १३ असार २०७९, १४ : १८
सोमबार, १३ असार २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड सङ्क्रमणलगायत कारणले लक्ष्य अनुसारको सडक निर्माण नहुने देखिएको बताएकी छन् । राष्ट्रियसभामा आजको बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सबै किसिमका सडक र पुल निर्माण लक्ष्यभन्दा कम निर्माण हुने देखिएको बताइन् ।

चालु आवमा एक हजार ८०० किमी सडक निर्माण गर्ने लक्ष्य लिइएकामा ६०० किमी मात्र सम्पन्न भएको मन्त्री यादवले जानकारी दिइन् । ग्राभेल सडक ८०० किमी निमार्ण गर्ने  लक्ष्य लिइएकामा २९२ किमी र ३५० किमी कच्ची सडक निर्माणको लक्ष्य लिइएकामा १६५ किमी निर्माण भएको उल्लेख गर्दै उनले भनिन्, “लक्ष्यभन्दा कम प्रगति छ तर सन्तोषजनक छैन ।” चालु आवमा ३०० वटा पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १०१ वटा निर्माण भइसकेको र १०० वटा निर्माण  हुने क्रममा रहेको मन्त्री यादवले बताइन् । नीति तथा कार्यक्रमको मर्मअनुसार नै कार्यक्रम ल्याउन प्रयास गरिएको उनको भनाइ थियो ।

विगत वर्षभन्दा काठमाडौँ तराई द्रुतमार्गमा धेरै बजेट छुट्याइएको मन्त्री यादवले बताइन् । यो आयोजनाको जिम्मेवारी लिएपछि सेनाले कसरी समयमै गर्छ भनी सबैले हेरिरहेको उनले उल्लेख गरिन् । राष्ट्रिय गौरवका आयोजना र प्राथमिकता प्राप्त आयोजनालाई प्राथमिकता दिइएको, महाकालीमा दोधारा–चाँदनी पुल अन्तिम चरणमा पुगेको,  नागढुङ्गा सुरुङमार्ग निर्माण अघि बढेसँगै नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको र गत आवसम्म १४ प्रतिशत प्रगति रहेकामा हाल ५४ प्रतिशत प्रगति पुगेको मन्त्री यादवले बताइन् ।

सिद्धबाबा सुरुङ डिजाइनको क्रममा रहेको र  काठमाडौँ उपत्यकाको जाम घटाउन पहिलो चरणमा ग्वार्काेमा ठेक्का सम्झौता भएर डिजाइनको क्रममा पुगेको उनले बताइन् । पैँतीस किमी लामो जयनगर–कुर्था रेलमार्ग सञ्चालनमा आइसकेको छ भन्दै मन्त्री यादवले १०÷१५ किमीभन्दा लामो सडक सङ्घमा राख्नुपर्ने मान्यता रहेको बताइन् । 

प्रदेशमा जनशक्ति कम भएकाले पनि हस्तान्तरण भएका आयोजना अलपत्र पर्नसक्ने देखिएको उनले बताइन् । समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्न चाहे पनि अदालतको रोकावटका कारण गर्न नसकिएको मन्त्री यादवको भनाइ थियो । आफूले १२÷१५ योजनाका ठेकेदारलाई  कालोसूचीमा राखे पनि अदालतको अन्तरिम आदेशका कारण अघि बढ्न नसकेको उनले उल्लेख गरिन् ।

पुल निर्माणले एक गाउँ अर्को गाउँसँग र एउटा जिल्ला अर्को जिल्लासँग जोड्ने चर्चा गर्दै मन्त्री यादवले बजेट विनियोजन गर्दा कुनै कुनै क्षेत्र छुट्न पुगे पनि कुनै पनि जिल्ला नछुटेको बताइन् । पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिका लागि पर्याप्त रकम छुट्याइएको, केही साना तथा महत्वपूर्ण योजनामा बजेट प्रस्ताव गरिएको, राष्ट्रिय र स्थानीय पुल धेरै आवश्यक भए पनि नयाँ योजनामा हाल्ने मात्रै नभएर विगतका योजना पूरा गर्न बजेट छुट्ट्याइएको छ भन्दै उनले एउटै जिल्लामा १०० पुल आवश्यक भए पनि राम्रो तयारी नगरी बजेट छुट्याउनु नहुनेमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप