शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइराला ‘निलम्बित’

सोमबार, १३ असार २०७९, १६ : १६
सोमबार, १३ असार २०७९

घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश  कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।

छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको उल्लेख छ । 

न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिले न्याय परिषद ऐन, २०७३ बमोजिम जाँचबुझ गरी कार्य प्रारम्भ गरेको मितिले पैंतालिस दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।  सो समयसम्म प्रतिवेदन पेश गर्न नसक्ने अवस्था भए परिषद्ले अवधि थप गर्न सक्ने समेत व्यवस्था रहेको छ । 

छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन् । न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप