शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री हेरफेरले सकियो त नेकपा एकीकृत समाजवादीको लफडा ?

सोमबार, १३ असार २०७९, १७ : १९
सोमबार, १३ असार २०७९

सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीको चाहनाअनुसार मन्त्रिमण्डल पुनर्गठन भएको छ । जसअनुसार समाजवादीका केही मन्त्री परिवर्तन भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको हो । यो सँगै नेकपा समाजवादीभित्र मन्त्री हेरफेरको ‘लफडा’ अन्त्य भएको छ । तर, मन्त्री हेरफेरको विषय सार्वजनिक भएपछि समाजवादीमा देखिएको विवादको तुष भने बाँकी नै रहने देखिएको छ ।

आइतबार साँझ राष्ट्रपतिबाट मन्त्री हेरफेरको विज्ञप्ति सार्वजनिक हुने संकेत पाएपछि सो पार्टीका दुई जना पुराना मन्त्री (प्रेम आले र रामकुमारी झाँक्री) हतारहतार मन्त्रालयबाट विदाई भए भने बाँकी दुई जना कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा सोमबारमात्रै बिदाइ भए । मन्त्रिमण्डल पुनर्गठनसँगै नयाँ चार मन्त्री र एक राज्यमन्त्रीले सोमबार शपथसहित पदबहाली गरिसकेका छन् ।

मन्त्री हेरफेरको निर्णयले हलचल

तर, समाजवादीले आफ्ना मन्त्रीहरू हेरफेर गर्न गरेको निर्णय र सिफारिस प्रधानमन्त्री देउवालाई कार्यान्वयन गर्न तीन साता लाग्यो । मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीमा भएपनि सत्ता सहयात्री दलको निर्णय कार्यान्वयन गर्नु देउवाका लागि बाध्यता थियो । २०७९ जेठ २२ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको थियो भने असार १ गते स्थायी कमिटीले उक्त निर्णय अनुमोदन गरेको थियो । मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको नेकपा समाजवादीले स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्न सिफारिस गरेको गरेको थियो । पुराना मन्त्री फिर्ता बोलाएर नेता जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन गरेको पार्टीको निर्णय सोमबार नयाँ मन्त्रीहरुले पदवहाली गरेसँगै कार्यान्वयनमा गयो ।

​तर, सुरुमा पार्टीले गरेको निर्णयप्रति फिर्ता बोलाइएको मन्त्रीहरुले असन्तुष्टि व्यक्त गरे । उनीहरुले पार्टीले निर्णय गरिसकेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुको साटो कहिले बालुवाटार त कहिले खुलमटारतर्फ दौडधुप गरेर पार्टी निर्णयलाई चुनौती दिँदै पदमै बस्न चाहेका हुन् कि भन्ने प्रश्नहरु उब्जिए । फिर्ता बोलाइएका मन्त्रीहरूको अस्वभाविक सक्रियता बढ्न थालेपछि पार्टी नेताहरु प्रधानमन्त्री देउवा र गठबन्धन दलका नेताहरूमाथि नै आक्रोश पोख्न थाले । यही क्रममा अध्यक्ष माधव नेपालसँग पुराना र नयाँ मन्त्रीहरूबीच सवाल जवाफ नै चल्न पुग्यो । पुरानाले तत्काल पद नछोड्ने अडान देखाउने र नयाँले पार्टीको निर्णय किन कार्यान्वयन हुँदैन भनेर अध्यक्ष नेपाललाई प्रश्न गर्न थाले । यही प्रश्न बोकेर माधव नेपाल कहिले प्रधानमन्त्री भेट्न बालुवाटार त कहिले सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुग्न बाध्य भए ।

पार्टी खोल्ने र पार्टी छोड्ने आशंका

मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन नभएपछि विभिन्न किसिमका आशंकाहरु पैदा हुन थाले । केहीले नेकपा समाजवादीको निर्णयले अरु पार्टीमा पनि मन्त्री फेर्ने दवाव परेको विश्लेषण गरे भने केहीले केही महिनाका लागि मन्त्री फेर्ने निर्णय गर्नु नै समाजवादीको कमजोरी रहेको रुपमा बुझ्न थाले । यही बेला मन्त्री रामकुमारी झाँक्रीले महिलाहरुको पार्टी खोल्नुपर्ने आशयसहितको स्टाटस नै लेख्न पुगिन् । यसले थप आशंका जन्मायो ।

त्यति मात्रै होइन, मन्त्री फिर्ता बोलाएकोप्रति असन्तुष्टि जनाउँदै  चार मन्त्री र ६ सांसद गरी १० जनाले संसदीय दलको बैठक बोलाउन हस्ताक्षर संकलन गरेर ८ बुँदे ध्यानाकर्षण पत्र पार्टीमा बुझाए । असार १० गते आलोकनगरमा सो पार्टीको केन्द्रीय कमिटी बैठक बस्दै गर्दा १० सांसदले संसदीय दलको नेता समेत रहेका अध्यक्ष नेपाललाई दलको बैठक बोलाउन माग गर्दै पत्र नै बुझाएपछि समाजवादीभित्रको लफडा उत्कर्षमा पुुगेको आशंका गर्नेहरुलाई थप बल पुग्यो । जसले गर्दा गठबन्धन र समाजवादी पार्टी नै विभाजन नजिक पुगेको अनुमान गरियो । तर बाहिरको अनुमान विपरित मन्त्री प्रेम आलेसहित ६ जना सांसदले असार ११ गते हस्ताक्षर फिर्ता लिए । आलेसहितले हस्ताक्षर फिर्ता लिएपनि केही मन्त्रीले फिर्ता नलिएपछि पार्टीमा थप आशंका पैदा भयो । तर हस्ताक्षर फिर्ता नलिएका र राजीनामा दिन समेत नमानेका भनिएका विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठले आफूहरुले बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएर मात्रै छोड्ने चाहनाबाहेक अरु केही नभएको प्रस्टिकरण दिए ।

...अनि हच्किए देउवा

एकीकृत समाजवादीभित्रै मन्त्री हेरफेरको निर्णयबारे पक्ष विपक्षमा बहस चलिरहेका बेला असार ११ गते बसेको केन्द्रीय समिति बैठकमा समेत व्यापक छलफल भयो । तर, केन्द्रीय समितिको बैठकमा पार्टीले गरेको निर्णय फिर्ता गर्नुहुँदैन भन्नेमा बहुमत सदस्यहरु उभिए ।

पार्टी निर्णय विपरीत फिर्ता बोलाइएका मन्त्रीहरुको नेतृत्वमा उल्टै १० सांसदको असन्तुष्टि पत्र सार्वजनिक भएपछि बैठकमा त्यसबारे समेत चर्चा र छलफल भयो । केन्द्रीय कमिटी बैठकको निर्णयले प्रधानमन्त्रीको ढिलाईप्रति चर्को असन्तुष्टि जनायो ।

‘आजसम्म हामीले प्रधानमन्त्रीलाई जति पर्खियौँ । पुष्पकमल दाहाल प्रचण्डलाई पर्खियौँ, तत्काल हाम्रा काम पूरा गर्नुहोस्, नयाँ मन्त्री शप गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईँहरुले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं’, ११ गतेको केन्द्रीय समिति बैठकपछि उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकको निर्णय सुनाउँदै भनेका थिए ।

‘समाजवादीको यो चेतावनीपछि मात्रै बल्ल शेरबहादुर देउवा हाम्रा मन्त्री हेरफेर गर्न बाध्य भएका हुन् । नत्र त प्रधानमन्त्रीले पनि खासै चासो देखाउनुभएको थिएन’, नेकपा समाजवादीका एक शीर्ष नेताले भने,‘ प्रधानमन्त्रीले तत्काल हाम्रो निर्णय कार्यान्वयन गरेको भए यत्रो लफडा नै हुने थिएन ।’

त्यसो त काँग्रेस र माओवादी केन्द्रको आन्तरिक तनाव व्यवस्थापन गर्न आफ्नो पार्टीभित्र खेल्न खोजेको एकीकृत समाजवादीले यसअघि नै  निष्कर्ष निकालिसकेको थियो । पछिल्लो समय संसदीय दलको बैठक बोलाउन सांसदहरुको हस्ताक्षर नै संकलन गरेपछि समाजवादीको निश्कर्ष सहि पुष्टि हुदै गएको थियो । त्यतिमात्रै होइन हस्ताक्षर संकलन संसदीय दलको नेता नै फेर्नतर्फ प्रयोग हुन सक्नेमा नेताहरु ससंकित बनेका थिए । त्यसपछि शनिबारै बेलुका अध्यक्ष माधवकुमार नेपालले पुन शेरबहादुर देउवालाई फोन गरेर ‘यस्तै हो भने अव आ आफ्नो बाटो लाग्नुको विकल्प छैन’ भनेपछि जवाफमा देउवाले ‘आइतबार नै मन्त्रिमण्डल पुनर्गठन हुने’ बचन दिएका थिए ।

त्यसपछि मात्रै अडान नछोडेका मन्त्रीहरु पछि हट्न बाध्य भएका थिए । ‘अध्यक्षले शनिबार प्रधानमन्त्रीलाई फोन गरेपछिमात्र बल्ल देउवा तयार हुनुभयो । देउवा तयार भएपछि मात्रै हाम्रा पुराना केही मन्त्री लचक बन्न पुगे’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो, ‘त्यसपछि अवस्था सम्हालिन पुग्यो ।’

युर्टनमा आले निर्णायक

पार्टीको निर्णय कार्यान्वयन नहुनु, १० सांसदको असन्तुष्टि पत्र सार्वजनिक हुनु र यसले सत्ता गठबन्धनमै संकटको अनुमान भइरहेका बेला त्यसलाई चिर्न भने मन्त्री प्रेम आलेसहित ६ सांसदको यूटर्नले काम गरेको समाजवादीका नेताहरुको बुझाई छ ।

‘अन्तिम समयमा आलेजीहरु अध्यक्षसँगको संवादपछि कन्भिन्स हुनुभयो र हस्ताक्षर फिर्ता लिन पुग्नुभयो । किनभने असन्तुष्टहरुले सोचेजस्तो अलग पार्टी बनाउन सक्ने वा संसदीय दलको नेता फेर्नसक्ने अवस्था रहेन’, समाजवादीका अर्का नेताले भने, ‘दलको नेता नै फेर्नतर्फ लाग्नुभनेको चानचुने कुरा होइन ।’ संविधान त एउटा पार्टीबाट फुटेर बनेको अर्को पार्टी ५ बर्षसम्म पुन फुट्न नसक्ने व्यवस्थाले पनि उनीहरुलाई झस्काएको हुनसक्ने ति नेताको भनाइ छ । त्यो बुझेर नै प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, धनबहादुर बुढा र पुष्पाकुमारी कर्ण असन्तुष्ट समूहबाट अलग हुन पुगेको ती नेताको भनाइ छ ।

समाजवादीका नेताहरुका अनुसार मन्त्री हेरफेरको विषयलाई लिएर जेजति घटनाहरु भए त्यसको समिक्षा आगामी दिनमा राम्रैसँग हुनेछ । ‘तत्कालको संकट टर्यो, राम्रो भयो तर त्यसको तुष पछिसम्म नै बाँकी रहन्छ’, समाजवादीका एक केन्द्रीय सदस्य भन्छन्,‘पदमा पुगेपछि मानिसले पार्टी निर्णय,नैतिकता सवै बिर्सदोरहेछ भन्ने पनि यो घटनाले उजागर गर्यो ।’

रोएर चर्चामा झाँक्री

नेपाली राजनीतिमा रामकुमारी झाँक्री प्राय चर्चामा आइरहने नेतृ हुन् । विद्यार्थी राजनीति पृष्ठभूमिबाट उदाएकी झाँक्री एमाले र नेकपाकालमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेर होस् वा एमाले विभाजन गर्दा माधव नेपालको हात समाएर निर्वाचन आयोगमा पार्टी दर्ता गर्न पुग्दाको दृश्यले नै किन नहोस् ? उनको चर्चा र आलोचना दुवैले प्रशस्त स्थान पाएको थियो । त्यसो त मन्त्री भएपछि पदबहालीका क्रममा उनले देखाएको हाउभाउ र मन्त्री पद छोड्दा देखिएको दृश्यले समेत झाँक्री आलोचनाबाट बच्न सकिनन् । २०७८ असोज २२ गते शहरी विकास मन्त्रालयमा पदबहाली गर्दा हाँसोको फोहोरा छोडेकी झाँक्रीले आठ महिना २० दिनपछि सोही मन्त्रालयमा ‘फेरि भेटौँला’ कार्यक्रममा देखाएको अस्वभाविक भावुकतापछि कतिपयले उनलाई केटाकेटीको संज्ञा समेत दिन पछि परेनन् ।

अब के हाेला ?

अहिले मन्त्री परिवर्तनमात्रै भएको हो । एकीकृत समाजवादीका नेताहरु पार्टीभित्र अवसरवादी प्रवृत्ति झाँगिन सुरु भएकाले तत्कालका लागि मन्त्रीको लफडामात्रै मिलेको बताउँछन् । तर, पार्टीभित्रको आन्तरिक असन्तुष्टिका स्वरहरु मत्थर हुन सहज नरहेकाे उनीहरु बताउँछन् । 
संसदमा फ्लोर क्रस गर्नेदेखि एमालेमै रहँदा मन्त्रीका लागि बूढानीलकण्ठसम्म धाउने प्रेम आलेलगायतका नेताहरु त्यही समाजवादीमा छन्। त्यसमाथि पार्टीको निर्णयलाई चुनौती दिन तथा मन्त्री पद जोगाउनका लागि ३ सातासम्म गरेको ‘शक्ति प्रयोग’ असफल भएको सन्दर्भमा उनीहरुले आगामी दिनमा पनि अनेक राजनीतिक दाउपेज र खेल नखेल्लान् भन्न सकिन्न । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप