ad
x
समाज

जीवनसाथीको रोजाइमा विपनाको सपना जस्तो अन्तर्कथा

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

१२ वर्षपछि खोलो पनि फर्किन्छ भन्छन् । अधिवक्ता तथा महिला अधिकारकर्मी विपना योगीको जीवनमा पनि त्यस्तै भएको छ । श्रीमान् बितेको १२ वर्षपछि उनले हालै कविन्द्र* श्रेष्ठसँग दोस्रो घरजम गरेकी छन् । अहिले विपनालाई आफ्नो जीवन भोगाइ सपना जस्तो लागेको छ ।


३४ वर्षकी विपना १५ वर्षकी एक छोरीकी आमा हुन् । उनको पहिलो विवाह २०६३ साल असोजमा भएको थियो । विवाह भएको एक वर्षमै उनले ०६४ फागुनमा छोरी स्मारिकालाई जन्म दिइन् । शिक्षित परिवारमा विवाह भएकाले विवाहपछि पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहेकी थिइन् । श्रीमान्, घरपरिवार र सन्तान सबै कुराले उनी सम्पन्न थिइन् । तर दैवले उनको त्यो खुसी धेरै समय देख्न सकेन । उनले सोच्नै नसक्ने दुर्घटनाको सामना गर्न पर्यो । 



२०६६ सालमा प्रधानाध्यापकका लागि विवाद हुँदा उनको श्रीमान्को हत्या भयो । प्रअको विवाद राजनीतिकरण भएर उनको श्रीमान्ले जीवनबाटै हात धुनु परेको उनको आरोप छ । उनी आफू पनि सुर्खेतमा शिक्षण सेवामा थिइन् । श्रीमान्को हत्या हुँदा उनी स्नातकको तेस्रो वर्षमा अध्ययनरत थिइन् । उनी साहित्य सृजनामा पनि रुची राख्छिन् । 

भन्छिन्, ‘श्रीमान् बितेपछि मलाई पढ्न मन लागेन । तर उहाँहरुको परिवारले स्नातकोत्तर गर्नुपर्छ, पढ्नुपर्छ भनेर सम्झाउनु भयो । उहाँहरुको प्रेरणाले शिक्षा संकायमा स्नातकोत्तर सकाए ।’ उनले श्रीमान्को पक्षमा मुद्धा जित्न सकिनन् । त्यसैले कानुन विषय पनि पढ्न जाँगर चल्यो । 

सल्यानमा  जन्मिएकी विपनाले कक्षा ५ सम्म उतै पढेकी थिइन् । परिवार बसाइँ सरेपछि बर्दियाबाट एसएलसी गरिन् । प्लस टुको अध्ययन उनले नेपालगञ्जबाट पुरा गरिन् । १४ वर्षकी छोरी स्मारिका अहिले ९ कक्षामा पढ्छिन् । आफूजस्तै छोरीलाई पनि धेरै पढाउने मन छ । 

कविन्द्रसँग संजोगले भेट

कविन्द्रसँगको भेटलाई एउटा संजोग नै मान्छिन् विपना । उनीहरुको चिनजान फेसबुकमा भएको थियो । उनी आफैले कविन्द्रलाई फ्रेण्ड रिक्वेस्ट पठाएकी थिइन् । ‘साथीको काका जस्तो लागेर पठाएको उहाँ अर्कै मान्छे हुनुहुँदो रहेछ,’ विपना भन्छिन्, ‘उहाँले फेसबुकमा धेरै वैरागी टाइपको स्टाटस लेख्नुहुन्थ्यो । यस्ता स्टाटस नलेख्नु भनेर सम्झाउँथे । पीडा लेख्ने भए आफ्नै डायरीमा लेख्नु, फेसबुकमा नलेख्नु भन्थे ।’ त्यसो त विपना  अन्य साथीभाइ तथा आफन्तलाई पनि सामाजिक सञ्जालमा वैराग पोख्न हुन्न भनेर सम्झाउँथिन् । तर कविन्द्रलाई सम्झाउँदा कतिखेर माया बसेछ, पत्तै भएन ।

कविन्द्रसँग सुख दुःखका कुरा हुन थालेपनि विपनाले आफू विधवा हुँ भनेर शेयर गरिनन् । थोरै चिनजानको भरमा अन्जानलाई आफ्नो दुःख बताउन उनलाई मन लाग्दैनथ्यो । विधवालाई समाजले हेर्ने दृष्टिकोण संकुचित भएकाले आफू एकल भएको बताइनन् । 

उनीहरुको पहिलो भेट नयाँ बानेश्वरमा भयो । भलाकुशारीका क्रममा कविन्द्रको पीडा आफ्नो जस्तै भएकाले उनले आफ्नो बारेमा खुलस्त साथ सुनाइन् । विपनाले ठट्टामै कविन्द्रको लागि केटी हेर्दिने कुरा गरिन् । तर कविन्द्रले कुरालाई एक सय नब्बे डिग्री घुमाइ दिए । अरु केटी खोज्नु भन्दा हामी आफै पो विहे गर्ने हो कि भनेर उनले प्रस्ताव राखेछन् । 

आफूहरु बीच कुरा मिल्दै गएपछि सबैभन्दा पहिले छोरी स्मारिकासँग कविन्द्रको बारेमा विपनाले बताइन् । यस्तो मान्छेसँग भेट भएको छ के गर्ने भनेर सोधिन् । छोरीले ‘हजुरको मनले जे भन्छ त्यही गर्नु’ भनिन् । ‘हजुर खुसी हुनुहुन्छ भने मलाई फरक पर्दैन । मलाई उहाँको विश्वास नलागेपनि हजुरप्रति विश्वास छ । तपाईंले रोजेको मान्छे ठिकै होलान्,’ छोरीले भनिन् । 

विपनाको आमा छोरीबीच साथी जस्तै सम्बन्ध थियो । छोरीले ‘ग्रीन सिग्नल’ दिएपछि घरमा सासुलगायत परिवारमा कुरा राख्ने आँट आयो । सुर्खेतको पहिलेको श्रीमान्को घरपरिवार असाध्यै सहयोगी थिए । त्यसैले, सबैले उनको निर्णयलाई स्वीकार गरे । सायद उनीहरुलाई एकअर्काको साथ जुरेको थियो । 

.....

ललितपुर बालकुमारी स्थायी घर भएका ४६ वर्षीय कविन्द्रको कथा विपनासँग मिल्दोजुल्दो छ । व्यवसायी रहेका उनको आफ्नै खाद्य स्टोर छ । २०६० सालमा विवाह गरेका उनको ०६१ सालमा छोरी जन्मिएकी थिइन् । उनी अहिले १८ वर्षकी भइन् र ११ मा पढ्छिन् । 

२०७८ मा  कविन्द्र दम्पत्तिलाई कोभिड भएको थियो । दुवैजनालाई सञ्चो पनि भएका थियो । तर पछि फेरि श्रीमतीलाई गाह्रो हुन थाल्यो । अल्का अस्पतालको आइसियुमा ४५ दिन राखे तर सञ्चो भएन । आखिर उनी २०७८ असार ४ गते यो संसारबाट सदाका लागि विदा भइन् । उनले त्यति नै उमेर लिएर आएकी थिइन् वा उनले राम्रो उपचारको अभावमा जीवन नै गुमाउन पर्यो । 

उनी कहिलेकाहीँ श्रीमतीलाई अस्पताल लगेर गल्ती गरे जस्तो महसुस गर्छन् । अस्पतालले कोभिडको विरामीलाई जुन तरिकाले उपचार गरिरहेको थियो उनलाई चित्त बुझेको थिएन । हरेक विरामीलाई फरक–फरक औषधी दिइरहेका थिए । जबकि उनी आफू घरमै बेसार, अदुवा, लसुन, जुवानो, जिरा, तातो पानीले बाफ लिएर ५ दिनमै सञ्चो भएका थिए । 

श्रीमतीको मृत्युपछि कविन्द्रलाई सम्हालिन असाध्यै गाह्रो भयो । करिब ६ महिनासम्म आँसु थामिएन । उनी आफ्नो वेदना फेसबुकमा लेखेर मन हल्का गर्थे । उनले असाध्यै एक्लो अनुभव गर्थे । साथीहरुले ध्यान गर्न, रामदेवको प्रवचन सुन्न र योगी विकासानन्दको किताब पढ्न भन्थे । तर उनलाई कसैको सिद्धान्तप्रति लगाव वा मनै थिएन । 

आफ्नो अवस्था देखेर छोरीले कति पीर गरेकी होली भन्ने लाग्थ्यो । छोरीको पढाइ बिग्रन्छ भनेर चिन्ता लाग्थ्यो । उनी श्रीमती गुमाएर हतोत्साही भएका थिए । जीवन अन्धकार महसुस हुन्थ्यो । यो दलदलबाट कसले पो निकाल्छ भन्ने लाग्थ्यो । हो, यही बेला फेसबुकमा जोडिएकी विपना दूत झैं बनेर आइन्, आत्तिनु हुँदैन भनेर सम्झाउन थालिन् । 

विपनाकी छोरीले बुवा गुमाएकी थिइन् भने कविन्द्रको छोरीले आमा । उसको बुवा बनेर जीवन दिन पाए हुन्थ्यो भन्ने लाग्यो । अभिभावक बन्न मन लाग्यो । विपनाको छोरी देखेर उनलाई माया लाग्यो । जसलाई बुवा के हो ? बुवाको माया के हो ? भन्ने नै थाहै छैन । उसले नपाएको मायाले मैले दिए राम्रै होला भन्ने लाग्यो । आफ्नो बरवाद भएको जिन्दगी कसैको लागि काम लागोस् भन्ने लाग्यो ।

त्यसो  त श्रीमती बितेपछि उनलाई यदि विवाह गरें भने आफूजस्तै कोही श्रीमान् बितेको सँगै गर्छु भन्ने लाग्थ्यो । पुरुष जति उमेरको भएपनि वा दोस्रो र तेस्रो विवाह गरेपनि कन्या केटी खोज्छन् । त्यो उनलाई महिलाप्रतिको हिंसा लाग्थ्यो । विपनाको दुःख सुनेपछि झनै माया लागेर आयो । उनले पनि बिहे गरेर श्रीमान्सँग जम्मा तीन वर्षको समय बिताएकी थिइन् । पहिलो भेटमा नै मन बिसाउने साथी यिनै हुन् भन्ने लाग्यो । विपनालाई देखेर उनको हृदय नै शान्त भयो । 

करिब चार पाँच महिना कुराकानी गरेपछि उनीहरुले विवाह गरेर सँगै दुःख–सुख सँगै बिताउने निर्णय गरे । ज्योतिषलाई चिना देखाउँदा २९ लक्षण मिलेको छ, यो जोडी सफल हुनेछ भन्ने कुरा आयो । सबैभन्दा मुख्य कुरा उनीहरु दुःख मिल्यो र साथसाथै मन पनि । विपनासँग बिहेको निर्णय गरेपछि उनले आफ्नी छोरीलाई सोधे । उनको नाजुक अवस्था  छोरीले बुझेकी थिइन् । दुवैतर्फका छोरीहरुको जवाफ एकै थियो । अभिभावकको खुसी नै आफूहरुको खुसी भएको बताए । 

आ–आफ्नो छोरीहरूबाट स्वीकृति भएपछि विपना र कविन्द्रले विवाह गरे । अहिले चार जनाको परिवार भएको छ । नातामा सबैभन्दा नजिकको साथी श्रीमान् श्रीमती हुन् ।  रगतको नाता भएको मान्छे १३ औं पुन्यतिथिमा चोखिन्छ । छोरीहरु त अझै चारै दिनमा चोखिन्छन् । उनीहरुले केही समय पछि बिर्सन्छन् । प्रेमको नाता जोडिएको युगौ चोखिन सक्दैन । उनीहरु सधैँ मनमा रहिरहन्छन् । जीवनको एकमात्र सहारा भनेकै जीवनसाथी हो, त्यसैले विवाह गर्नैपर्छ । जीवनसाथी विनाको जिन्दगी खल्लो हुन्छ । यी दुबैको बुझाइ छ ।

छोरीहरुको मुहारमा पनि खुशीको छाल

कविन्द्रको छोरी स्वस्तिका र विपनाकी छोरी स्मारिका अहिले सहोदर दिदीबहिनीजस्तै भएका छन्, असाध्यै मिल्छन् । दुबै छोरीहरुको मुहारमा पनि खुशीको छाल उर्लिएको छ । आफ्नो बुवाको निर्णयमा स्वस्तिका धेरै खुसी छन् । आमासँगै बहिनी पनि पाएकोमा उनी दङ्ग छिन् । 

त्यसो त पहिलोपटक बुवाको कुरा सुन्दा स्वस्तिकालाई अप्ठ्यारो महसुस भएको थियो । अहिले उहाँहरुले सही निर्णय लिनुभएको रहेछ भन्ने लागेको छ । आन्टीलाई भेटेपछि र कुरा सुनेपछि उनी विश्वस्त भइन् । एकल आमा र बुवाको लागि छोराछोरीले पनि सोच्नुपर्छ । नयाँ मान्छेलाई स्वीकार गर्न गाह्रो मान्न नहुने उनको बुझाइ छ ।  

दुवै छोरीहरुले आ–आफ्नो आमाबुवाको खुसी चाहेका थिए । विवाह भएपछि विपनाकी छोरी स्मारिका आफू आमालाई बुवाको साथ छाडेर ढुक्कले विदेश जान पाउने भएकी छिन् । दुइ अधुरा जिन्दगीलाई एक बनाउने आधार छोरीहरु आमा, मामा, भाइ र बहिनीलगायत माइतीको सहयोग भएर सम्भव भएको थियो । विपनाकी सासु आमाले टीका लगाएर उनलाई बिदाइ गरेकी थिइन् । र, कविन्द्रलाई आफ्नो घरमा छोरा थपिएको भनेर आर्शिवाद दिएकी थिइन् । समाजका लागि विपना र कविन्द्र एक उदाहरणीय जोडी बनेका छन् । कविन्द्रलाई पनि विपनासँगको जिन्दगी सपनाझैं लागेको छ । 

(*यसअघि अन्यथा भएकोमा सच्याइएको छ ।-स‌ं)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।