शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका २३ पालिकाले ल्याउन सकेनन् बजेट

जनप्रतिनिधिबीच विवादले बजेटको कार्यतालिका प्रभावित
सोमबार, १३ असार २०७९, २१ : ०१
सोमबार, १३ असार २०७९

मधेस प्रदेशका अधिकांश पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट ल्याए पनि २३ वटा पालिकाले भने निर्धारित समयमा विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेनन् । मधेस प्रदेशका ११३ पालिकाले शुक्रबार नै बजेट ल्याइसकेका छन् । अन्यले भने दलीय विवाद, प्रमुख कार्यकारी अधिकृत नहुनु र योजना छनोटमा ढिलाइ भएका कारण समयमै नगर तथा गाउँसभा गर्न नसक्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएका छन् ।

सप्तरीका १८ वटा स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले मात्रै नगर तथा गाउँसभा सम्पन्न गरेका छन् । आर्थिक वर्ष ०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ १३ वटा स्थानीय तहले गाउँ तथा नगर सभा सम्पन्न गरेका हुन् ।

नगर तथा गाउँसभा गर्न नसकेका पाँच स्थानीय तहले भने गाउँ÷नगर सभाको मितिसमेत तय गर्न सकिरहेका छैनन् । सप्तरीमा सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न सकेका छैनन् ।

गाउँ तथा नगरसभाको तयारी नपुगेका कारण निर्धारित समयमै गर्न नसकेको जनप्रतिनिधिहरूले बताएका छन् । तर कहिले सभा गर्ने भन्नेबारे अन्योल नै छ । २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ वटा गाउँपालिका रहेको बाराका केही पालिकाले गाउँ तथा नगरसभा गर्न सकेका छैनन् ।

योजना छनोट, निर्णय र सम्बन्धित स्थानीय तहको नीति तथा कार्यक्रम ल्याएर गाउँ र नगरसभा गर्नुपर्ने हुन्छ । तर दलगत जनप्रतिनिधिहरूबीच योजना छनोट र बजेट बाँडफाँटको विषयलाई लिएर विवाद हुने गरेकाले कतिपय पालिकाले बजेट ल्याउन नसकेका हुन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका, पचरौता र निजगढ नगरपालिकाले नगरसभा स्थगित गर्नु परेको थियो । त्यस्तै महागढीमाई नगरपालिकामा वडाध्यक्षले नीति तथा कार्यक्रम नै च्यातेपछि विवाद उत्पन्न भएको हो ।

१६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा भने १२ वटा पालिकाले शुक्रबार नगर तथा गाउँ सभा सम्पन्न गरेका छन् । रौतहटका ३ वटा पालिकाले असार १० गतेभन्दा पहिले नै सभा सम्पन्न गरिसकेका छन् भने ३ वटा पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सकेनन् । जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण रौतहटका फतुवा विजयपुर, गुजरा र दुर्गा भगवती गाउँपालिकाले सभा नै गर्न सकेनन् ।

आन्तरिक सहमति तथा तयारी पूरा हुन नसकेको भन्दै नगरसभा हुन नसकेको दुुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिए । त्यस्तै महोत्तरीको अधिकांश पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट ल्याएका छन् । तर भंगहा नगरपालिका, सोनमा गाउँपालिकाले नगर तथा गाउँसभा गर्न सकेनन् ।

कार्यपालिकामा नगरसभा सम्बन्धी निर्णय हुन नसकेकाले नगरसभा गर्न नसकिएको भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले बताए । उनले दलीय विवादका कारण कार्यपालिकामा नगरसभा सम्बन्धी निर्णय गर्न नसकेको बताए ।

भंगहा नगरपालिकामा २० सदस्यीय कार्यपालिका समिति मध्ये ४ जना लोसपा, ६ जना माओवादी केन्द्र र ९ जना नेपाली काँग्रेसका जनप्रतिनिधिको प्रतिनिधित्व छ । भंगहा नगरका मेयर लोसपाका हुन् । मेयरले आफू अल्पमतमा पर्ने देखेपछि कसैसँग सरसल्लाह नै नगरी अघि बढ्न खोज्दा निर्धारित समयमा नगरसभा हुन नसकेको काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको भनाइ छ ।

त्यस्तै धनुषाका अधिकांश पालिकाले नीति तथा कार्यक्रम ल्याइसकेका छन् भने केही पालिकाको बजेट सार्वजनिक हुन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप