शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : नयाँ मन्त्रीले लिए शपथ, समाजवादबारे बहस- कसले के भने ?

काठमाडौंमा हैजा : जारको पानी कति सुरक्षित ?
सोमबार, १३ असार २०७९, २१ : २४
सोमबार, १३ असार २०७९

आज २०७९ असार १३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा नयाँ मन्त्रीले लिए शपथ, गरे जोसिला कुरा, समाजवादबारे बहस- कसले के भने ?, कार्यकर्तालाई माधवकुमार नेपालको ढाडस : २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत, लिफ्ट मागेर कारमा लुटपाट, एसपीपीमा आवद्ध नहुने निर्णय अमेरिकालाई पठाइएको गृहमन्त्रीको स्पष्टोक्ति, काठमाडौंमा हैजा : जारको पानी कति सुरक्षित ?, आईजीपी नियुक्ति विरुद्धको रिट निवेदन ‘हेर्दाहेर्दै’मा लगायत छन् ।

१. नयाँ मन्त्रीले लिए शपथ, गरे जोसिला कुरा
नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु हेरफेर गरिएको हो । आइतबार नियुक्त भएका मन्त्रीहरुले सोमबार शपथ लिएर पदबहाली गरेका छन् । पद बहालीका क्रममा उनीहरुले निकै जोसिलो हुँदै विभिन्न प्रतिवद्धता जनाएका छन् । 

२. समाजवादबारे बहस : कसले के भने ?
राजनीतिक दलका नेताहरुले समाजवादबारे बहस गरेका छन् । नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित कार्यक्रममा विभिन्न दलका नेताहरुले समाजवादका बारेमा आफ्नो धारणा राखेका हुन् । 

३. कार्यकर्तालाई माधवकुमार नेपालको ढाडस : २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई ढाडस दिँदै स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत ल्याएको दाबी गरेका छन् । सोमबार पार्टीको केन्द्रीय परिषद बैठकलाई सम्बोधन गर्दै उनले शत प्रतिशत क्षेत्रमा उम्मेदवार उठाएको भए २० लाख मत ल्याउने दाबी गरे । 

४. लिफ्ट मागेर कारमा लुटपाट
कैलालीमा सरकारी कर्मचारीलाई कुटपिट गरी नगदसहित कार लुटेर फरार भएका लुटेरालाई प्रहरीले केही घण्टामै पक्राउ गरेको छ । सोमबार बिहान कञ्चनपुरबाट कैलालीको खानी डाँडासम्म जाने भन्दै उनीहरुले डडेल्धुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार रोकेर लिफ्ट मागेका थिए ।

५. एसपीपीमा आवद्ध नहुने निर्णय अमेरिकालाई पठाइएको गृहमन्त्रीको स्पष्टोक्ति
गृहमन्त्री बालकृष्ण खाणले एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाइसकेको जनाएका छन् । राष्ट्रियसभाको बैठकमा उनले जनाएअनुसार मन्त्रिपरिषदले एसपीपीमा सहभागी नहुने सन्दर्भमा गरेको निर्णय अमेरिकी सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पठाइएको हो ।

६. काठमाडौंमा हैजा : जारको पानी कति सुरक्षित ?
काठमाडौं उपत्यकामा हैजाका १२ बिरामी फेला परेका छन् । दूषित पानीका कारण हैजा फैलिएको विज्ञहरुको भनाइ छ । तर, काठमाडौंमा अत्यधिक प्रचलनमा आएको जारको पानी प्रयोग गर्नु पनि जोखिमपूर्ण रहेको विज्ञहरुको भनाइ छ । केही सीमित कम्पनी बाहेक अधिकांश कम्पनीका जारको पानी पिउन योग्य नरहेको सरोकारवालाको भनाइ छ ।

७. आईजीपी नियुक्ति विरुद्धको रिट निवेदन ‘हेर्दाहेर्दै’मा
आईजीपी नियुक्तिविरुद्ध दायर रिट निवेदन सोमबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिट निवेदन असार १९ गते सुनुवाइ हुने गरी ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

८. नेप्सेमा २३ अंकको गिरावट
नेप्सेमा २३ अंकको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंकले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार २३ अंकको गिरावट आएको हो ।  

९. घुस काण्डमा मुछिएका न्यायाधीश निलम्बित
घुस काण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्याय परिषदले सो घटनाबारे छानबिन गर्न समिति बनाएको विवरण राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । 

१०. र यो पनि,
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको  बिदाइ गरेको छ । 

दाङको सीमासँग जोडिएको भारतको मनिकापुरमा हाटबजार हिँडेका नेपाली चेलीको भारतमा बलात्कृत भएका छन् । दाङ राजपुर गाउँपालिका–६ कैरवानाका चेलीहरू बलात्कारसँगै लुटपाटमा परेका हुन् ।

 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप