ad
x
रोहित र शोभा विजुक्छेको कथा— ३

जेलबाट शोभालाई रोहितको चिठी

person explore access_timeअसार १४, २०७९ chat_bubble_outline0

रोहितले बिहे गरेपछि उनको पहिलो कर्तव्य आफ्नी पत्नीका मनमा लागेको कुहिरो हटाउनु थियो । तर उनले त्यो मौका कहिले पनि पाएनन् । बिहे गरेपछिका वर्षहरूमा कैदी जीवन भोग्नुपर्दा रोहितले जेलबाट स्पष्टीकरण खामेर आफ्नी पत्नीलाई चिठी लेखेका थिए—


प्रिय शोभा !



तिमीले बरोबर मसँग एउटा व्यक्तिगत प्रश्न सोध्ने गरेकी थियौ । तर मेरो फुर्सतै नभएर वा समयको चाँजोपाँजो नमिलेर तिमीलाई भन्ने मौका पाएको थिइनँ । बिहान ७—८ बजे म उठ्दा तिमी घरको काममा नै व्यस्त हुने गर्थ्यौ । चिया खाने बेलामा मानिसहरू भेटघाट गर्न आइपुग्थे अथवा म बाहिरै अरूसँग चिया खान जाने गर्थेँ । म १२—१ बजे घर फर्कँदा तिमी स्कुल गइसकेकी हुन्थ्यौ र ४—५ बजे तिमी घर फर्कँदा म काठमाडौँ, पाटन, काभ्रे वा अन्यत्र गइसकेको पाउँथ्यौ । तिमी पुनः ६ बजेदेखि घरको काममा लागिहाल्थ्यौ, म फर्कँदा रातको ८—१० बज्थ्यो, म घरमै रहे पनि रेडियो सुन्न र पत्रपत्रिका हेर्न व्यस्त हुन्थेँ । चुलो चौकाको काम सिध्याएर तिमी कोठामा झर्दा म बाहिर गइसकेको हुन्थेँ । म १२—१ बजे राति फर्कन्थेँ र फेरि लेखपढमा लाग्थेँ । २ बजेतिर सुत्ने तरखरमा लाग्थेँ । बिहान तिमी उठ्ता म मस्त निद्रामा हुन्थेँ । शनिबार त झन् फुर्सतै हुदैनथ्यो, बिहानैदेखि विभिन्न जिल्लाका साथीहरू आइपुग्थे र तिमी लुगा धुने काममा व्यस्त भइहाल्थ्यौ । दशैँ र तिहारमा तिमी माइती जान्थ्यौ र घरमा पूजापाठको अलमल र मेरो बाहिरी कामले २—४ घण्टा बसेर कुराकानी गर्ने फुर्सत पनि पाउन सक्तिनथेँ ।

साच्चै भन्ने हो भने बितेका तीस वर्षको अवधिमा बिरामी हुँदा र जेलको बसाइलाई नै मैले आरामको समय भन्नुपर्छ । मैले किन ढिलो विवाह गर्नुपर्यो र के तिमी मेरी कान्छी हौ कि भन्ने प्रश्न र भ्रम तिम्रो मनमा यथावत् रह्यो । हुन त म जनमत सङ्ग्रहमा नेपाल फर्कँदा काकी र ठूली आमाहरूले ‘केटाकेटी किन ल्याएनौ’, ‘त्यसै छोराछोरी र स्वास्नी छोड्दा पाप लाग्छ बाबु’ भन्ने गरेबाट मलाई थाहा भइसकेको थियो— मेरो व्यक्तिगत जीवनबारे विरोधीहरूले झूटा कुराहरू प्रचार गरेका रहेछन् र भ्रम फैलाइसकेका छन् । त्यस कार्यमा भारतका गुप्तचर विभागका मानिसहरू र भारतमै बस्ने नेपालका विरोधी राजनैतिक मानिसहरू पनि संलग्न थिए ।

उत्तर प्रदेश र विहारमा महिलाहरू लिएर सिनेमा हेर्न जानु, कतै घुम्न जानु लोग्ने मानिसहरूलाई खतरा र अप्ठेरो हुन्छ । लोफर केटाहरूले व्यङ्ग्य गर्ने, गीत गाउँने जस्ता दुर्व्यवहारले गर्दा महिलाहरूको स्वतन्त्रतामा अर्को बन्देज लगाएको मान्नुपर्छ । एक दिन मसँग नजिक २—४ परिवारका केटीहरू आएर भने— ‘काका, हामीलाई आज दरबार (दरभङ्गा राजाको दरबार) हेर्न लगिदिनुस् न !’ भाउजू (एक भारतीय इन्जिनियरकी जहान) र दिदीहरू पनि आउनुहुन्छ । म बरोबर दरबारमा डुल्न जान्थेँ र त्यो दरबार विश्वविद्यालयलाई दिएको हुँदा त्यहाँ काम गर्ने केही कर्मचारी र प्राध्यापकहरूसँग पनि मेरो व्यक्तिगत परिचय थियो । म फेरि दिनहुजसो राजाको पुस्तकालयमा जान्थेँ । एक दिन एक जना नेपाली साथीसँग ५—७ जना केटीहरू साथ लिई म दरबारतिर गइरहेको थिएँ । इन्जिनियरकी सानी छोरीले बाटामा बगेको पानी नाघ्न नसकेकाले मैले दुवै हातले बच्चीलाई उठाएको थिएँ । बस् के थियो ! त्यस बेला दुइटा रिक्सा त्यसै बाटोबाट गुडे, मैले टाउको उठाउँदा दुइटै रिक्सामा भक्तपुरका मलाई चिन्ने २—२ जना मानिसहरू हाँस्दै गइरहेको देखेँ । त्यसै बेलादेखि केही गलत समझदारी बनेको हुन सक्छ भन्ने लख काटेर सँगैको साथीलाई मैले भनेँ पनि । २—३ जना अन्जान महिला र केटाकेटीहरूलाई हातले डोर्याएर हिँड्नु स्वाभाविक रूपले विवाह गरेको र केटाकेटी भइसकेको अनुमान गर्ने आधार हुन सक्थ्यो । तर हामी आफ्नो धर्ममा कति दृढ छौँ र अरू परिवारसँग कस्तो सम्बन्ध छ भन्नेबारे बाटामा हिँड्ने साधारण मानिसहरूले कसरी सोच्न सक्नु ? कहिलेकाहीँ भाउजू र भतिजीहरूलाई अस्पतालमा लगिरहेको बेला पनि त्यस्ता हल्लाहरूले थप पुष्टि पाउने गरेका होलान् । त्यहाँ बस्दा बस्दा केही राम्रा डाक्टरहरूसँग मेरो मित्रता बढेको थियो र देशका विभिन्न जिल्लाबाट समेत रोगी कार्यकर्ताहरू आउँथे । कार्यकर्ताहरूमा केही महिलाहरू पनि हुन्थे । बस्, यस्तै यस्ता कारणहरूले गर्दा मानिसहरूले सतहमै गएर सोचेका होलान् र एउटै गलत टुङ्गोमा पुगेका होलान् । म साधारण मानिसहरूभन्दा भिन्नै प्रकारको धातुले बनेको हुँ भन्ने कुरा टाढाबाट हेर्नेहरूलाई के थाहा ? म सामान्यभन्दा अलि फरक छु जस्तो लाग्छ । यसकारण सबैलाई एउटै आँखाले हेर्नु हुन्न । सबै मानिसलाई कम समय र टाढाबाट हेरेर ठीकठीक मूल्याङ्कन गर्न सकिन्न ।

 

 

हो, त २०१२—१३ सालमा १५—१६ वर्षकै उमेरमा मेरो विवाह हुने कुरा चलेको थियो । त्यस बेला विवाह गर्ने सामान्य उमेर त्यही थियो । काकाले बी.ए. उत्तीर्ण नभई वा एउटा पेसा नलिएसम्म विवाह गरिदिनु हुन्न भन्ने कुरामा अड्डी लिनुभयो र मैले त्यस चङ्गुलबाट उम्कने मौका पाँए ।

बुवाका अनेक अराजनैतिक दबाबका कारण २०२०—२२ सालमै म घरबाट निस्केँ । हरेक दिन र हरेक हप्ता भने झैँ मेरो खाने र सुत्ने ठाउँ फेरिइरहन्थ्यो । जीवनमा सबभन्दा सक्रिय म त्यसै बेला थिएँ । म बिहान जुत्ता लगाएर बाहिर निस्केपछि राती ९—१० बजे मात्रै जुत्ता फुकाल्थें । दुःख, डर र थकाइ भन्ने ममा कहिल्यै अनुभव भएन । नयाँनयाँ पुस्तक र पत्रपत्रिकाहरू अध्ययन गर्नु, मास्को, पेकिङ्ग, बिबिसि, आकाशवाणी आदि रेडियोका समाचार र टिप्पणीहरू सुन्नु नै मेरो जीवन बन्यो । कहिले राति २—३ बजे, कहिले बिहान ५—६ बजेसम्म पढ्थेँ, लेख्थेँ र पछि सुत्थेँ । घरको नियन्त्रण ममा रहेन, म सारा जनताको भएँ र सारा जनता मेरा भए । त्यो जीवन सधै आँधीबेहरीपूर्ण थियो । प्रहरी र प्रशासनको निम्ति म एक नसुल्झिएको विषय बनेँ । बुद्धिजीवीहरूका निम्ति एक अध्ययनको विषय र जनताका निम्ति एक आदर्श बनेँ । पुनः हल्ला फैलियो— ‘अब ज्यापुनी विवाह गर्ने भयो, ताम्राकारहरूको हातबाट भात खायो, अब त्यही जातकी केटी ल्याउने भयो आदि आदि ।’

उद्देश्य धेरै उँचो र टाढा थियो; समाजको भनाइबाट केटीहरूलाई ट्युसन पढाउन छोडेँ । त्यस बेला म सरस्वती विद्यागृहमा अङ्ग्रेजी, भूगोल र नागरिक शास्त्र पढाउँथे । बिहान जनताको सेवा, दिउँसो स्कुल र ट्युसनबाट हातमुख जोर्ने, राति अध्ययन र भेटघाट नै मेरो जीवन बन्यो । नुनतेल, मोहियानी, भर्पाई, कुत, तिरोतिरान, किल्लाको झगडा, नक्सापास, बिरामी र लेनदेन लगायतका जनताका समस्याहरूलाई नजिकबाट हेर्ने मौका पाएँ । बिहान मेरो समय त्यसैमा बित्थ्यो । स्कुल र नगरपञ्चायतमा समेत सम्बन्धित व्यक्तिहरू सिफारिस लिन आउँथे र गुनासाहरू पनि व्यक्त गर्थे । क्रमश: भोलिको ‘रातोपाटी’ हेर्नुहोला ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।